‘प्रधानमन्त्री पदको गरिमा राख्न ओली असफल’
  • काँचुली खबर

नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएको नागरिक आन्दोलनमाथि सरकारले गरेको दमनको भर्त्सना गरेको छ । मंगलबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उक्त दमनको निन्दा र भर्त्सना गरेको छ ।

असंवैधानिक कदम विरुद्धका प्रदर्शनहरु संविधानले प्रदान गरेको अधिकार भएको भन्दै शान्तिपूर्ण ढंगले गरिएको प्रदर्शनमा लाठी चार्ज, अश्रुग्याँस तथा पानीको फोहरा प्रहारको घटना निन्दानीय भएको बैठकको ठहर छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सार्वजनिक रुपमा व्यक्त गरेका अभिव्यक्तिहरुप्रति यो बैठकको ध्यानाकर्षण भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् भन्ने ओलीको अभिव्यक्ति अत्यन्तै अनुचित र अलोकतान्त्रिक भएको उनले बताए ।

सर्वोच्च अदालतमा जारी बहसलाई तमासाको संज्ञा, वरिष्ठ अधिवक्ताको अपमान, आलोचक पत्रकारहरुप्रति अशोभनीय टिप्पणी अनि आफूसँग अहसमत सबैथरीमाथि तिक्त टिप्पणीले प्रधानमन्त्री पदको गरिमा राख्न ओली असफल भएको बैठकको निष्कर्ष छ ।

यसैबिच प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक सं‌स्थाले र फागुन ३ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

फागुन ३ गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

  • १३ माघ २०७७, मंगलवार १९:२२ प्रकाशित
  • Nabintech