बाँके बैजनाथ गाउँपालिक-१ च्याँमाका स्थानीयहरुलाई वन्यजन्तुबाट हुने हानी-नोक्सानीबाट सुरक्षीत राख्न सो बस्तीको वरपर तारजाली लगाइएको छ । बस्ती वरपर तारजाली गरेपछि च्याँमा निवासी लटुराम थारु आफ्नोे तीन विगाह जमिनमा लगाएको अन्नवाली वर्षेनी जंगली जनावरले क्षती पुर्याउँदै आएकोमा यो वर्ष अन्नवाली अलि सुरक्षित हुनेमा उनी आशावादी छन् ।
बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रसँग जोडिएको माघी थारुले घरमा पालेकाे २ वटा बंगुरको बच्चा चितुवाले खाइदियो । २ वर्ष अगाडी जंगली हात्तीले स्थानीय गणेश दहितको अन्नवालीमा ठुलो नोक्सानी ग¥यो । लटुरामकै २ वटा बाख्रा र ६ वटा भेडा समेत चितुवाले आक्रमण गरेर आफ्नो आहारा बनायो ।
बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा वसोवास गर्ने ८६ घरधुरीको प्रमुख समस्या सो बस्ती वन्यजन्तुबाट असुरक्षीत हुनु नै भएको छ । अबका वर्षहरुमा मानव र बन्यजन्तुबीचको सो समस्या न्यूनिकरण हुनेमा स्थानीय लटुराम थारु मात्र नभई पुरै च्याँमावासी आशावादी छन् ।
अहिले बाँके राष्ट्रिय निकुञ्जको आर्थिक सहयोग र स्थानीयहरुको श्रमदानमा १८ सय मिटर तारजाली लगाउने कार्य अन्तिम चरणमा पुगेको छ । तारजाली पछि बन्यजन्तुहरु गाउँ बस्नबाट रोक्ने प्रभावकारी कदम हुनसक्ने देउराली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष कृष्ण चौधरी बताउँछन् ।
उनी भन्छन, “बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको सीमा अन्तरगत पर्ने च्याँमा गाउँ बाँके राष्ट्रिय निकुञ्ज घोषणा हुनुपूर्व बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने बन्यजन्तुबाट ठुलो नोक्सानी व्यहोर्दै आइरहेका छौ ।” ८६ घरधुरी रहेको गाउँमा करिब १ सय २० विगाह जमिनमा अन्नवालीका लागि खेतीयोग्य जमिन छ ।
हरेक वर्ष २० प्रतिशत बढि अन्नवाली त बन्यजन्तुहरुले नोक्सानी गर्दै आइरहेको अवस्था छ । विशेष गरी च्याँमावासीहरुलाई जंगली बदेल, चित्तल र चितुवाले पशु चौपाया तथा अन्नवालीमा वर्षेनी क्षती पु¥याइरहेका छन् ।
मकैवालीमा बदेल आतंक र मसुरो लगायत वर्षेवालीमा चित्तलले आतंक मच्चाउने गरेको देउराली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष चौधरी बताउँछन् ।
तारजाली निर्माण गर्नुभन्दा पहिले गाउँमा समूह बनाएर रातभर खेतवारीमा गस्ती गरेरै वन्यजन्तुको आतंक कम गर्न बाध्य थियौं, गाउँसँग जोडिएको मध्यवर्ती क्षेत्रमा तारजाली निर्माण पछि बदेल र चित्तल गाउँ पस्नबाट रोकिने स्थानीयहरुको भनाई छ ।
बाँके राष्ट्रिय निकुञ्जको १९ लाख बजेट भित्र १० प्रतिशत जनश्रमदानबाट हालसम्म १४ सय मिटर तारजाली निर्माण सम्पन्न भइसकेको छ । च्याँमा क्षेत्रमा मकै, गहुँ, धान, मसुरो र तरकारी उत्पादन हुने गर्दछ । तर बन्यजन्तुको नोक्सानीबाट हरेक वर्ष अपेक्षा गरेअनुसारको अन्नवाली उत्पादन हुन नसकिरहेको स्थानीय गणेश दहित बताउँछन् ।
४ असार २०७५, सोमबार ०८:३६ प्रकाशित