शिक्षा मनोवैज्ञानिकहरुका अनुसार ‘व्यक्तिले अनुभवका आधारमा प्रतिक्रिया व्यक्त गर्न थाल्दछ र क्रमशः व्यवहारमा परिवर्तन ल्याउँदछ । यसरी व्यवहारमा आउने परिवर्तन नै सिकाई हो ।’ साथै ‘सिकाइ एउटा अनुभुति योग्य विषय हो, जसको सहयोगबिना मानिसले आफ्नो सम्पूर्ण जीवनलाई सभ्य बनाउन सक्दैन् । त्यसकारण धेरै भन्दा धरै मानिसले आफ्नो जीवनको अधिकांश समय सिक्नका लागि लगाएका हुन्छन् ।’
शिक्षा विद एच.एम. विइसका अनुसार ‘सिकाइ कुनै पनि स्थायी व्यवहार परिवर्तन हो जो अनुभवको परिणाम स्वरुप देखा परेको हुन्छ ।’
मानिसको जीवन कालमा विभिन्न प्रकारका सिकाइ जारी रहेका हुन्छन् । मानवशास्त्रीहरुले मानव विकासलाई दुई चरणमा विभाजन गरेका छन । एउटा वृद्धि र अर्को विकास । मानव वृद्धि निश्चित समयसम्म हुन्छ भने मानव विकास जीवनभर चलिरहन्छ । सिकाइले व्यक्तिको विकासँग प्रत्यक्ष सम्बन्ध राखेको हुन्छ । मानिसले जीवनमा के कति काम ग-यो त्यसको उचित मूल्याङ्कन त गर्न सकिँदैन तर केही कामको लेखाजोखा गर्न सकिन्छ । यहाँ मैले व्यक्तिको लेखाजोखा नभएर एक जना व्यक्तिले गरेका कामको केहि मात्रामा लेखाजोखा गर्ने प्रयत्न गरिरहेको छु । ती हुन कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावत ।
२००४ साल असार १ गते सल्यान जिल्लाको तत्कालिन कालिमाटि काल्चे गाविस वडा नं. ५ मा जन्मिएका लुट बहादुर रावतले ५ कक्षासम्मको पढाई भारतमा पुरा गरे । नेपाल फेर्केपछि कक्षा ८ सम्मको पढाइ सुर्खेतमा पुरा गरे । २०२१ देखि ०२२ सम्म सल्यान जिल्लामा शिक्षकको तालिम प्राप्त गरी २०२२ सालदेखि नै सल्यानको कालिमाटिकै नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा प्रध्यानाध्यापकका रुपमा काम गरे । २०२५ सालमा थप पढाइका लागि बाँके आईपुगेका रावतले २०२५ देखि ०२९ सालसम्म पढाइसँगै बाँकेको भूमिसुधार कार्यालयको बचत सहायक निरीक्षकका रुपमा काम गरे । २०२६ सालमा एसएलसी पास गरेका रावतले २०३० सालमा कोहलपुरको पीपीरीमा रहेको सरस्वती प्राथमिक विद्यालयमा शिक्षकका रुपमा काम गर्न सुरु गरे । लगत्तै २०३७ सालमा उनको कोहलपुरस्थित त्रिभुवन निम्नमाध्यामिक विद्यालयमा सरुवा भयो ।
त्रिभुवन निमाविका रावत, हरिभक्त अधिकारी लगायतका शिक्षकहरुले गाउँगाउँमा पुगेर चन्दा संकलन गरी त्रिभुवन मावि बनाउने अभियान संचानल गरे । त्रिभुवन मावि बनाउँदाको दिन उनि यसरी सम्झन्छन, ‘कोहलपुर, ढकेरी र शम्शेरगञ्जका गाउँगाउँमा पुगेर म, हरिभक्त अधिकारी लगायतका शिक्षकहरुले १० देखि २० रुपैयाँ संकलन गर्ने अभियान चलाएका थियौं ।’
आफ्ना दाई हरिप्रसाद रावत सल्यान जिल्ला पञ्चायतमा हुँदा तत्कालिन शिक्षा मन्त्री मरिचमान श्रेष्ठसँग सम्पर्क गरी स्वीकृति बिना २०३७ सालमा त्रिभुवन माविको उद्घाटन भएको र पछि रावत लगायतका अन्य शिक्षकहरुले मावि तहको अनुमति ल्याएको रावत बताउँछन । २०३७ सालदेखि २०४७ सालसम्म त्रिभुवन माविको शिक्षकका रुपमा कार्यरत रहेका रावत प्रजातन्त्रको पुर्नस्थापनाका लागि गरिएको जनआन्दोलनमा २०४६ साल माघ २९ गते गिरफ्तार परे । २ महिने हिरासतको बसाई पछि पुन रिहा भएका रावत २०४७ सालमै शिक्षकमा पुर्नबहालि भए । रावतले २०४८ सालमा शिक्षकबाट राजीनामा दिए । २०४९ सालमा भएको स्थानिय निकाय (गाउँविकास समिति) को निर्वाचनमा तत्कालिन कोहलपुर गाविसको अध्यक्षमा नेपाली काँग्रेसका ईश्वरी प्रसाद पौडेललाई पराजित गर्दै रावत निर्वाचित भए । २०५४ सालको स्थानीय निकाय (गाविस) को निर्वाचनमा नेपाली काँग्रेसकै राजेन्द्र श्रेष्ठलाई पराजित गरी उनी पुन: गाविस अध्यक्षमा निर्वाचित भए ।
कोहलपुर गाविसको पहिलो कार्यकालमा केहि सामान्य काम गरे । रावतका अनुसार २०५१ सालभन्दा अगाडि नेपाल सरकारले कुनै पनि बजेट उपलब्ध नगराएको अवस्थामा गाविसको वार्षिक बजेट १० हजार देखि १५ हजारसम्म मात्र हुने गरेको थियो । २०५१ सालमा तत्कालिन एमालेको सरकार बनेपछि ३ लाख बजेट कोहलपुर गाविसले प्राप्त गरेको थियो । सोही बजेटले भरैया जाने पुल, मसुरीखेत जाने पुल लगायत अन्य सामान्य गोरेटो बाटाहरु निर्माण गरिएको उनी बताउँछन् । केन्द्रिय सरकारले २०५३ देखि कोहलपुर गाविसलाई ५ लाख बजेट दियो । सोही बजेटले लखनवादेखि रजगरुवा जाने पुल, झण्डवा जाने पुल, पीपिरीबाट झण्डवा जाने पुल, चप्परगौडिबाट निमुवा हुँदै खड्कवार जाने बाटो निर्माण गरेको उनी सम्झीन्छन् । कोहलपुर गाविसले निर्माण गरेको भित्री सडकका रुपमा चप्परगौडिबाट निमुवा हुँदै खड्कवार जाने बाटो पहिलो भएको रावत बताउँछन् । यसका साथै शिक्षाका लागि हालको बागेश्वरी बहुमुखी क्याम्पसको विकासका केही कार्यहरु भए । यसै गरी रावतले कोहलपुर गाविसका रुपमा दोस्रो कार्यकालमा कोहलपुरका केही आधारभूत विकासका लागि जग बसाले ।
कोहलपुरमा पढ्नका लागि विद्यालयहरु कमै मात्रामा थिए । हालको बागेश्वरी क्याम्पस कोहलपुरमा ल्याउनका लागि रावतले नै अग्र्रभागमा रहेर काम गरे । २०४८ सालमा नेपालगञ्जको सरस्वती माविमा संचालनमा रहेको वागेश्वरी क्याम्पसलाई २०४९ सालमा रावतको पहलमा कोहलपुर स्थित त्रिभुवन माविमा ल्याईयो । तत्कालिन जिविस सभापति ओमजंग राणाले वागेश्वरी क्याम्पसलाई कोहलपुर ल्याउनका लागि महत्वपूर्ण सहयोग गरेको रावत सम्झन्छन् । गाविसका अध्यक्ष भएका कारण सो क्याम्पसको अध्यक्ष पनि आफुु नै बनेकाले क्याम्पस संचालनका लागि मालपोत कार्यालय बाँकेमा कोहलपुरबासीले तिर्ने रजिष्ट्रेशन पास कर १ प्रतिशत क्याम्पसलाई नै दिने व्यवस्था गरेपछि क्याम्पस संचालनमा सहज भएको उनी बताउँछन् । त्यसै गरी क्याम्पस संचालनका लागि सहयोग गर्न नौवस्ता, बनकटुवा, शम्शेगरञ्ज गाविसको मालपोत कर पनि क्याम्पस संचालनका लागि नै दिने समहमति गराईएको थियो ।
रावतकै पालामा कोहलपुरमा शिक्षासँगै स्वास्थ्यको विकास भयो । हाल प्रदेश नं. ५, कर्णाली र सुदुरपश्चिमको एक मात्र सुविधा सम्पन्न अस्पताल नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याउनका लागि रावतको संयोजकत्वमा एक वर्ष संघर्ष गर्नु परेको थियो । कोहलपुरको १३ विगाह जमिनलाई ४९ वर्षमा भाडामा लिएर अस्पताल संचालनको तयारी गरिएको थियो । लडबुद्ध एजुकेशनल एकेडेमी चिसापानी र मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्थापना गर्ने गरी सरकारबाट स्वीकृत ल्याएपनि मेडिकल संचालकले नेपालगञ्जको चौलिकाबाबाको पूर्वतिर बालेगाउँमा २१ बिगाह जमिनमा मेडिकल कलेज बनाउने भनि जग्गा खरिद गरेको थाहा पाएपछि रावतकै संयोजकत्वमा कोहलपुरमै बन्नुपर्ने भन्दै १ वर्ष संघर्ष गरे । नेपाली काँग्रेसका नेता ज्ञानेन्द्र गिरी सचिव र रावत संयोजक भएर धर्ना दिने, ताला लगाउने लगायतका विरोधका कार्यक्रम गरेपछि कोहलपुरमै अस्पताल बनाउनेमा सहमत भएको उनले बताए । अस्पताल बनाउँदा उनी सम्झन्छन् “कोहलपुर बनाउनेमा त सहमत भए र लालपूर्जा भएको जग्गा हुनुपर्ने माग राखे । त्यसपछि कोहलपुर नगरविकास समितिको नामको रहेको दशबिगाहमै जग्गा उपलब्ध गराउने व्यवस्था गाविस अध्यक्ष भएका नाताले मैले नै व्यवस्था गरे । मेरै नेतृत्वमा कोहलपुर नगरविकास समितिले उपसमिति बनाई १८ पन्ने प्रतिवेदन बनाई हाल निर्माण भईरहेको ठाउँमै अस्पताल बनाउनु पर्ने सुझाव दिईयो र पछि त्यहि बन्यो । अब जग्गा कतिमा दिने भन्ने विषयमा वृहत छलफल भयो । एक कठ्ठाको ७० हजारमा कुरा उठ्यो तर पछि छलफल गर्दा प्रति कठ्ठा ३६ हजार दिने सहमति भए पश्चात ९ बिगाह १२ कठ्ठा सो अस्पताललाई दिई आज त्यो अस्तालका रुपमा रहेको छ ।”
आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष पहलमा कोहलपुरमा दुरसंचार, विद्युत कार्यालय, नेपाल टेलिभिजन, शितभण्डार, कोहलपुर खानेपानी, बासपार्क, ईलाका प्रहरी कार्यालय, टाफिक कार्यालय, राजश्व अनुसन्धान, वन कार्यालय, कृषि कार्यालय, साँझा सहकारी, दुग्ध विकास कार्यालय, सामुदायिक वनको संरक्षण लगायतका अन्य थुप्रै आयोजनाहरु कोहलपुरमा स्थापना भएको उनले बताए । कोहलपुर सामान्य चियापसलका रुपमा चिनिएको बजार आज देशकै एक नमूना शहरका रुपमा विकास भएको भन्दै उद्योग, व्यापार, व्यावसाय संचालनका लागि नीतिगत र व्यवहारिक रुपमा उनको भूमिका रहेको पाइन्छ ।
नेपालको संविधान २०७२ जारी भएपछि नेपालमा २०७४ सालमा भएको निर्वाचनमा कोहलपुर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भए । दुई पटक कोहलपुर गाविस र एक पटक कोहलपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका रावतले कोहलपुरलाई नेपालको आधुनिक शहरका रुपमा विकास लागि केहि महत्वपूर्ण आधार स्तम्भ तयार गरिरहेका छन् । विशेष गरी कोहलपुर नगरपालिकामा रावतकै नेतृत्वमा १५ वटै वडाहरुका कालोपत्र सहितको सडक निर्माणको कार्य चलिरहेको छ, सबै वडा कार्यालयले आफ्नै भवन बनाउँदैछन्, करिब ४५ करोडकमा आधुनिक बसपार्क बन्दैछ, अत्याधुनिक बधशाला बन्दैछ, भ्यूटावर निर्माण हुँदैछ, कबड हल निर्माणाधिन अवस्थामा छ, रिङ्ग रोड बन्दै गरेको अवस्था छ । यसका साथै कोहलपुर नगरपालिकाले आधारभूत तहसम्म निशूल्क शिक्षा, दरबन्दी मिलान, सामुदायिक माविका प्रत्यक विद्यालयले प्राविधिक धारको विषय अध्यापन गरानुपर्ने अभियान जारी रहेको, नगरपालिकाकालाई बाँकेकै साक्षर नगरका रुपमा घोषण गर्न, कोहलपुर नगरपालिकाले आफ्नै सभा हाल, बैठक हल सहित सुविधान सम्पन्न भवन निर्माण, राष्ट्रिय सूचना प्रविधि केन्द्र सुरु हुँदै, अन्तराष्ट्रिय स्तरका खेलमैदानले पूर्णता पाउँदै, कृषिलाई आधुनिकरण लगायतका दिर्घकालिन आयोजनाहरु केहि सुरु हुँदै त केहि निर्माण भईरहेको अवस्थामा रहेका छन् । नगर प्रमुख रावतका अनुसार आवश्यक बजेटको व्यवस्थापन गरी यहाँको विकास र समृद्धिका लागि सबैले साथ र सहयोग गरिरहको बताउँछन् । जनताको भावना अनुसार विकासको गति अगाडि बढाउन केहि समस्या आईपरेपनि कोहलपुर नगरपालिकाको स्रोत र साधानले यहाँको भौतिक, मानविय र अन्य कार्यहरु गरीरहेको बताउँछन् ।
अन्त्यमा हिजोको त्यो कोहलपुरलाई आजको आधुनिक र व्यवसायिक, शैक्षिक केन्द्र बिन्दुको कोहलपुर बनाउनमा हालका नगर प्रमुखको जिम्मेवार भूमिका रह्यो । विशेष गरी नगर प्रमुख रावतलाई जनताले तीन पटक मतदान गरी कोहलपुरको विकास र समृद्धिको जिम्मा दिएकै हुन् । जनताले दिएको त्यो जिम्मेवारी पुरा गर्नका लागि नगर प्रमुख रावतले आफ्नो जीवनभर संघर्ष गरिरहे । आजका दिनसम्म आउँदा नगरप्रमुखले आफ्नो व्यक्तिगत जीवनमा प्रश्न चिन्ह खडा गर्ने खालका कुनै त्यस्ता गलत कार्य नगरेको पाईएको छ । ७३ वर्षको त्यो उमेरमा पनि रावतले कोहलपुरको विकास र समृद्धिलाई नै प्राथमिकता दिएका छन् । जीवन नै सिकाइ हो भने भनाईलाई आत्मासाथ गर्दै काम गर्दै नयाँ कुरा सिक्दै कोहलपुरलाई एउटा नेपालकै नमूना सहर बनाउने उहाँको जीवनको एक मात्र लक्ष्य रहेको छ ।
१५ आश्विन २०७७, बिहीबार १२:३४ प्रकाशित