१८ बैशाख २०८१, मंगलवार
बलि दिने प्रयास असफल
  • काँचुली खबर

बालक बलि दिएको घटना सेलाउन नपाउँदै फेरि अर्को अपत्यारिलो घटना सार्वजनिक भएको छ । समाजमा अन्धविश्वास हटाउनुपर्ने विद्यालयका प्रिन्सिपलले नै एक महिलालाई बलि दिने प्रयास गरेको घटना बाहिर आएको हो ।
नवलपरासीको प्रतापपुर गाउँपालिका–३ अमुवामा रहेको न्यु गोल्डेन लाइफ इंग्लिस स्कुलका सञ्चालक तथा प्रिन्सिपल हरेन्द्र बडै शर्माले स्थानीय फूलमति मुसहरलाई बलि दिने प्रयास गरेका थिए । संयोगवश महिलाका आफन्तले थाहा पाएपछि बलि दिनबाट रोकिएको थियो ।
विद्यालय परिसरभित्रै चार फिट गहिरो, डेढ–डेढ फिट लम्बाइ तथा चौडाइको खाल्डो खनेर बलि दिए सो स्थानमा सुन पाइने भन्दै बलि दिन खोजिएको स्थानीयको भनाइ रहेको छ ।
प्रिन्सिपल शर्माले भने फूलमति बिरामी भएकाले उनलाई सञ्चो गराउने उद्देश्यले पूजा गर्न थालिएको दाबी गरेका छन् । स्रोतका अनुसार फूलमतिसँग लामो समयसम्म बोलचाल बन्द भएका प्रिन्सिपल हरेन्द्रले फूलमतिका देवर र नन्दको सहारामा ती महिलालाई उक्त स्थलमा राति १२ बजे लगेका थिए ।
शर्माले १८ जेठको शुक्रबार राति धामी बोलाएर स्कुलको प्राङ्गणअघि रहेको टहरोमा करिब चार फिट गहिरो खाल्डो खनेर विशेष पूजा गरेको र राति करिब १२ बजे विद्यालयसँगै जोडिएको घरमा रहेकी फूलमतिलाई उनकै देवर–देउरानी पञ्चराम मुसहर र चन्दा मुसहरलाई प्रयोग गरेर घरबाट लिएर आएको स्थानीयले बताएका छन् ।
विशेष पूजा गरिरहेको स्थानमा गहिरो खाल्डो र धारिलो हतियार तथा पूजाआजा चलिरहेको देखेपछि फूलमति भागेर एक स्थानीयको घरमा पुगेपछि घटना बाहिरिएको हो ।
स्थानीयले घटनाका बारेमा प्रहरीलाई खबर गरेपछि राति २ बजे इलाका प्रहरी कार्यालय समेमरीको टोली पुग्दा खाडल देखेको र पूजाआजा गरेको पाइएको प्रहरी नायब निरीक्षक झलक श्रेष्ठले बताए ।
स्थानीयका अनुसार हरेन्द्रले धामी कृष्ण प्याकुरेलको भनाइमा विश्वास गर्दै खाडल खनेको ठाउँमा मानव बलि दिए सोही ठाउँमा सुन पाइने आसमा विशेष पूजा लगाएर बलि दिन आँटेको बताइएको छ ।

स्रोत : राजधानी दैनिक

  • २४ जेष्ठ २०७५, बिहीबार १२:३४ प्रकाशित
  • Nabintech