पप्पु कन्स्ट्रक्सनको रु. १० करोड धरौटी जफत !
  • काँचुली खबर

पप्पु कन्स्ट्रक्सनले धरौटीबापत बैंकमा राखेको ९ करोड ९० लाख रुपैयाँ सरकारले जफत गर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तरगत सिक्टा सिँचाइ आयोजनाको डुडुवा शाखा नहर निर्माणको काम समयमा गर्न नसकेका कारण उसले जमानतको रुपमा बैंकमा राखेको धरौटी रकम जफत हुने भएको हो ।

उक्त निर्माण कम्पनीले काम गरेको भन्दा पेश्की बापत लगेको रकम धेरै भए त्यो पनि फिर्ता गर्नुपर्ने हुन्छ । कामको मूल्यांकनका लागि पप्पुलाई पत्राचार गर्ने तयारी भइरहेको सिक्टा सिँचाइ आयोजनाका डिभिजनल इन्जिनियर प्रकाश बहादुर कार्कीले बताए । उनका अनुसार, निर्माण कम्पनीले काम गरेको भन्दा बढि रकम लगेको भए फिर्ता गर्नुपर्ने प्रावधान छ ।

डुडुवा शाखा नहर निर्माणमा ढिलाई गरेपछि सरकारले पप्पु कन्स्ट्रक्सनको ठेक्का सम्झौता रद्द गरेपछि टेन्डर मार्फत पुनः ठेक्का सम्झौता हुने भएको छ । सिक्टा सिँचाइ आयोजनाका अनुसार डुडुवा शाखा नहर निर्माणका लागि पप्पुले ८ करोड ३७ लाख रुपैयाँ पेश्की लिइसकेको छ । डुडुवा शाखा नहर निर्माणको जिम्मा पाएको पप्पुले ठाउँ–ठाउँमा नहर खनेको र लाइनिङ गरेकोले मूल्यांकन गर्न गाह्रो भएको बताए । ‘ठाउँ-ठाउँमा काम भएकोले यकिन गर्न गाह्रो छ । कति प्रतिशत काम भएको छ भन्ने मूल्यांकनपछि मात्र थाहा हुनेछ,’ उनले भने ।
पप्पुले डुडुवा नहर प्रणाली निर्माणको काम २८ महिनामा सक्ने गरी ठेक्का लिएको थियो । अवधि पूरा हुँदासम्म करिव सात प्रतिशत काम गरेपछि ठेक्का सम्झौता रद्द गरिएको आयोजनाका डिभिजनल इन्जिनियर कार्कीले स्पष्ट पारे । ‘हामीसँग सम्झौता भएको समयमा जम्मा ७ प्रतिशत मात्रै काम भएपछि मन्त्रिपरिषद्ले ठेक्का तोड्ने निर्णय गरेको हो,’ उनले भने ।

डुडुवा नहर निर्माणको काम ०७३ जेठदेखि सुरु गरी ४ पुस, ०७५ मा पूरा गर्ने लक्ष्य थियो । पप्पुले २३।२ किलोमिटर डुडुवा नहर निर्माण र सिक्टाको मूल नहरलाई डुडुवा शाखा नहरसँग जोड्न ९८ करोड ८१ लाख रुपैयाँमा ठेक्का पाएको थियो । नहर निर्माणपछि त्यस क्षेत्र आसपासका १६ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्ने विश्वास गरिएको छ । ‘पप्पुले समयमै काम नगरिदिएका कारण उक्त आयोजनाको काम थप दुई वर्ष पछाडि धकलिएको छ,’ कार्कीले भने ।

यसैवीच, प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना अन्तर्गतको मूल नहरमा पानी छाड्न सरकारलाई निर्देशन दिए पनि आगामी बर्षातसम्म पानी छोड्न नसकिने आयोजनाका डिभिजनल इन्जिनियर कार्कीले बताएका छन् । उनले मुल नहरमा पानी छोड्नासाथ भत्किने गरेकोले मर्मत नहुँदै पानी छोड्न नसकिने स्पष्ट पारे । ‘कारण पत्ता नलाग्दै मर्मत हुन सक्दैन । मर्मत नहुँदै पानी छोड्न मिल्दैन,’ उनले भने ।

बाँकेको ४२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना निर्माणमा ढिलाई भएपछि यहाँका ६५ हजार कृषक मारमा परेका छन् । मुल नहरमै कमजोरी भएपछि बाँकेका कृषकले आगामी बर्षे धानका लागि समेत आकासे पानीको भर पर्नु पर्ने भएको छ । ‘के आधारमा मर्मत गर्ने अझैँ टुंगो लागेको छैन । बर्षे धानका लागि समेत नहरमा पानी छोड्न सक्ने संकेत छैन,’ उनले भने ।

पूर्वी नहर र सिधनिया शाखा नहरमा काम जारी रहे पनि डुडुवा नहरको ठेक्का रद्द गरिएको छ । डुडुवा नहर निर्माणको काम निर्धारित समयमा पूरा गर्न नसकेपछि पप्पु कन्ट्रक्सनसँगको ठेक्का सम्झौता तोडिएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ ।

 

(अवध पोष्टबाट साभार)

  • ११ मंसिर २०७५, मंगलवार ११:३८ प्रकाशित
  • Nabintech