राप्तीसोनारीको विकासकालागि एक हुनुपर्नेमा जोड !
  • काँचुली खबर

बाँकेको राप्तीसोनारी गाउँपालिकाको विकासकालागि सबै दल र जनप्रतिनिधी एक ठाउँमा उभिनुपर्ने सम्वद्धहरुले जोड दिएका छन् । विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा राप्तीसोनारी गाउँपालिकाले सोमबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथी एवं बाँके क्षेत्र नम्बर १ का प्रतिनिधी सभाका सांसद महेश्वरजंग गहतराजले राप्तीसोनारी गाउँपालिका क्षेत्रको समग्र विकासकालागि सबैले हातेमालो गर्न जरुरी रहेको बताए ।

प्राकृतिक र साँस्कृति रुपले धनी रहेको राप्तीसोनारी बाँकेको सबैभन्दा बढी सम्भावना बोकेको क्षेत्र रहेको उनले दावी गरे । पर्यटकिय सम्भावना बोकेको राप्तीसोनारीमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन स्थानीय सरकारले योजना बनाउनुपर्ने उनको सुझाव छ । ‘बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकलाई भित्र्याउन स्थानीय सरकारले ध्यान दिनुपर्छ,’ उनले भने । तीन वर्षभित्रमा राप्तीसोनारीका विभिन्न वडामा सडक र राप्ती नदीमा पक्की पुल निर्माण गर्ने गरी संघिय सरकारले गुरुयोजना तयार गरिसकेको नेकपाका नेता समेत रहेका सांसद गहतराजले जानकाकरी दिए ।

कार्यक्रमका विशिष्ट अतिथी एवं पुर्वमन्त्री प्रेमबहादुर भण्डारीले राजनीतिमा विभाजित भएपनि विकास निर्माणको सवालमा सबै दल र जनप्रतिनिधी एकजुट हुनुपर्ने बताए। स्थानीय सरकारले सबैलाई समान रुपले समेट्न सक्नुपर्ने उनको सुझाव छ ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले जनप्रतिनिधीले सिक्न र सिकाउन जरुरी रहेको बताए । आफुहरु जनताको काम गर्नका लागि निर्वाचित भएर आएको उल्लेख गर्दै उनले जनप्रतिनिधीले काम गर्दा गुणस्तरमा ध्यान दिनुपर्ने धारणा राखेका थिए। गाउँपालिकाले गर्ने हरेक काममा जनताले साथ दिनुपर्ने उनको भनाई छ ।

यस्तै पत्रकार महासंघका पुर्वमहासचिव पोषण केसीले राप्तीसोनारीको विकासमा एकै ठाउँमा उभिनुपर्ने बताए । राप्तीसोनारी गाउँपालिकाका कतिपय वडा अझैपनि विकट रहेको भन्दै राप्तीनदीमा झोलुङ्गे पुल र बिद्युतीकरणको काम सम्पन्न गर्न सके जनताले धेरै राहत पाउने धारणा राखेका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुर्य ढकालले जनतालाई अब विकास र समृद्धि चाहिएको बताए । विकास र समृद्धिकै लागि विभिन्न परिवर्तन भएको उनको धारणा छ ।

कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र केसी, नेपाली काँग्रेस राप्तीसोनारी गाउँपालिका संयोजक भिमबहादुर राना, सामुदायिक वन उपभोक्ता महासंघ बाँकेका निर्वतमान अध्यक्ष डिल्ली गिरी, राप्तीसोनारी गाउँपालिका बिभिन्न वडाका वडा अध्यक्षहरु, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का, पुर्व गाविस अध्यक्ष तुलसीराम थारु, नेपाल शिक्षक संघ बाँकेका उपाध्यक्ष शेखर रावत लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

  • २९ आश्विन २०७५, सोमबार १८:०१ प्रकाशित
  • Nabintech