१८ मंसिर, भालुबाङ्ग । प्रेस काउन्सिल नेपालले पत्रकार महिलालाई लक्षित गरी प्रविधिमैत्री पत्रकारिता तालिम आयोजना गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सोमबारदेखी दाङको भालुबाङ्गमा सुरू भएको ३ दिने तालिमको उद्घाटन गरेकी छन ।
तालिमको उद्घाटन गर्दै मन्त्री शर्माले पत्रकारिता क्षेत्रमा महिलाको सँख्या बढाउन सरकार र सञ्चार माध्यमहरु संवेदनशील बन्नुपर्ने बताईन । उनले पछिल्ला केही वर्षहरुमा नेपाल समावेशीकरणको सवाल धेरै अगाडि बढेको भए पनि पत्रकारिता क्षेत्रमा महिलाको संख्या निकै कम रहेको भन्दै यसलाई बढाउन आवश्यक रहेको बताईन ।
शर्माले पत्रकार महिलाको क्षमता र दक्षता बढाउन प्रविधि लक्षित तालिम फलदायी हुनेमा आफु विश्वस्त रहेको समेत बताईन ।
प्रेस काउन्सिल नेपालका सदस्य एवं तालिमका संयोजक शरद अधिकारीले प्रबिधिको माध्यमबाट पोख्त पत्रकारिता गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । प्रविधिमैत्री नहुँदा संचारकर्मीहरु पत्रकारिता क्षेत्रबाटै पलायन हुने र अवसरबाट समेत वञ्चित हुने अवस्था हुन नदिने प्रयासमा काउन्सिल रहेको उनको भनाइ छ ।
तालिमको उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले प्रविधिसँग जोडिएर मात्रै समयानुकूल पत्रकारिताको अभ्यास हुने बताए । उनले नयाँ पुस्तालाई पत्रकारितामा आकर्षण गर्न र पेसामा रहेकालाई टिकाउन यस्ता तालिम महत्वपूर्ण हुने बताए ।
यस्तै सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले प्रबिधिको उच्चतम प्रयोगबाट गरिने पत्रकारिताले पत्रकार महिलालाई गुणात्मक, सचेत र व्यवसायिक रूपमा अगाडि बढ्न सघाउने विश्वास व्यक्त गरीन । उनले निर्णायक तहमा पत्रकार महिलालाई पुर्याउन, पत्रकारितामा महिलाको उपस्थित वृद्धि गर्ने र पेसागत सुरक्षामा ध्यान दिनुपर्ने बताईन ।
उक्त तालिममा सहभागी पत्रकारलाई मोबाइल र डाटा जर्नाल्जिम, पत्रकार आचारसंहितासहित प्रविधिमैत्री पत्रकारितासम्बन्धी सीप दिइने विज्ञ अरुण कार्कीले जानकारी दिईन ।
१८ मंसिर २०८०, सोमबार १५:०९ प्रकाशित