१६ आश्विन २०८०, मंगलवार
अभियानपछि माओवादी जनजनको मनमा हुनेछ : पूर्व मुख्यमन्त्री केसी
  • काँचुली खबर

१६ भदौ, नेपालगन्ज । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य कुलबहादुर केसीले माओवादीको तीन महिने रूपान्तरण अभियानले पार्टी जनजनको मनमा स्थापित हुने बताएका छन ।

केसीले शनिबार नेपालगन्ज-११ मा अभियानको उद्घाटन गर्दै यस्तो बताएका हुन । उनले देशमा आएको ऐतिहासिक परिवर्तनको नेतृत्व माओवादीले नै गरेको स्मरण गराउँदै अब शान्ति र समृद्धिको नेतृत्व पनि माओवादीले नै गरिरहेको बताए ।

पूर्व मुख्यमन्त्री केसी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको वर्तमान सरकारले जनतामा समृद्धि, शान्ति र विकासको आशा जगाउन सफल भएको जनाउँदै यही सरकारले नै जनताका सबै उपेक्षा पुरा गर्ने बताए ।

उनले भने, ‘‘माओवादी नेतृत्वको सरकारले गरिरहेको राम्रो कामविरुद्ध षड्यन्त्र र खुरापात गर्ने कार्य सुरु भइसकेको छ । अब आम जनताले कुन सरकार जनताको हो र कुन होइन भन्ने कुरा राम्ररी बुझ्नु पर्ने बेला आएको छ ।’’

माओवादी स्थायी समिति सदस्य केसीले आज देशनै माओवादीमय हुने वातावरण बनिसकेको जनाउँदै यो तीन महिने रूपान्तरण अभियानले माओवादीप्रति जनताको समर्थन ठुलो सङ्ख्यामा वृद्धि गर्न सफल हुने बताए ।

सो अवसरमा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे, सचिव डिल्ली बराल, आइसिटी फोरम बाँकेका संयोजक दीपेन्द्र विष्ट, नेता रतन शाही, नन्दकिशोर कश्यप लगायतको पनि उपस्थिति रहेको थियो ।

  • १६ भाद्र २०८०, शनिबार १७:५३ प्रकाशित
  • Nabintech