८ बैशाख २०८१, शनिबार
अब ठेलालाई अनिवार्य नम्बर प्लेट र परिचयपत्र
  • काँचुली खबर

२७ बैशाख, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले ठेला व्यवसायीहरुलाई परिचयपत्रसंगै क्युआर कोडसहितको नम्बर प्लेट प्रदान गरेको छ । ठेला व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन परिचयपत्र र नम्बर प्लेट प्रदान गरिएको हो ।

ठेलाहरु रहने निश्चित क्षेत्रहरु तोकी जथाभावी ठेला राख्ने प्रबृत्तिको अन्त्य गर्न नम्बर प्लेट र परिचयपत्र उपलब्ध गराएर व्यवस्थित बनाइएको नगर प्रमुख प्रशान्त विष्टले बताए ।

मुख्य चोक र भिडभाड हुने क्षेत्रहरुमा अस्वस्थ तरिकाले जथाभावी ठेला राख्ने प्रबृत्तिलाई निरत्साहित गर्दै व्यवस्थित सहर बनाउने उद्देश्यका साथ ठेला व्यवस्थापनको कार्यलाई अगाडि बढाइएको विष्टको भनाई छ ।

“अब तपाईंहरुले जहाँ पायो त्यहीँ ठेला राख्न पाउनुहुन्न, हामीले तोकेको क्षेत्रमा व्यवस्थित गरिकाले ठेला राखेर व्यापार व्यवसाय गर्नुहोला, तपाईंहरुकै सहजताका लागि हामीले यो काम गरेका छौं,” परिचयपत्र र नम्बर प्लेट प्रदान गर्दै उनले भने, “भारतीय ठेला व्यवसायीहरुले अनाधिकृतरुपमा ठेला राख्ने कुरा अब यसले बन्द हुन्छ, तपाईंहरु नियम कानुनभित्र रहेर बस्नुहोला ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक तिलक सुनारले मुख्य चोकका भित्री गल्लीहरुमा व्यवस्थित गरिकाले ठेला राख्न पाउने गरी व्यवस्थापन गरिएको बताउँदै भने, “व्यवस्थापन कार्यमा ट्राफिक प्रहरी र नगर प्रहरीलाई सघाउनुहोला, अटेरी गर्ने काम नगर्नुहोला, नत्र कारवाही हुन्छ ।”

नेपालगञ्ज उपमहानगरपालिकाले गरेको आह्वान बमोजिम हालसम्म १०९ वटा ठेला दर्ता भएका छन् । ती ठेलाहरुलाई परिचयपत्र र नम्बरप्लेट प्रदान गरिएको छ । नेपालगञ्ज क्षेत्रमा नेपाली व्यवसायीले मात्रै सञ्चालन गरेको ठेलाको संख्या १५० को हाराहारीमा रहेको अनुमान छ । भारतीय व्यक्तिहरुले सञ्चालन गरेको समेत गरी झण्डै २५० देखि ३०० ठेला नगरभित्र रहेका छन ।

ठेला दर्ता गर्न नेपाली नागरिकता अनिवार्य गरिएको छ । दर्ता प्रक्रियामा नआएका ठेलाहरुको खोजी गरी दर्ता गराइने उपमहानगरपालिकाले बताएको छ । ठेला व्यवसायीहरुले उपमहानगरले ठेला व्यवस्थापनका लागि गरेको काम स्वागतयोग्य भएको भन्दै आफूहरु नियम कानुन पालनामा प्रतिबद्ध रहने बताएका छन् ।

  • २७ बैशाख २०८०, बुधबार १३:४३ प्रकाशित
  • Nabintech