११ बैशाख २०८१, मंगलवार
लुम्बिनीको मुख्यमन्त्रीमा चाैधरी नियुक्त
  • काँचुली खबर

१४, बैशाख, बुटवल । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीयदलका नेता डिल्ली बहादुर चौधरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आज अपरान्ह चाैधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

सरकार गठनका लागि सत्ता-गठबन्धनले आजै मध्यान्ह चोधरीलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गरेका थिए। नेपाली कांग्रेससहित ८ दलले संयुक्त हस्ताक्षरसहित प्रदेश प्रमुख शेरचन समक्ष नयाँ सरकारको दाबी पेस गरेका थिए।

चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३-३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक-एक जना र स्वतन्त्र एक सांसद गरि ५३ जना साँसदको समर्थन रहेको छ ।
नेकपा एमालेले भने प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि गरेको आह्वान नै गैरकानुनी भएको दाबी गर्दै आएको छ ।

लुम्बिनीमा मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वमा माओवादी सहितको गठबन्धनको सरकार बनेको थियो । संविधानको धारा १६८ को उपधारा २ अनुसार एमालेका लिला गिरीले मुख्यमन्त्रीको रुपमा पुस २७ गते शपथ लिएका थिए । तर केन्द्रमा सत्ता गठबन्धन परिर्वतन भएसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो । सरकारमा रहेको दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले वैशाख ११ गते विश्वासको मत लिएका थिए । तर उनले विश्वासको मत नपाएपछि सरकार गुमेको थियो ।

त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि बिहीबार ४ बजेभित्र दाबी पेस गर्न समयसीमा दिएका थिए । संविधानको धारा १६८ को २ पछि उपधारा ३ को प्रक्रियामा जानुपर्नेमा २ मै सरकार गठन गरेको भन्दै एमालेले विरोध गरेको हो । प्रदेश प्रमुख शेरचनले सरकार गठनका लागि महान्यायाधिवक्तासँग राय लिएर सरकार गठन दाबीको आह्वान गरेका थिए ।

एमालेले यसको विरोधमा अदालत जाने चेतावनी दिएको छ। उपदफा ३ अनुसार दाबी गर्दा एमालेले सरकार बनाउन पाउने थियो ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४-४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३-३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक-एक जना र स्वतन्त्र एक सांसद रहेका छन् ।

  • १४ बैशाख २०८०, बिहीबार १८:३४ प्रकाशित
  • Nabintech