७ बैशाख २०८१, शुक्रबार
अपाङ्ग बाल अस्पताल र नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रको उद्घाटन
  • काँचुली खबर

चैत १८ कोहलपुर । पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क गरिनु पर्ने बताएका छन । बाँकेको कोहलपुर नगरपालिका-१५ अकलघरुवास्थित नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र र अपाङ्ग बाल अस्पताल पुनःस्थापना केन्द्रको शनिबार उद्घाटन गर्दै उनले स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क गर्दै त्यसलाई गुणस्तरीय र सर्वसुलभ पनि बनाइनु पर्नेमा जोड दिएका हुन ।

थापाले कोहलपुर नगरपालिकाले सुरु गरेको नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रको सेवालाई प्रभावकारी गराउन सुझाव दिए । ‘म स्वास्थ्य मन्त्री हुँदा नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रको अवधारणा अघि सारेको हुँ’ उनले भने, यसको तीन वटा लक्ष्य छन । पहिलो: रोगको पहिचान गर्ने, दोस्रो: जनतासँग मिलेर रोग रोकथामको काम गर्ने र तेस्रो: उपचार ।’

नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रको अवधारण भनेकै घरघरमा पुगेर जनताको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, रोग लाग्नु भन्दा पहिल्यैं अपनाउन सकिने सजगताबारे जानकारी प्रवाह गर्ने र उपचारको पहुँच नभएकालाई पहुँचमा ल्याउने रहेको पूर्वमन्त्री थापाको भनाइ छ । उनले प्रवद्र्धन केन्द्रको सेवा प्रवाहलाई थप प्रभावकारी कसरी गराउन सकिन्छ भन्ने बारेमा आफ्नो टिमले सहकार्य गरेर अघि बढ्ने विश्वास समेत दिलाए ।

यसैगरी अपाङ्गता भएका बालबालिकाहरुलाई लक्षित गरी संचालनमा ल्याइएको अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले ठूलो मानवीय सेवा गरेको भन्दै थापाले प्रशंसा गरे । विपन्न समुदायका र त्यसमा पनि अपाङ्गता भएका बालबालिकाहरुको पहिचान गरी उनीहरुलाई उपचार गरेर समाजमा पुनःस्थापना गर्नु निकै ठूलो काम भएको भन्दै उनले कोहलपुरमा केन्द्र संचालनपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अपाङ्गता भएका बालबालिकाहरुलाई उपचारमा निकै सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु कुमारी चौधरीले थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल र थालेसेमियाका बिरामीको उपचारलाई निःशुल्क गरिनु पर्ने बताईन । ‘सिकलसेलका बिरामीलाई सरकारले उपचार खर्च भनेर १ लाख रुपैयाँ दिने गरेको छ । तर यस्तै प्रकृतिको थालेसेमियाका बिरामीलाई भने सरकारले राहात दिएको छैन उनले भनिन, ‘म पूर्व मन्त्री थापालाई ध्यानाकर्षण गराउन चाहन्छु । थारु समुदायलाई बढी प्रभाव पार्ने थालेसेमिया रोगका बिरामीलाई पनि सरकारले उपचार खर्च दिनु पर्छ । नीतिगत रुपमा पहल गरिदिन आग्रह गर्छु ।’

यस्तै लुम्विनी प्रदेश सभा सदस्य बसन्ती अधिकारीले पनि स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन आवश्यक रहेको बताईन । त्यसका लागि प्रदेश सरकारले गर्न सक्ने पहलका निमित्त आफु तयार रहेको बताईन ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले स्वस्थ व्यक्तिबाट मात्रै विकास सम्भव भएकाले नगरपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी गराउने गरी काम गरिरहेको उल्लेख गरे ।

कार्यक्रममा प्रवद्र्धन केन्द्र र अस्पताललाई जग्गा दान गर्ने जग्गादाता स्वर्गीय पुन्सी थारुको अर्धकधको शालिकको समेत पूर्वमन्त्री थापाले अनावरण गरेका थिए । स्वर्गीय थारुले १० कठ्ठा जग्गा दान गरेका छन । कार्यक्रममा जग्गादाताका परिवार सदस्यहरुलाई सम्मानित गरिएको थियो भने केन्द्र स्थापनाका लागि विशेष योगदान पुर्याएको भन्दै पूर्व जनप्रतिनिधिहरु पतिराम थारु, गुत्तु थारु, लौटन थारु, हरिराम थारु, राम लौटन यादव, राम मिलन तमौली र हुसेनी बस्फोरले कदरपत्रले सम्मानित गरिएको नगर प्रवक्ता नमबहादुर आलेले जानकारी दिए ।

  • १८ चैत्र २०७९, शनिबार १५:३३ प्रकाशित
  • Nabintech