१६ चैत्र २०८०, शुक्रबार
वाइसिएल बाँकेले प्रचण्डविरुद्धको मुद्दाप्रति आपत्ति जनाउँदै बुझायो ज्ञापनपत्र
  • काँचुली खबर

२५ फागुन, नेपालगन्ज । माओवादी केन्द्र निकट युवा सङ्गठन वाइसिएल नेपाल बाँकेले बिहीबार जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा जनयुद्धकालीन मुद्दा दायर गरिएकोप्रति आपत्ति जनाउँदै वाइसिएलले ज्ञापनपत्र बुझाएको हो ।

सङ्गठनका बाँके जिल्ला इन्चार्ज किस्मत अलि शेष, जिल्ला संयोजक आकाश कार्की र सचिब नरेन्द्र ददेलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा अध्यक्ष प्रचण्ड विरुद्ध जनयुद्धकालीन मुद्दा दायर गर्नु षडयन्त्र भएको जनाउँदै त्यसप्रति वाईसिएल नेपालको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । सो सङ्गठनले विभिन्न ५ बुँदे माग समेत अघि सारेको छ ।

विज्ञप्तिमा जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत व्यवस्था परिवर्तनका आन्दोलनहरूमा ज्यान गुमाएका योद्धाहरूलाई राष्ट्रिय सहिद घोषणा गर्न र तिनका परिवारलाई सम्मानित वातावरमा बाँच्न सक्ने गरी उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गरिएको छ। ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले उक्त ज्ञापन पत्र नेपाल सरकारलाई पठाउने बताउनु भएको छ । ज्ञापन पत्र बुझाउन वाइसीएल नेपालका केन्द्रिय उपमहासचिव रतन बहादुर शाहीको समेत उपस्थिति रहेको थियो ।

  • २५ फाल्गुन २०७९, बिहीबार २०:२७ प्रकाशित
  • Nabintech