६ बैशाख २०८१, बिहीबार
बन अतिक्रमण गरेर बनाइएका घरटहरा भत्काउन सुरु
  • काँचुली खबर

१९ फागुन, कोहलपुर । डिभिजन बन कार्यालय बाँकेले जंगल क्षेत्र अतिक्रमण गरेर बनाइएका घरटहरा भत्काउने कार्य शुरु गरेको छ । डिभिजन कार्यालयका सहायक बन अधिकृत गणेश खड्काले सरकारी बन अतिक्रमण गरी बनाइएका ५५ घर संरचना भत्काइएको बताएका छन् ।

जिल्लाको राप्तीसोनारी गाउँपालिकाको झगडिया गाउँ नजिकै रहेको हुलाकी सडकको छेउका ५५ अवैध घरटहरा भत्काइएको छ । सर्वदलीय बैठकको निर्णयअनुसार १० दिने सूचना जारी गरेर ती घरटहरा भत्काइएको उनले जानकारी गराए ।

उनले राप्ती नदीपूर्व पर्ने हुलाकी सडक छेउका धेरैजसो सरकारी बन क्षेत्र अतिक्रमणको चपेटामा परेको बताए । कोहलपुर सब-डिभिजन बन कार्यालय अन्तर्गतको कोहलपुर-८ स्थित शीतलछाया सामुदायिक बन, कोहलपुर-७ स्थित आस्था सामुदायिक बन, कोहलपुरको विन्ध्यवासिनी सामुदायिक बन, बागेश्वरी सामुदायिक बन, ज्योति सामुदायिक बन र वैजनाथ गाउँपालिकाको खैरेनी सामुदायिक बन, प्रगतिशील सामुदायिक बन क्षेत्रमा पनि अतिक्रमण गरी घरटहरा निर्माण गरिएका छन् ।

सो अतिक्रमण २०५८ सालदेखिको भएको जनाइएको छ । सब-सिक्टा डिभिजन वन कार्यालय अन्तर्गत राप्तीसोनारी गाउँपालिकाको बडा नं. १, ३, ४ स्थित रामजानकी, बागेश्वरी, लामीडाँडा, गाइलेख, सुनधारा सामुदायिक बनको जग्गा पनि अतिक्रमण भएको छ ।

त्यहाँ अतिक्रमण भएको बन करिब ४२ हेक्टर रहेको छ । नरैनापुर सब-डिभिजन बन कार्यालय अन्तर्गत वडा नं. १, २, ३, ४, ५, ६ का किसान, झरनिका, गाजी, शान्ति, समीर, सदाबहारलगायत नामका सामुदायिक वनको करिब १७५ हेक्टर क्षेत्रफलको बन अतिक्रमण भएको छ ।

नेपालगञ्ज सब-डिभिजन बन कार्यालय अन्तर्गत डुडुवास्थित हजरत, झोरा, वभनपुर्वा सामुदायिक बनको करिब ३२ हेक्टर क्षेत्रफलमा अतिक्रमण भएको छ । राप्ती सब-डिभिजन बन कार्यालयअन्तर्गत समयभवानी, सुनखोली, सिद्धेश्वरी, कर्णेराज, राप्तीपीडित, भगवती, कुसुमिया, सिद्धबाबालगायत सामुदायिक वनको करिब १९० हेक्टर क्षेत्रफल अतिक्रमण भएको छ ।

शमशेरगञ्ज सब-डिभिजन बन कार्यालय अन्तर्गत हरियाली, जनकल्याण, हरलाफाटा, सिद्धसाई कुमारी, दुर्गा भवानी, जनमुखी, कोटहीदेवी, मधु सामुदायिक वनको करिब ३० हेक्टर क्षेत्रफलमा अतिक्रमण भएको छ ।

  • १९ फाल्गुन २०७९, शुक्रबार १२:२४ प्रकाशित
  • Nabintech