१३ बैशाख २०८१, बिहीबार
खजुरामा स्थापना हुनेभयो प्रदेश विश्वबिद्यालय, मुख्यमन्त्री केसीले गरे स्थलगत निरिक्षण
  • काँचुली खबर

भाद्र १९, खजुरा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले बाँकेको खजुरामा प्रदेश प्रबिधिक विश्वबिद्यालयका लागि प्रस्ताव गरिएको जग्गाको स्थलगत अवलोकन गरेका छन् । खजुरा गाँउपालिकाबाट विश्वबिद्यालयका लागि प्रस्ताव भएको ११० बिगाहा जग्गाको अवलोकन गर्दै मुख्यमन्त्री केसीले छिट्टै विश्वबिद्यालय संचालनमा आउने बताए ।

उनले तत्कालका लागि सोही स्थानमा रहेको जनकशिक्षा सामाग्रीले छापाखानाका लागि बनाईएको भवनको पनि अवलोकन गरे । हाललाई बिश्वबिद्यालयको केन्द्रीय कार्यालय राख्ने तयारी गरिएको सो भवन मरमत गरि कार्यालय संचालनमा ल्याईने बताए । भवन मरमत नहुँदासम्म डिभिजन बन कार्यालय नेपालगन्जमा अल्पकालका लागि कार्यालय खुल्ने जानकारी दिँदै यथासिघ्र खजुराबाटै प्रशासनिक कार्यालय कार्यान्वयनमा आउने पनि मुख्यमन्त्री केसीले बताए ।

‘खजुरामा नै कार्यालय उद्घाटन गर्ने मन थियो, तर मरमत गर्न समय लागेपछि नेपालगन्जमा कार्यालय खोल्नु पर्यो ।’ उनले भने ।

विश्वबिद्यालयको आजै अपरान्ह नेपालगन्जमा केन्द्रीय कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

विशेष अनुदानको रकमबाट भएपनि भवन मरमत र जनक शिक्षाबाट भोगाधिकार ल्याउने काम हुने मुख्यमन्त्री केसीले आश्वासन दिएको नेकपा माओवादी केन्द्रका खजुरा गाँउ कमिटीका अध्यक्ष राजकुमार बिकले जानकारी दिए ।

विश्वबिद्यालयका लागि आवश्यक जग्गाको प्रक्रिया अन्तिम चरणमा पुगेको र छिट्टै संघीय मन्त्रिपरिषदबाट विश्वबिद्यालयको नाममा जग्गा प्राप्त हुने खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बिक तुफानले बताए ।

अवलोकनमा लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेल, संबिधानसभाकी पूर्व उपाध्यक्ष पूर्णा सुबेदी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

 

  • १९ भाद्र २०७९, आईतवार १३:२० प्रकाशित
  • Nabintech