कमरेड बादलको महान् गद्दारी !

द्वितीय अन्तर्राष्ट्रियको समयमा एंगेल्सको मृत्युपछि जर्मनीको कम्युनिस्ट पार्टी विश्वकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी थियो । त्यति बेला यो पार्टीलाई सामाजिक जनवादी मजदुर पार्टी भनिन्थ्यो । त्यो पार्टी विश्वका सच्चा क्रान्तिकारीहरुको ठूलो आशाको केन्द्र पनि थियो । द्वितीय कम्युनिस्ट अन्तर्राष्ट्रियले सम्भावित अन्तर साम्राज्यवादी विश्वयुद्धमा सबै देशका कम्युनिस्ट पार्टीहरुले अन्तर साम्राज्यवादी युद्धमा भाग नलिने, आ-आफ्ना देशका प्रतिक्रियावादी शासकहरुलाई असहयोग गर्ने, मजदुर आन्दोलनलाई अगाडि बढाउने, अन्तर्राष्ट्रिय रुपमा सर्वहारा पार्टीहरुको भाइचारा बलियो बनाउने आदि निर्णय गरेको थियो । त्यो निर्णय पालना हुन्छ कि हुँदैन भन्ने विषयमा लेनिनले शंका प्रकट गरेका थिए । हुन पनि त्यही भयो । ४ अगस्त १९१४ मा जर्मन सामाजिक जनवादीहरुले जर्मनको संसदमा मातृभूमिको रक्षा गर्ने भन्ने तर्कका साथ प्रतिक्रियावादी सरकारले ल्याएको युद्ध बजेटको समर्थन गरे र सर्वहारा अन्तर्राष्ट्रवादको विपक्षमा तरवार उठाए ।

जर्मनको कम्युनिष्ट आन्दोलनमा यो गद्दारी कार्ल काउत्स्कीको नेतृत्वमा भएको थियो । काउत्स्की जर्मनको कम्युनिष्ट पार्टीका मात्र नेता थिएनन्, द्वितीय कम्युनिष्ट अन्तर्राष्ट्रियकै प्रधान नेता थिए । युद्ध बजेटको समर्थन प्रतिक्रियावादी संसदीय सरकारमा सहभागी हुनका निम्ति मार्गप्रशस्त गर्ने एउटा कार्ड मात्र थियो । मातृभूमिको रक्षा वा राष्ट्रियताको कुरा त देखाउने दाँत मात्र थिए । यसरी विश्वको सबैभन्दा ठूलो जर्मनीको संसदमा सशक्त प्रतिपक्षमा रहेको र विश्व कम्युनिष्ट आन्दोलनका एंगेल्सपछिका ठूला नेताले हाँकेको पार्टीको यसरी अकालमा मृत्यु भएको थियो ।

कार्ल काउत्स्कीले नेतृत्व गरेको सो पार्टीले महान गद्दारी गरेपछि जर्मनी मात्र होइन, विश्वकै कम्युनिष्ट आन्दोलन नै तितरवितर र छिन्नभिन्न अवस्थामा पुग्यो । विश्व समाजवादी आन्दोलनले डरलाग्दो गरी धक्का खायो । कम्युनिष्ट आन्दोलनको कार्यदिशा नै बदलियो । लेनिन नेतृत्वको रुसको कम्युनिष्ट पार्टीले मात्र दोस्रो अन्तर्राष्ट्रियको निर्णय बमोजिम पार्टीलाई अगाडि बढायो । सर्वहारा अन्तर्राष्ट्रयवादको पक्षमा जोडदार आवाज बुलन्द गरायो । लेनिनको सो आवाजमा जर्मन कम्युनिष्ट पार्टीका दुईजना कार्ल लिष्टनेट र रोजा लग्जेम्वर्गले मात्र साथ दिए । सन् १९१९ मा जर्मनको प्रतिक्रियावादी सरकारले ती दुबै सर्वहारा आन्दोलनका महान आदर्शहरुको निर्ममतापूर्वक हत्या गर्यो । यो परिघटना विश्व कम्युनिस्ट आन्दोलनमा महान् गद्दारीका नामले प्रख्यात छ ।

नेपालमा २०५२ फागुन १ गतेदेखि २०६३ मंसीर ५ गतेसम्म ११ वर्ष लामो महान् जनयुद्ध सञ्चालन भयो । यसलाई नेपााली कम्युनिस्ट आन्दोलनमा महान् क्रान्तिका नामले चिनिन्छ । तर, शान्ति प्रक्रियामा प्रवेशसँगै नेकपाभित्र वैचारिक बहस प्रारम्भ भयो । त्यतिबेला मोहन वैद्य र रामबहादुर थापा ‘बादल’ले प्रचण्डमाथि क्रान्तिलाई धोका दिएको गम्भीर आरोप लगाएका थिए । तर, परिणामले झण्डै ८ वर्षपछि बरु रामबहादुर थापा ‘बादल’ संसद बिघटन र प्रतिगमनको कित्तामा उभिएका छन् ।

२०७० को आम निर्वाचनमा प्रचण्ड नेतृत्वको माओवादीलाई हराउन बादलले सक्रिय भूमिका खेलेका थिए । उनको विश्लेषण थियो, ‘प्रचण्ड लालगद्धार हुन् । यिनले क्रान्तिलाई धोका दिए ।’ तर, २०७३ मा माओवादीमा फर्किएदेखि यता बादल सम्पूर्ण रुपले सत्ताको लालसामा देखिएका छन् । उनको प्रतिगामी सोंचको पारो यतिसम्म माथि चढ्यो कि उनले आफ्नै सहयोद्धा नेत्रविक्रम चन्दलाई आतंककारी करार गर्दै विद्रोही नेकपालाई प्रतिबन्धित गरिदिए । उनको कदमको चौतर्फी आलोचना भयो । तर, बादलले आफूलाई समीक्षा गर्न जरुरी ठानेनन् ।

२०७३ को एकतापछि बादलसँग रहेका वरिष्ठ नेताहरु देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्यहरु क्रान्तिकारी धार बचाउन लागिरहे । २०७५ मा नेकपा बनेपछि नयाँ केन्द्रीय समितिमा बादलनिकट ५४ नेताहरु थिए । तर, २०७७ पुस ९ गतेसम्म पुग्दा ५३ जना नेताहरुले बादलको साथ छोडिसकेका छन् । तिनै एक्ला बादलले अलिकति लोकलाज पनि पचाएर संसद बिघटन प्रधानमन्त्रीको महान् कदम भएको निष्कर्ष निकालेका छन् । यसलाई वामपन्थी विश्लेषकहरुले नेपाली कम्युनिस्ट आन्दोलनमा अर्को महान् गद्दारीको संज्ञा दिन थालेका छन् ।

तत्कालीन माओवादीको २०६२ असोजमा सम्पन्न चुनवाङ बैठकमा बादलले आफूले इतिहासमा गम्भीर गल्ती गरेको भन्दै आफू प्रचण्डमा बिलिन भएको घोषणा गरेका थिए । उनले आफ्नो एकमात्र ध्येय क्रान्ति भएको र क्रान्तिका पक्षमा जस्तासुकै भूमिका खेल्नसक्ने प्रण पनि गरेका थिए । बैठकमा बादलले आफू षड्यन्त्रकारी नभएको दलिल पेश गर्दै आफूलाई सफाइका लागि आग्रह गरेका थिए ।

चुनवाङ बैठकमा बादलले भनेका थिए, ‘कमरेडहरू, सायद म अलि भावनाको उत्कर्षमा आएँ । तर, मलाई लाग्छ, मैले सही गरिराखेको छु । कमरेडहरू, मेरो यति मात्रै कमजोरी छैन । म अझ बढी कमजोरी स्वीकार गर्न चाहन्छु । हामीले यो पार्टी निर्माण र क्रान्तिको सुरुआत गर्ने क्रममा एक-अर्काबीच वाचा गरेका थियौँ कि दुनियाँका सबै जल्लादले जतिसुकै आँधीबेहरी सृष्टि गरे पनि हाम्रो यो आत्मीयता र सम्बन्ध कहिल्यै टुट्ने छैन । हामी सिद्धिने छौँ तर हामी झुक्ने छैनौं, टुट्ने छैनौँ । हामीले गरेका वाचा पटक-पटक स्मरण पनि गरेका हौँ । तर, कमरेडहरू हुरी आयो, तुफान आयो र ती हुरीबतासले हामीमा दरार पैदा गर्‍यो । त्यो दरारबाट धेरै धमिरा पसे र आज हाम्रो पार्टी, सम्बन्धमा धमिरा लागेको जस्तो भयो । त्यो पूरा भत्किएको, ध्वस्त भएको त छैन तर धमिरा पस्यो त्यो दरारबाट । मलाई लाग्छ, त्यसमा मेरो मुख्य कमजोरी रह्यो । मैले कमरेड प्रचण्डलाई भन्ने गर्थें, म उचाइ होइन कमरेड, म शिखर होइन । म शिखर हुन चाहन्न र मेरो त्यो विशेषता पनि होइन । म त आधार हुँ कमरेड । म त एउटा जग हुँ । सायद त्यो उचाइलाई कायम राख्न जग मजबुत हुनुपथ्र्यो । जग मजबुत भएन भने उचाइको अर्थ रहँदैन । त्यो गल्र्यामगुर्लुम ट्वीन टावरजसरी ढल्छ । त्यो उचाइ धेरै भयो भने जग भासिन्छ । विडम्बना, हाम्रो सम्बन्धमा एउटा चिज धमिरा बनेर घुस्यो । त्यहाँ लिनप्याओ घुस्यो । हाम्रो सम्बन्ध अब होक्जा र लिनप्याओको भयो वा बनाइदिए । साँच्ची यो हो त ? होक्जा र लिनप्याओ को हो त ? इतिहासका तथ्यहरूले साबित गर्छन् । हामी होक्जा हौं ? लिनप्याओ हो त म ? मैले कमरेड अध्यक्षको सत्ता उल्ट्याउन खोजेकै हो त ? मैले इतिहासमा यसको जवाफ दिनुपर्छ ।’

तर, आज तिनै बादल प्रतिगमनको पक्षमा उभिएर समाजवादी क्रान्तिप्रति पिठ्यु फर्काएका छन् । नेकपाभित्र समाजवादी क्रान्तिको तयारीमा लाग्ने कि दलाल नोकरशाही पुँजीवादकै पक्षमा उभिने भन्ने बहस पेचिलो भन्दै जाँदा अन्ततः उनी दलाल पुँजीवादको पक्षमा उभिएपछि उनको बचेखुचेको शाख पनि सकिएको उनीनिकट नेताको तर्क छ । ‘संसद बिघटनलाई उहाँ प्रतिगमन हो भन्नसम्म सक्नुहुन्छ’ नेकपाका एक नेताको विश्लेषण छ, ‘बादल वैचारिक रुपले पूर्णतः स्खलित भइसकेका छन् । उनीबाट क्रान्तिको अपेक्षा गर्न सकिन्नँ ।’ के बादलले महान् गद्दारी गरेकै हुन् त ? यो त इतिहासले मूल्यांकन गर्नेछ ।

लोकपाटीबाट साभार