लघुकथा : ‘कोट’ !

फेरि मन्त्रीमण्डल पुनर्गठनको हल्ला धुँवासरि फैलियो । प्रधानमन्त्रीकै किचेन क्याविनेटबाट फोन आयो, ‘हेलो धूर्त कम्रेड ! कता हुनुहुन्छ ? अब बन्ने मन्त्रीमण्डलमा हजुरको नाम एक नम्बरमै छ । ल बधाई छ ।’

‘धन्यवाद कम्रेड । यहाँहरुकै सदासयता हो ।’  धूर्त ।

प्रधानमन्त्रीकै किचेन क्याविनेटबाट फोन आएपछि त पक्कै पनि मन्त्रीको पालो आयो, तैपनि एक नम्बरमै भनेपछि यस पटक त पक्का भो । खुशीले गद्गद भए, क. धूर्त ।

उनको मनमा कुरा खेल्न थाले । कतिखेर सपथ लिन आउनु भनेर फोन आउँछ, थाहै हुँदैन । तयारी अवस्थामा बस्नु पर्यो । आफ्ना पुराना कपडामा सररर मन डुलाए । कुनैमा पनि चित्त बुझेन । मन्त्रीले लाउने कपडा पो त गाँठे ! हुँदैन । हुँदैन । यस्ता पुरानाले हुँदैन । दुई र चार जोर नयाँ सिलाउनु पर्छ । उनले निधो गरे । आफ्ना सहयोगी (झोले) हरुसँग परामर्श गरे । नयाँ कपडा सिलाउने तय भयो ।

काठमाण्डौको प्रख्यात टेलरिङ्ग सेन्टरमा छिरे । उनका अगाडि पछाडि २/४ जना थिए । ती मध्येको एउटा अगाडि बढेर बोल्यो, ‘हेलो साहु जी ! उहाँ माननीय साँसद धूर्त । तपाईलाई थाह होला नि । मन्त्रीमण्डल पुनर्गठन हुँदैछ । उहाँ मन्त्री बन्ने पक्का छ । नयाँ दौरा, सुर्वाल र कोट सिलाउनु पर्ने, एकदम अर्जेन्ट ।’

साहु जीले कपडा देखाए । कपडाको छनौट पश्चात् साहु जीले हुनेवाला मन्त्री ज्यूको नापो लियो ।

तीस हजार पेश्की दिँदै भने, ‘भोलि साँझसम्म तयार हुनुपर्छ है ।’ साहुले स्वीकारोक्तीमा टाउको हल्लायो । उनीहरु निस्किए ।

धूर्त मन्त्री हुँदै छ रे भन्ने हल्ला जिल्लामा पनि फैलियो । टपर्टुइयाँ झोलेहरु काठमाण्डौ आए । स्वकिय सचिव को बन्ने, सचिवालयमा को को बस्ने ? मोटामोटी खाका बन्यो ।

उनी न्युज अपडेटमै छन् । कुनै न्युजले आजभोलि मन्त्रीमण्डल पुनर्गठन हुँदैछ । सम्पूर्ण तयारी पूरा भैसकेको छ, भन्छ । घरि अर्को न्युज आउँछ, शीर्षथ नेताबिच मनमुटाव, मन्त्री छनौटलाई लिएर । फेरि छलफल र सहमति हुँदैछ । यस्तै यस्तै समाचारले एक हप्ता खायो तर मन्त्रीमण्डल पुनर्गठन हुन सकेन ।

ठोस कुरा बुझ्न मन लाग्यो र फोन गर्यो, ‘हेलो कम्रेड, अभिवादन । के हुँदै छ ?’

‘अर्को गुटका नेताहरु आएर असन्तुष्टी पोखेपछि पुन: छलफल हुँदै छ । कम्रेड हजुरकोमा केही सिकायत छैन । ढुक्क बस्नुहोस् ।’ आश्वस्त पार्ने खाले जवाफ आयो ।

करिब दस दिनको रस्साकस्सी पछि मन्त्रीमण्डल पुनर्गठन त भयो तर क. धूर्तको नाम अटाएन । उनी विस्मित भए । उनी भन्दा झन् झोलेहरु दुखित भए । उनको कोट सिलाएर टेलरिङ्ग सेन्टरमा झुण्डयाएको झुण्याई छ । न हुनेवाला मन्त्री आए, न उनका सहयोगी नै । साहु जी कोट हेर्दै हुनेवाला मन्त्रीको अनुहार सम्झदै बस्यो ।

लघुकथा : ‘लालमोहर’ !

छविलाल खड्का
कोहलपुर