सल्यानदेखि नेपालगञ्जसम्म कब्जा गर्दाका क्षणहरु

(नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पुस्ताका नेता भनेर चिनिने खगुलाल गुरुङ अहिले १०३ बर्ष पुगे । २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ नेपाल कम्युनिष्ट पार्टी, प्युठानको स्थापना हुँदा २०१० साल मंसिरमा ७ जनामध्ये एक संस्थापक सदस्य र २०१५ सालको आम निर्वाचनमा ८३ नं क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार समेत रहेका थिए । उनले आफ्नो राजनीतिक जीवनमा भोगेका भोगाईहरुलाई समेटेर आफ्नो ‘राजनीति जीवन यात्रा’ लेखेका छन । जीवन यात्रालाई बिमल पोखरेलले सम्पादन तथा प्रस्तुति गरेका छन । उनको जीवन यात्रालाई हामीले प्रत्येक बुधबारका दिन क्रमशः प्रस्तुत गर्ने कोशिस गरेका छौं । – सम्पादक )

अब हामी २००३ सालतिर जाऔं । त्यतिबेला पद्मशमसेर श्री ३ थियो । यस गाउँका फटाहाले गाउँले किसानहरुलाई जालझेलमा गरी शोषण गरिरहेका थिए । गरिबहरुलाई थोरै ऋणको धेरै लेखेर घरबास उठाउने गर्दथे । त्यसैबेलामा मेरो दाजु भारतमा सुबेदार थिए । हामी दुई भाइले एउटा परोपकारी संगठन खोल्यौं । त्यसको नाम ‘परोउपकार’ भन्ने थियो । हामीले त्यो संगठनको कार्य सञ्चालन गर्दै आएका थियौं । त्यत्तिकैमा राणाको सरकारले हामीलाई पक्राउ गर्न थाल्यो । हामी पनि आत्तिने कुरा भयो । त्यसबेलामा प्यूठानमा आर्यमतको संगठनलाई छुट दिएको थियो । पर उपकारी संस्थालाई आर्यमतमा परिणत गरी फटाहा जाली शोषकहरुको विरोध गर्न थालियो । अनि हामीलाई यस गाउँका तालुकदार, साहु र शोषकहरुले कडारुपले हेर्न थाले । कुन फटाहाले कुन मुद्दा मिसाई मुद्दा दिंदा हामीलाई जेल हाल्ने गर्न सकिन्छ, त्यसै गर्न थाले । मैले पनि तिनी साहुशोषकसित प्रतिकार गर्न लागें । यस गाउँका शोषितपीडित समाजलाई कुरा बुझाउँदै, समय विताउँदै थिए ।

त्यत्तिकैमा सानै भए पनि मोहनविक्रमले हामीहरुसित बारम्बार सम्पर्क राखी राख्नुहुन्थ्यो । त्यसैबेला राणाविरोधी हलचल मच्चियो । देशव्यापी रुपमा राणााहरुको विरोध भइरहेको थियो । मोहनविक्रमले राणाको विरोधमा हामीलाई बताउनुभयो । प्यूठानमा पौष २४ गते अड्डामा आक्रमण गर्ने कार्यक्रम बनायौं । २३ गते अड्डामा हमला गर्ने भनेर हामी ३ भाइसमेतका ११ जना विहान ६ बजे ढाँडा पुगेका थियौं । बेलुकी दङ्गालीहरु आई अड्डा क्याप्चर गरेछन् । अनि पौष २६ गते हामी प्यूठानबाट सल्यान कब्जा गर्ने उद्देश्य बनाई हिंड्यौं । भिंगृ हुदै अगाडि बढेर २९ गते सल्यान कब्जा गरेका हौं । अनि त्यहाँको फौजमा मलाई एसिस्टेन्ट कप्तानको पद प्राप्त भएको हो । सल्यानबाट जाजरकोट पनि हामीले नै कब्जा गरेका हौं । फेरि नेपालगञ्ज कब्जा गर्नको लागि हामी सल्यानबाट मेरो नेतृत्वमा ६८ जवानको एक कम्पनी लगी फलावाङ तुलसीपुर बगाखर्कटा हुदै बिनौना भन्ने ठाउँमा गयौं । त्यहाँबाट अगाडि बढी सिक्टाघाट भन्ने ठाउँमा पुग्यौं । हाम्रो गाइडले नेपालगञ्जको नक्सा लिएर आयो । सबैतिरबाट जुटेका सैनिक अफिसरहरुको बैठक बस्यो । नेपालगञ्ज त्यहाँबाट करिब २ कोस टाढा पथ्र्याे ।

नेपालगन्जको अड्डा कुन समयमा कतातिरबाट हमला गर्ने भनी छलफल भयो । सर्वप्रथम मैले आफ्नो प्रस्ताव पेश गरें । माघको २७ गते थियो । विहान ठीक साढे ४ बजे या ५ बजेको समयमा हमला गर्नुपर्छ । किनभने त्यहाँको फौजहरुलाई दिसापिसावले अत्याएको हुन्छ, त्यसबेलामा हमला गरेमा सफल होइन्छ भन्ने प्रस्ताव पेश गरें । सबैले त्यसैलाई मानेर हमला गर्न जाने कुरा भयो । अनि साती साढे २ बजे फौज मार्च गर्दै हिंडेपछि ४ बजे नेपालगञ्जको नजिकै पुग्यौं । त्यहाँ भट्टवाला राणाहरुको घर र राजाको स्टापहरु रहेछन् । ती भट्टवाला राणाहरुलाई १२ एको सुरक्षा गार्ड दिएको रहेछ, जाँदाजाँदै त्यही सुरक्षा गार्डलाई कब्जा ग¥यौं । तिनीहरुबाट १२ थान थ्रीनट राइफल कब्जा ग¥यौं । राजाको चौकी रहेछ, त्यसलाई पनि ६ कमान्डर, राइफल र एक जवान सरकारले दिएको छ भन्ने रिपोर्ट पायौं । मैले नै १२ जना जवान लगी कब्जा गरें । अनि ती भट्टवाला राणाहरु हामी भएको ठाउँमा झण्डासमेत लिई शरण माग्दै आए । उनीहरुले भने, भो पीर नगर्नुस् हामीसमेत लाग्छौं । हामीहरुसँग भएको हतियार पनि दिन्छौं । तपाईहरुले खाना खाएर आरामसँग कब्जा गर्नुहुन्छ भन्ने सल्लाह दिए । २ खसी, ५ मुरी चामल, दाल, तरकारी सबै दिए । त्यहीं ९ बज्यो । आआफ्नो बटालियनले खाना खायौं । पश्चिमबाट महेन्द्रविक्रम शाहले रेलको स्टेसनबाट उही नेपालगञ्ज कब्जा गर्न भनी आयो । मैले पूर्वबाट गोश्वारा कब्जा गर्नको लागि मूल ढोकाबाट मेरो जवान खटाएँ । त्यसबेलामा त्यस गोश्वाराको मुख्य अधिकारी धुरुपसमसेर भन्ने थियो, त्यो भाग्यो । त्यहाँ फौजले झण्डा उठाए । नेपालगञ्जको मूल गेट, बाटो, गोश्वारा कब्जा गरियो । अनि अर्काे दिन महेन्द्रविक्रम साह, मुसीकोटको थियो, उसले हामीसँग यो मेरो जिम्मेवारीमा भएको गोश्वारा हो । मेरो फौज यहाँ रहनुपर्छ भन्ने दाबी लियो । हामीले कब्जा गरेको हामी नै रहनुपर्छ भन्ने हामी भयौं । त्यसै मौकामा दुईथरीको मुद्दा मिलाउन मात्रिकाप्रसाद कोइराला आए । एक लाख रुपैयाँ त्यहाँबाट लगी महेन्द्रविक्रमलाई त्यहाँ रहने आदेश दिए । त्यसबेलामा कृष्णनगरबाट गोपालसमसेरले पनि ६०, ६५ को फौज लिई त्यहाँ आयो । गोपालसमसेरलाई पनि ६०, ७० हजार कति दिए । त्यत्तिकैमा हामीलाई त्यहाँबाट फिर्ता जाने आदेश दिइयो । फिर्ता आउने फौजहरु प्यूठान, सल्यान, दाङ, कोइलाबासका फौजहरु थिए । त्यहाँबाट फिर्ता हुने फौजले रिसाएर राती ९ बजे फायर गर्दे फिर्ता भएका थिए । त्यसरी हामी नेपालगञ्जबाट फागुन २ गते राती १ बजे हिंडेका थियौं । त्यहाँबाट ५ गते बबई भन्ने ठाउँमा आयौं । ६ गते दाङघोराहीमा आयौं । दंगालीहरुले हामीलाई धेरैधेरै स्वागत गरे ।

अर्काे दिन भैरहवा जाने कार्यक्रम गरायौं । भैरहवामा डा. केआइ सिंहले कब्जा गर्न सकेका थिएनन् । त्यत्तिकैमा फागुन ७ गते बेलुकी ५ बजे क्रान्ति सिसफायर भयो । नेपालमा कसैले गोली चलाएमा उही जिम्मेवार होला भन्ने आदेश घोषणा विश्वेश्वर कोइरालाबाट भयो । तर भैरहवामा केआइ सिंहले आफ्नो क्रान्ति जारी नै राखे । वी.पी. कोइरालाले भारतीय सैनिक मगाई केआइ सिंहलाई त्यहाँबाट भगाई भैरहवा कब्जा गरेका हुन् । डा. केआइ सिंह भैरहवाबाट बडीघाट हुदै भुजीखोला हुदै घोरखोलाको छिनतुङ पुगे । भुजीखोलाका कामीहरुले केआइ सिंहलाई पक्रे । उनलाई वी.पी. कोइराला र मोहनसमसेरले जेलमा हाले । त्यसबेलामा राणाहरुले राजा त्रिभुवनलाई लघारेका थिए । राजा भारतीय विस्तारवादको शरणमा गएका थिए । दिल्लीमा राजा, राणा र कांग्रेसबीच त्रिपक्षीय सम्झौता भएपछि राजा नेपाल फर्के । राजा त्रिभुवनले ९ महिनाभित्र नेपालमा चुनाव गराउँछु भनेका थिए । तर निर्वाचन आयोगको नीतिनियम, कानुन बनाउदैछु भन्दै ९ वर्ष विताइदिए । चुनावका लागि आलटाल गर्न लागेकाले बुद्धिजीवी, समाजसेवीहरुले परिवर्तन हुनुपर्छ भन्दै देशमा संघर्ष चर्काउदै लगे । २०१५ सालमा बल्ल बहुदलीय संसद्को चुनाव हुने भयो । चुनावपछि नेपाली कांग्रेसका वीपी कोइराला बुहमतले प्रधानमन्त्री भए । त्यतिबेलाको चुनावमा हामी निम्नअनुसार चुनावमा उठेका थियौं । त्यसबेलामा प्यूठानमा ३ वटा निर्वाचन क्षेत्र थियो । ८३, ८४ र ८५ । नेपाली कांग्रेसका खडानन्द ८३, अनिरुद्र पौडेल ८४ र परशुराम ८५ थिए । कम्युनिस्ट पार्टीबाट श्यामबहादुर थापा ८३, खगुलाल गुरुङ ८४ र मोहनविक्रम सिंह ८५ बाट उठेका थियौं । त्यसबेलाको चुनावमा तालुकदारले किनेर दिएका रक्सी, भैंसी र खसीको भरमा कांग्रेसले जितेको थियो । कांग्रेसले दलाल, नोकरशाही काम गर्दै गयो । जनताको पक्षमा काम गरेन । त्यसैको फाइदा उठाउँदै राजा महेन्द्रले २०१७ साल पौष १ गते संसद् विघटन गरे भने बहुदलमाथि प्रतिबन्ध लगाए । यसरी प्रजातन्त्र सकियो । देशमा एकदलीय व्यवस्था आयो ।

केही अगाडिको कुरा गरौं । २००९ सालको बैशाखमा वीपी कोइरालाले दाङमा १ महिने राजनीतिक शिविर चलाएका थिए । त्यस शिविरमा प्यूठानबाट म, ओखरकोटका जगत जीसी, गेजवाङबाट श्यामबहादुर गोदार थापा, उदयपुरबाट भेषराजसमेतले त्यो शिविरमा भाग लिएका थियौं । हामीलाई राजनीति, अर्थनीति पढाउने कांग्रेसका सर्वमान्य गणेशमान सिंह, कृष्णप्रसाद, विनोद कुवर पनि थिए । त्यही सालमा दाङ भरतपुरको स्कुल वीपी र मैले सिलन्यास गरेका हौं । शिविरबाट फर्केपछि २००९ सालको मंसिर थियो, मोहनविक्रमसमेतका हामी २ भाइ भई यस जिल्लामा पनि प्रगतिशील शिविर खोल्ने निर्णय ग¥यौं । तुषाराको काबेर खोलाको बगरमा शिविर क्याम्प बनाउन थालेको बेलामा कांग्रेसका अनिरुद्र, हेमराजसमेतका कांग्रेसहरुले अड्डा रातामाटा झार्ने उद्देश्य लिएर खलंगा गौंडामा जुलुससहित माग गर्न गएको खबर पायौं । उनीहरुले त्यहाँ गई अनसन गरे । गंजसिंह, हेमराज, प्रेमबहादुर आदिले अनसन गरेछन् । त्यहाँबाट मोहनविक्रमलाई अनिरुद्रले अड्डा रातामाटा झार्नको लागि संघर्ष चलेको छ, सहयोग गर्नुस् भन्ने लेखेको पत्र आयो । अनि मोहनविक्रमले त्यस शिविरमा क्याम्प बनाउन जम्मा भएका साथीहरुलाई भन्नुभयो कि लौ साथी हो हामीले त्यो संघर्षको समर्थन गरी हामी पनि जुलुसमा जाऔं । अनि हामी खलंगा गयौं । जाँदाजाँदै छलफल चल्यो र मोहनविक्रमले पनि अनसनको प्रतीज्ञा गर्नुभयो । हामी माग पूरा गर भनी अनसन बस्यौं । त्यसबेलामा त्यहाँका बडा हाकिम प्रतिमान बोहरा थिए । मंसिरमै मालअड्डा छाडी अरु सबै रातामाटा झारियो । त्यसै साइत रातामाटामा प्रगतिशील शिविर ३ महिना चलाइएको थियो । त्यस शिविरमा फौजी तालिम दिने मेरो दाजु नन्दलाल र म थियौं । त्यसैबेला पौष १० गते हो, त्यहाँबाट बासखोला मुनि झिमरुकको तिरमा गई श्यामबहादुरसमेत ९/१० जना साथीहरुले नेपाल कम्युनिस्ट पार्टीको सदस्यताको लागि एप्लीकेसन दिएका हौं ।

(क्रमशः अर्काे अंकमा)
सम्पादन/प्रस्तुति : विमल पोखरेल