बाँके प्रहरीको ‘डग स्न्यापिङ’ अभियान शुरु (फोटो फिचरसहित)

बाँके प्रहरीले नजिकिदै गरेका चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत आजबाट बाँकेमा ‘डग स्न्यापिङ’ अभियानलाई पनि सुरुवात गरेको छ ।

नेपाल-भारत सिमाना जमुनाह नाकाबाट नेपाल भित्रीने यात्रुहरु र उनिहरुको सामानलाई कुकुरद्वारा सुँघाएर चेकजाँच गरेर उक्त अभियान सुरुवात गरिएको हो ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले चाडपर्वको समयमा सिमापारीबाट नेपाल भित्र्याइन सक्ने अबैध हातहतियार, विष्फोटक पदार्थ तथा लागू औषधहरुलाई लक्षित गरी सम्भावित अपराधलाई हुन नदिन कुकुरद्वारा सुँघाएर पत्ता लगाउनकालागि यो अभियान सुरु गरिएको बताए ।

प्रहरी उपरीक्षक रानाले सिमा नाकामा मात्र नभएर जिल्ला भित्र पर्ने राजमार्ग, बसपार्क तथा आवश्यक देखिएका स्थानहरुमा आकस्मिक रुपले ‘डग स्न्यापिङ’ अभियानद्वारा चेकजाँच गरिने जानकारी दिए ।

आज सिमा नाका जमुनाह, भन्सार कार्यालयमा रहेको होल्डिङ्ग सेन्टर तथा धम्बोझी चोकमा यात्रुहरुको सामान तथा सवारी साधनमा कुकुरद्वारा सुघाएर चेकजाँच गरिएको थियो ।

चेकजाँचमा नेपाल प्रहरीका ‘लव’ र ‘एलेक्स’ नामक दुई वटा कुकुरहरु खटिएका थिए ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले गत साता पत्रकार सम्मेलन मार्फत चाडपर्व बिशेष १४ बुँदे सुरक्षा योजना सार्वजनिक गरेका थिए सोही योजना अन्तर्गत आज जमुनाह नाकामा ‘डग स्न्यापिङ’ अभियानको सुरुवात गरिएको हो ।