यस्तो अवस्थामा छ नेपालको पहिलो रेल (तस्बिरसहित)

नेपालमा रेल भित्रिएपछि ऐतिहासिक महत्व बोकेको पुरानो रेलको चर्चा हुन थालेको छ । नयाँ रेल आइसकेपछि पुरानो रेल र त्यसबेलाका महत्वपूर्ण रेल्वेसम्बन्धी सामग्रीहरूको संरक्षणको कुरासमेत उठ्न थालेको छ ।

बेलायती र राणाकालीन समयको इतिहास बोकेको जनकपुर-जयनगर रेल्वेको संरक्षण हुनुपर्ने माग उठ्न थालेको छ । कोइला र डिजलले चल्ने न्यारोगेज रेलका इन्जिन र बोगीहरू संरक्षण हुन नसक्दा दिनानुदिन त्यसको महत्व घट्दै जान थालेको छ ।

नेपालकै लागि दुर्लभ रहेको कोइला इन्जिनहरू बेलायती सरकारको पालाको रहेको र यसले इतिहास बोकेकोले उक्त इन्जिनहरूलाई प्रदर्शनीमा राख्न सके प्रदेश २ मै इन्जन र पुराना बोगी हेर्नसमेत बहुसंख्यक पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ ।

यस्तो छ रेल्वेको इतिहास

नेपाल रेल्वेको इतिहास विक्रम सम्वत् १९९४ सालमा तत्कालीन बेलायती शासकले महोत्तरी जंगलबाट सालको गोलिया काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किलोमिटर सञ्चालनमा रहेको थियो ।

तर, २०५९ सालमा आएको बाढीबाट बिग्ही पुल क्षतिग्रस्त भएयता रेलसेवा जनकपुरदेखि जयनगर २९ किलोमिटरमा सीमित हुन पुगेको थियो । जनकपुर-जयनगरका लागि दैनिक तीन सेवा सञ्चालन हुने गरेको थियो ।

सुरुमा इन्धनको रूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेल विक्रम सम्वत् २०१८ सालदेखि यात्रु ओसारपसार कार्यको थालनी गरेको थियो ।

०२१ सालसम्म नेपाल यातायात संस्थानको एउटा शाखाको रूपमा थियो जनकपुर रेल्वे । ०५१ सालदेखि भारत सरकारको सहयोगमा १८ बोगीसहित चारवटा डिजेल पावर इन्जिन प्राप्त भएपछि आधुनिक रेलसेवा सञ्चालन भएको थियो । रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले ०२१ सालमा नेपाल यातायात संस्थान अन्तर्गत राखियो ।

०२५ सालमा सरकारले यसको नाम जनकपुर-जयनगर रेल्वे राख्यो । रेल्वेको पहिलो प्रबन्धकको रूपमा टेकजंग थापा नियुक्त भएका थिए ।

०५८ मंसिर मसान्तमा यातायात संस्थान विघटन भयो र ०६१ जेठ १८ गते रेल्वे सेवालाई नेपाल रेल कम्पनीको रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएपछि जनकपुर-जयनगर रेल्वे नेपाल रेल्वेको रूपमा हालसम्म चिनिएको छ ।

– नयाँपत्रिकाबाट