भेरी अस्पताललाई ९ सय ६० थान पिसिआर किट प्रदान

भेरी अस्पताल नेपालगन्जलाई बुधबार ९ सय ६० थान पिसिआर किट उपलब्ध गराइएको छ ।

बर्दियाका सबै ८ वटै स्थानीय तह, कमैया महिला जागरण समाज बर्दिया/केयर नेपाल र स्वास्थ्यका लागि सक्षम प्रणाली संस्थाबाट गरी बुधबार नेपालगन्जमा भेरी अस्पताललाई ९ सय ६० थान पिसिआर किट उपलब्ध गराइएको हो ।

बर्दियाका प्रत्येक स्थानीय तहबाट ४८ थानका दरले ३ सय ८४ थान, कमैया महिला जागरण समाज बर्दिया/केयर नेपालबाट ४ सय ८० थान र स्वास्थ्यका लागि सक्षम प्रणाली संस्थाबाट ९६ थान संकलित गरी कुल ९ सय ६० थान पिसिआर किट अस्पताललाई उपलब्ध गराइएको स्वास्थ्य कार्यालय बर्दियाका निमित्त प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले जानकारी दिए ।

स्वास्थ्य कार्यालय बर्दियाका निमित्त प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरी र कमैया महिला जागरण समाज बर्दिया/केयर नेपालका कार्यक्रम संयोजक मान बहादुर डाँगीले भेरी अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धिताललाई उक्त किट संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।

उक्त किट ग्रहण गर्दै भेरी अस्पतालका अध्यक्ष प्रमोद धितालले अहिले अस्पताललाई किटको अभाव भइ कोरोना परिक्षणमा कठिनाइ भइरहेको अवस्थामा उपलब्ध गराइएको किटले महत्त्वपूर्ण सहयोग पुगेको बताए । उनले किट प्रदान गरी सहयोगी भुमिका खेलेकोमा बर्दियाका सम्पुर्ण स्थानीय तह, स्वास्थ्य कार्यालय बर्दिया, कमैया महिला जागरण समाज बर्दिया/केयर नेपाल, स्वास्थ्यका लागि सक्षम प्रणाली संस्था र जिल्ला बिपद व्यवस्थापन केन्द्र बर्दियालाई आभार सहित धन्यवाद व्यक्त गरेका थिए ।

किट हस्तान्तरण कार्यक्रममा भेरी अस्पताल बिकास समितिका सदस्य धनराम वली, अस्पतालका कार्यवाहक मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुमन अर्याल, भेरी कोभिड १९ आइसोलेसन बिशेष अस्पतालका कोभिड संयोजक डाक्टर श्याम सुन्दर यादव लगायतको उपस्थिति रहेको थियो ।

कमैया महिला जागरण समाज बर्दिया/केयर नेपालले भेरी अस्पताललाई यसअघि १ हजार थान भिटिएम उपलब्ध गराइसकेको छ । साथै, स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले २ जना ल्याब टेक्निसियनलाई ३ महिनाका लागि अस्पतालमा खटाइएको समाजका कार्यक्रम संयोजक मान बहादुर डाँगीले जानकारी दिए ।