गम्भीर अवस्थाका संक्रमित बचाउँदै मेडिकल कलेज

फाईल तस्बिर

 

बिभिन्न रोगका कारण गम्भीर बिरामी भएका ब्यक्तिलाई कोरोनाले च्यापेमा के होला ? यसै भन्न सकिन्न । विश्वब्यापी रुपमै दैनिक हजारौंले कोरोनाकै कारण ज्यान गुमाईरहँदा बाँकेको नेपालगन्ज मेडिकल कलेज भने गम्भीर रोगबाट ग्रसीत कोरोना संक्रमितको उपचारलागी महत्वपूर्ण कोशेढुङ्गा सावित हुँदै गएको छ ।

नेपाल सरकारबाट कोरोना ३ लेभल अस्पतालका रुपमा मान्यता पाएको नेपालगन्ज मेडिकल कलेज कोहलपुरले कोभिड-१९ को महामारीमा विभिन्न सेवा सुविधा सहित अनवरत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

यस अवधिमा अस्पतालले नेपालगंज वडा नं. १, घम्बोजी बस्ने वर्ष ६५ की अमृता थापा, नेपालगंज १८ कारकाँदो बस्ने ४८ वर्षिय दुर्गा बहादुर कार्की र कैलालीको धनगढीमा घर भएका ४८ वर्षिय तिर्थ राज भट्को जटिल उपचार गर्न सफल भएको अस्पतालका सहायक निर्देशक नितेष कुमार कनोडियाले जनाएका छन । उनिहरु बिगतदेखी नै विभिन्न रोगबाट पिडित भइरहेकै अवस्थामा कोभिड-१९ को सिकार भएका थिए । अन्य रोगबाट गम्भीर बिरामी भएका तिनै जनालाई कोरोना संक्रमण भई पिन्यूमेनियाको समस्या देखिएपछि शिक्षण अस्तपाल कोहलपुरमा भर्ना भएका गरीएको थियो ।

उनिहरुको उपचारकालागि आवश्यक रेमडिसिभर उपलब्ध नहुँदा समेत अस्पताल व्यवस्थापनले बाहिरबाट मगाई तिनै जना बिरामीलाई २४ सै घण्टा चिकित्सक तथा स्वास्थ्यकर्मीको निगरानीमा आईसियु कक्षमा राखी उपचार गरीएको कनोडियाले बताएका छन । विशेषज्ञ डक्टर तथा स्वास्थ्यकर्मीहरुको अनवरत प्रयासपछि उनिहरुको सफल उपचार गरी डिस्चार्ज गर्न सफल भएको कनोडियाले शनिबार एक विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन ।

कोरोना लेभल ३ अस्पतालका रुपमा कन्सल्टेण्ट फिजिसियन डा. अनिल श्रेष्ठ, डा. श्याम विक र डा. प्रवेश पन्तको नेत्तृत्वमा कोहलपुर मेडिकल कलेजले विशेष प्रकारको सेवा दिईरहेको र आगामी दिनमा समेत प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न प्रतिवद्ध रहेको कनोडियाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।