कथा : वालुवाको तेल !

तालु सुकाउने गर्मी ! टाढाबाट हेर्दा सडकभरी पानी पोखिए जस्तै देखिने शहरको तातो सडकछेउबाट एउटी अधवैसे तर विक्षिप्त मानसिक अवस्था भएकि महिला काखमा बच्चा च्यापेर शुत्रे धोतिको एउटा छेउ भुँईमा लतार्दै कुन्नि के-के वर्वराउँदै आएर सडक छेउमा झुम्म परेको शमीको रुखमुनि सुस्ताउछे । सुकेनास लागेर हात छाला मात्र भएको त्यो बच्चाले कैयौं दिनकी भोकि आमाको निचोरे चोप नआउने छातीका लाम्टा चुसेर प्राण धानेको सहजै जान्न सकिन्थ्यो । केहिबेर सुस्ताएपछि नजिकैको धारामा पानीखाई महिनौ नकोरेका कपालका लट्टा सिमलेर पछाडी गुजुल्टो पारी हात, मुख, धोई, अञ्जुलिले बच्चालाई पानी खुवाई दिन्छे । यसो हेर्दा लाग्थ्यो मानौँ उनिहरुको आजको छाक टर्यो ।

दोपहर पछिका घाम अलि सेलाए । उसले बच्चा छातिमा च्यापेर फेरी पूर्ववत् पाईला अगाडि बढाई । वटुवाहरु उसलाई फर्कि फर्कि हेर्थे । तर ऊ भने वेपर्वाह हिडिरही उसैगरी वर्वराउँदै । शमीको रुखबाट अब ऊ धेरै टाढा पुगी र साँझको गोधूलीभित्र हराई । शहरभित्रको सडक छेउको एउटा यात्रु प्रतिक्षालय शहर न हो । अवेर गरि सुत्छ र सवेरै जर्याकजुरुक उठ्छ । प्रतिक्षालयमा एउटा बच्चा टहटह रोईरहेको आवाज सुनेर एक दुई गर्दै मान्छेको भीड जम्मा हुन थाल्छ । विस्तारै कालरात्रीको विदाई गर्दै बिहानीले घुम्टो उगाई । तबसम्म शहर भरि हल्ला चलिसकेको हुन्छ । प्रतिक्षालयमा एउटि महिला मृत अवस्थामा फेला परिन तर उसको काखे बच्चा भने जिउँदै छ रे ! केहिबेरमा प्रहरीको भ्यान आउँछ । मरेकी आमाको लाशको मूचूल्का उठाउँछ र पोष्टमार्टमकालागि लिएर जान्छ । साथमा बच्चा पनि, यो खबर जब सञ्चार माध्यमबाट प्रसारण भयो सबैतिर फैलियो । यसैक्रममा एक निसन्तान दम्पतिले पनि यो खबर सुने । बिहे गरेको २० वर्षसम्म एउटा पनि बच्चा नहुँदा निराश बनेका बलबिर थापाका दम्पती उक्त अनाथ बच्चालाई अभिभावकत्व दिन मन्जुर भए । जिल्ला प्रशासन कार्यालयको रोहवरमा उनिहरु बिच दोहोरो हस्ताक्षर पछि बच्चालाई अस्पताल पुर्याइयो । सात दिनको उपचारपछि बच्चा स्वस्थ भयो र नयाँ अभिभावकहरुले घर लिएर गए । अनाथबाट सनाथ बनेको बच्चाको नामाकरण गरियो । उसको नाम सिद्धार्थ राखियो । सिद्धार्थ अब सुखसाथ हुर्कन थाल्यो । दिन दिन ऊ ठुलो हुँदै गयो । अब ऊ पाँच वर्षको भयो । सिद्धार्थका बा-आमाले उसलाई विद्यालय पठाए पहिलोपल्ट । हरेक बच्चाहरु पहिलोपल्ट विदालय जाँदा रोएर हैरान गर्छन् तर सिद्धार्थ रोएन । कुन्नि किन हो, ऊ खुशीसाथ हाँस्दै गयो र फर्कंदा पनि हाँस्दै फर्केको थियो । मानौ रुनुपर्ने जति उसले विगतको कहालीलाग्दा दिनहरूमा रोईसकेको थियो ।

हरेक वर्षका वार्षिक परिक्षाहरुमा सिद्धार्थले प्रथम नतिजा प्राप्त गर्थ्यो । ऊ घरमा पनि खुब मिहिनेत गरेर पढ्थ्यो । फुर्सदको समयमा बुबा आमालाई काममा सघाउँथ्यो । विद्यालयमा गुरुहरूको बिच पनि प्रशंसा र उदाहरणको पात्र बनिसकेको थियो । सम्पूर्ण विद्यालय परिवार माझ ऊ परिचित मात्र नभई प्रिय पात्र बन्यो । सिद्धार्थले १४ वर्षको कलिलो उमेरमा एस.ई.ई. परिक्षामा ४.०० GPA ल्याएर अब्बल दर्जा प्राप्त गर्न सफल भयो । बाआमाको अनुहारमा चुहिन नसकेको खुशीको आँशु र पोख्न नसकेका मायाले भरिएका अनेकन् भावहरु प्रष्ट देखिन्थ्यो । समय बित्तै गयो । सिद्धार्थको कानुनमा स्नातकोत्तर पुरा भयो । अब उसका अगाडि दुईवटा बाटोहरु आए । पहिलो बाटो उसले अब सरकारी जागिर खान सक्थ्यो । तर त्यसका लागि उसँग पहुँचको कुनै माध्यम थिएन । दोश्रो बाटो, उसले आफ्नै प्राइभेट कानुनी सेवा खोल्नु पर्दथ्यो । उसले दोश्रो बाटो रोज्यो । सिद्धार्थको कानुनी सेवाले बिस्तारै गति लिन थाल्यो । ठुला-ठुला मुद्दाहरू ऊ कहाँ आईपुग्थे । अत्यन्त होशियारीका साथ उसले ती मुद्दाहरू किनारा लगाइदिन्थ्यो । जालझेल, शोषण र अत्याचारीहरूका मुद्दाहरू उसले फर्काईदिन्थ्यो ।

एकदिन ऊसँग एउटा आश्चर्यजनक मुद्दा आयो । पीडित व्यक्तिको नाम रमेश क्षत्रि थियो । वास्तवमा के भएछ भने रमेशकी अविवाहित अधवैशे दिदि गाउँकै बदमासहरूको सामूहिक बलात्कारमा परेकी थिइन् । सोहीकारण गर्भवती बनेकी उनी छोरो पाएपश्चात् लोकलाजले विक्षिप्त भएर एकदिन काखे बच्चा टिपेर घरबाट वेपत्ता भएकी थिईन । त्यपछि यता धेरै वर्षहरु बिते । भागेका बलात्कारिहरू अहिले गाउँ फर्केर निशंकोच घुमिरहेका छन् । तर ! रमेशलाई भने ती अपराधीहरुलाई कानुनी सजाय दिलाई छोड्ने भकभकि छ ।

वकिल सिद्धार्थ रमेशको अनुहार गढेर हेर्छ र आफुले सुनेको आफ्नो अतित सम्झन्छ । उसले सोच्छ, ‘रमेशकी दिदी भनिएकी ति विक्षिप्त महिला कतै मेरि आमा त थिइनन् ?’

परिवर्तन र जुङ्गाको लडाईं…..

कृतिका आचार्य
कोहलपुर, बाँके