बामदेव गौतमको नाम राष्ट्रिय सभामा मनोनितका लागि राष्ट्रपति कार्यालय पुग्यो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमको नाम राष्ट्रिय सभा सदस्यमा मनोनितका लागि राष्ट्रपति कार्यालय पुगेको छ । बुधबार राष्ट्रपति कार्यालय पुगेको नाम सम्भवतस् आज नै राष्ट्रपतिबाट मनोनित गरेको जानकारी राष्ट्रिय सभामा पठाइने छ ।

राष्ट्रपति कार्यालयले राष्ट्रिय सभामा मनोनित गरेको पत्र पठाएपछि मात्रै गौतमले सांसदको सपथ लिनेछन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित एक राष्ट्रिय सभा सदस्य पद गएको फागुनदेखि रिक्त रहँदै आएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय सभा सदस्यमा सिफारिस भएका गौतमको नाम हिजोमात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रपति कार्यालयमा पठाएको थियो ।

फागुनमा नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिए पनि कार्यान्वयन भएको थिएन । भदौ १८ गतेको बैठकमा प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने बताएका थिए ।

प्रधानमन्त्रीले निवर्तमान अर्थमन्त्री डा।युवराज खतिवडालाई पठाउने चाहना राखेका थिए । सांसद नभएका खतिवडाको ६ महिने पछिल्लो अर्थमन्त्री पद् भदौ २० गते सकिएको थियो । तर, मन्त्रीसरहको सेवा सुविधा पाउनेगरी ओलीले उनलाई आफ्नो प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरिसकेका छन् ।