बाँकेका १ सय ४५ प्रहरीलाई कोरोना संक्रमण

बाँके जिल्लामा हालसम्म १ सय ४५ जना नेपाल प्रहरीका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुरु देखिनै कोरोना संक्रमितहरुको व्यवस्थापन तथा सुरक्षामा अग्रपंक्तिमा रहेर खटिएका नेपाल प्रहरीका १ सय ४५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले बताए । संक्रमितहरु जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४४ जना र बाँकी मातहत इकाईका हुन ।

संक्रमित मध्ये ७५ जना प्रहरी कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएर काममा फर्किसकेका र ७० जनाको उपचार भइरहेको उनले जानकारी गराए । कसै कसैलाई लक्षण नदेखिएको र कसैलाई हल्का लक्षणसहित संक्रमित भएका हुन । उपचाररत सबै प्रहरी कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको एसपी रानाले जानकारी गराए ।

हालसम्म जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ५ सय ३६ पुगेको छ । जसमध्ये, ८ जनाको मृत्यु भइसकेको छ भने १ हजार ८८ जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी, ४ सय ४० जना सक्रिय संक्रमित उपचाररत रहेका छन ।