पत्रकारलाई आतंकित पार्ने उदय श्रेष्ठ विरुद्ध बाँके प्रशासनमा मुद्दा दर्ता

आफूलाई पत्रकार भन्दै सामाजिक सन्जाल फेसबुकमार्फत आमनागरिकलाई आतंकित बनाउनुुका साथै बाँकेका सक्रिय १८ जना पत्रकारलाई समेत गालीगलौज तथा अपशब्द बोल्दै मान मर्यादा र प्रतिष्ठामा आँच पुर्‍याउँदै आएका नेपालगन्जका उदय बहादुर सिंह श्रेष्ठ विरूद्ध बुधबार बाँकेका पत्रकारहरूले कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा एउटा मुद्दा दर्ता गराएका छन ।

अहिले विद्युत चोरीको आरोप खेपिरहेका नेपालगन्जका १० का उदयसिंह श्रेष्ठ विरूद्ध बाँके प्रशासन र प्रहरीमा गरी यो सहित ३ वटा मुद्दा दर्ता भैसकेका छन् ।

यसअघि नेपालगन्ज उपमहानगरपालिकाका एक वडाध्यक्षले आफनो मानाहानी गरेको भन्दै मुद्दा दायर गरेका थिए । त्यस अवस्थामा ९० दिन नेपालगन्ज छोडेर भागी हिडेका श्रेष्ठ पछिल्लो समय नेपाल पत्रकार महासंघको विरूद्ध खनिएका थिए । त्यसबखत महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारूले महासंघका तर्फबाट प्रशासनमा दर्ता गराएको मुद्दामा उनको अन्तिम सम्पर्क म्याद अब तीन दिनबाँकी रहेको बेला बुधबार फेरि उनकै विरूद्ध अर्को मुद्दा दर्ता भएको हो ।

उदय श्रेष्ठ नाम गरेका ती गैर पत्रकारलाई तत्काल सम्पर्कमा आउन प्रशासनले आग्रह गरेको छ । बाँके प्रशासनले उनलाई तत्काल पक्राउ गर्न पनि बाँके प्रहरीलाई निर्देशन दिएको छ । अहिले नेपालगन्ज छोडेर फरार रहेका उदय काठमाडौंमा भएको र उनलाई जतिसम्दो चाँडो पक्राउ गरिने बाँके प्रहरीले बताएको छ ।

प्रशासनले तोकेको समयअवधीमा उनी सम्पर्कमा नआई भागेको अवस्थामा उनलाई नियम अनुसार कानूनी कारवाही अघि बढ्ने प्रशासनले जनाएको छ । उनले उक्त समयमा प्रशासनको सम्पर्कमा नआए १ बर्षसम्म कैद तथा कानूनले तोकेअनुसारको जरिवाना हुने देखिएको छ ।

समाचार लेखेकै कारण पत्रकारलाई धम्काउँदै र गाली गलौज र अपशब्द प्रयोग गर्दै आएका उदयसिंह श्रेष्ठको आचारण खराब भएकै कारण् यसअघि नेपाल पत्रकार महासंघले साधारण सदस्यताबाटै निलम्बन गरेको थियो ।

विद्युत प्राधिकरणले विद्युत चोरेको अरोप लगाउँदे उनिद्वारा संचालित एक छापाखाना र उनको घरमा जोडिएको सिंचाइ मिटरको विद्युत लाइन् काटेपछि त्यस घटनाको यहाँका पत्रकारले समाचार संकलन तथा सम्प्रेषण गरेका थिए । त्यसकै कारण देखाउँदै उनले यहाँका पत्रकारलाई ५ कार्टुन सामान चोरीको झुटो आरोप समेत लगाउँदै गैरकानूनी रूपमा अबैध ढंगले फेसबुक लाइभ भन्दै बदनाम गर्दै आएका छन् ।

श्रेष्ठले कृषि सिंचाईका नाममा विद्युत जडान गरि घरमा अन्य व्यवसाय चलाईरहेको प्राधिकरण बताउँछ । नियमित जुन प्रयोजनका लागि विद्युत जडान गरिएको हो त्यसैमा प्रयोग गरिनुपर्ने प्राधिकरणको भनाई छ । कानूनत पत्रकारिताको नाममा फेसबुक लाइभ गर्न नपाईने जानकारहरू बताउँछन् । यसअघि उदयलाई प्रेस काउन्सिलले समेत कारवाही गरिसकेको छ ।

विद्युत प्राधिकरणले विद्यूत लाइन काटेको समाचार लेखेकै कारण उनले यहाँका १८ जना पत्रकारलाई नामै किटेर तथानाम गालीगलोजका साथै अपमान र अभद्र शब्द प्रयोग गर्दै आएका छन् । भदौ २४ गते नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण शाखाले नेपालगन्ज उपमहानगरपालिका वडा नंं। १० बिपीचोक नजिकै रहेको श्रेष्ठको घरमा छापा मारेको थियो ।

सो क्रममा कृषि सिंचाइ मिटर जडान गरी विद्युत चोरी गरेको फेला पारेको थियो । प्राधिकरणले सोही विषयमा तीनदिने म्याद सहित विद्युतमा उपस्थिती हुन पत्र काटेको छ । विद्युतले घरमा छापामारी कृषि मिटर र व्यवसायीक मिटरको दुरुपयोग गरेको पाइएको भन्दै विद्युत लाइन काटेर मिटरहरु आफ्नो नियन्त्रणमा लिएको थियो । औषत मासिक १०६९ यूनिट खपत देखिएको र कृषि कार्यमा उक्त मिटर प्रयोग गरेको नपाइएकोले कृषि मिटरको दुरुपयोग गरेको प्राधिकरणको ठहर थियो ।

सोही सम्बन्धी समाचार प्रकाशन गरेको भन्दै बाँकेका १८ जना पत्रकार बिरुद्ध श्रेष्ठले समाजिक सन्जाल र फेसबुक लाइभमा चोरको आरोप लगाउने, पत्रकारलाई धम्क्याउने, अनेक मुद्दा लगाउँछु भन्दै त्रसित बनाउने कार्य गर्दै आएका छन् । श्रेष्ठको उक्त कार्यको बाँकेका पत्रकारहरुले घोर बिरोध एवं निन्दा गरेका छन् ।

समाचार लेखेकै आधारमा धम्क्याउने, बिभिन्न खाले आरोप लगाउने, मनोवल गिराउन खोज्ने खालका गतिविधि तत्काल रोक्न पत्रकारले माग गरेका छन् । समाचार सम्प्रेषणकै कारण धम्क्याउने निज श्रेष्ठलाई कानूनको दायरामा ल्याउन स्थानीय प्रशासन र प्रहरी समक्ष जोडदार माग गरिएको छ ।

सामाजिक सन्जालमा पत्रकारहरुको मानमर्दन गर्ने, नामै किटेर चोरीको आरोप लगाउने व्यक्ति बिरुद्ध कानूनी उपचार खोजिएको छ । समाचार संकलनका क्रममा हामी पुगेका पत्रकारहरुले आफ्नो आचारसंहितामै रहेर समाचार संकलन तथा सम्प्रेषण गरेको जनाउँदै यस्ता भ्रमपूर्ण खबरको कुनै सत्यता नरहेकाले भ्रममा नपर्न सम्पुर्ण जनसमुदायमा आग्रह गरिएको छ ।