नेपालगन्जका पत्रकारहरुद्वारा बिद्युत चोरीको आरोप लागेका श्रेष्ठ बिरुद्ध कानुनी उपचार खोज्दै

विद्युत चोरीको आरोप खेपिरहेका नेपालगन्ज वडा नंं. १० का उदयबहादुर सिंह श्रेष्ठले बाँकेका १८ जना पत्रकारलाई समाचार सम्प्रेषण गरेकै कारण धम्काएका छन् । भदौ २४ गते नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण शाखाले नेपालगन्ज उपमहानगरपालिका वडा नंं. १० बिपीचोक नजिकै रहेको श्रेष्ठको घरमा छापा मारेको थियो । सो क्रममा कृषि मिटर जडान गरी विद्युत चोरी गरेको फेला पारेको थियो । प्राधिकरणले सोही विषयमा तीनदिने म्याद सहित विद्युतमा उपस्थिती हुन पत्र काटेको छ ।

विद्युतले घरमा छापामारी कृषि मिटर र व्यवसायीक मिटरको दुरुपयोग गरेको पाइएको भन्दै विद्युत लाइन काटेर मिटरहरु आफ्नो नियन्त्रणमा लिएको थियो । औषत मासिक खपत १०६९ यूनिट खपत देखिएको र कृषि कार्यमा उक्त मिटर प्रयोग गरेको नपाइएकोले कृषि मिटरको दुरुपयोग गरेको प्राधिकरणको ठहर थियो ।

सोही सम्बन्धी समाचार प्रकाशन गरेको भन्दै बाँकेका १८ जना पत्रकार बिरुद्ध श्रेष्ठले समाजिक सन्जाल र फेसबुक लाइभमा चोरको आरोप लगाउने, पत्रकारलाई धम्क्याउने, अनेक मुद्दा लगाउँछु भन्दै त्रसित बनाउने कार्य गर्दै आएका छन् । श्रेष्ठको उक्त कार्यको बाँकेका पत्रकारहरुले घोर बिरोध एवं निन्दा गरेका छन् ।

समाचार लेखेकै आधारमा धम्क्याउने, बिभिन्न खाले आरोप लगाउने, मनोवल गिराउन खोज्ने खालका गतिविधि तत्काल रोक्न पत्रकारले माग गरेका छन् । समाचार सम्प्रेषणकै कारण धम्क्याउने निज श्रेष्ठलाई कानूनको दायरामा ल्याउन स्थानीय प्रशासन र प्रहरी समक्ष जोडदार माग गरिएको छ ।

सामाजिक सन्जालमा पत्रकारहरुको मानमर्दन गर्ने, नामै किटेर चोरीको आरोप लगाउने व्यक्ति बिरुद्ध कानूनी उपचार खोज्ने जानकारी पत्रकारहरुले दिएका छन् ।

समाचार संकलनका क्रममा हामी पुगेका पत्रकारहरुले आफ्नो आचारसंहितामै रहेर समाचार संकलन तथा सम्प्रेषण गरेको जनाउँदै यस्ता भ्रमपूर्ण खबरको कुनै सत्यता नरहेकाले भ्रममा नपर्न सम्पुर्ण जनसमुदायमा आग्रह गरिएको छ ।

बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रले श्रेष्ठको नाममा जारी गरेको तीनदिने पत्र ।