योशिहिदे सुगा : जापानको नयाँ प्रधानमन्त्री

जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले निवर्तमान प्रधानमन्त्री सिन्जो आबेको स्थानमा योशिहिदे सुगालाई नयाँ प्रधानमन्त्रीको रुपमा चयन गरेको छ ।

सुगाले सत्तारुढ दलका सांसद र क्षेत्रीय प्रतिनिधि गरी जम्मा ५३४ मतमध्ये ३७७ मत आफ्नो पक्षमा पारेका थिए । जसअनुसार यदी अन्य चमत्कार नभएमा यही बुधबार संसदमा सुगा औपचारिक रुपमा प्रधानमन्त्री बन्ने छन् ।

७१ वर्षीय सुगाले आफ्नो कार्यकालमा आबेका नीतिलाई निरन्तरता दिने बताएका छन् । साथै उनले पार्टीले आफूलाई चयन गरेकोमा धन्यवाद दिए । ‘कोरोनाभाइरसको यो राष्ट्रिय संकटमा हामीले राजनीतिक रिक्तता वहन गर्न सक्दैनौँ,’ सुगाले भने ।

साथै यो संकटबाट मुक्ति पाउन र जापानी जनतालाई राहत दिन आबेका नीतिलाई लागु गर्नुपर्ने उनको भनाइ छ । यसअघि पनि सुगाले प्रधानमन्त्रीको पदका लागि दावेदारी दिएका थिए । यस पटक सुगासँग पूर्व रक्षामन्त्री शिगेरु इशिबा र एलडिपी नीति प्रमुख फुमियो किशिदा प्रतिष्पर्धीको रुपमा थिए ।

आबेले आफ्नो ८ वर्षको कार्यकालमा सुगाको सम्पूर्ण साथ र समर्थन पाएका थिए । यस्तै आबेले यस पटक सुगालाई पूर्ण रुपमा समर्थन गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै सुगासँग राष्ट्र र जनताको लागि कडा मेहनत गर्ने क्षमता भएको बताए ।