लघुकथा : ‘जिरो कि.मि. चौराहा’ !

सविन र सीमाको पहिलो पटक भेट बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा भएको थियो । सीमा ब्याचलर पढ्न भनी भर्खरै क्याम्पसमा पाइला टेकेकी थिइन् भने सविन ब्याचलर थर्ड एअरमा थियो । उनीहरुबिच देखादेख भयो तर बोलचाल भने भएन । सीमालाई देखेर सविन ऊप्रति नजानिंदो ढङ्गले आकर्षित भयो । नचिनेका केटाहरुको भीडमा पनि सीमाले सविनलाई मार्क गरेकी हुन्छे । एक कान दुई कान मैदान भने झै दुवैबिच परिचय हुन्छ र हाई हेलो बढ्दै जान्छ । पाँच-छ महिनाकै समयमा उनीहरुबिचको घनिष्टताले उचाइ लिन्छ ।

सविन विद्युत रोडतिर बस्छ भने सीमा वनखेततिर बस्छे । उनीहरु एक अर्कालाई भेट्ने समय विहान पाँच बजे र स्थान कोहलपुर चौराहा तय गरेका हुन्छन् । उनीहरुले ‘जिरो कि.मि. चौराहा’ सन्देश एस.एम.एस. गर्थे अनि दुवै कोठाबाट निस्कन्थे । चौराहामा भेटेर गफिन्थे । एक घण्टाको समयमा एक अर्कामा समर्पित हुन्थे । दुवैलाई एक घण्टा एक पल झै छोटो लाग्थ्यो तैपनि मन नमान्दा नमान्दै पनि छुट्टिनु पर्थ्यो र छुट्टिन्थे । छुट्टिएपछि आँखाले भ्याउञ्जेल एक अर्कालाई फर्केर हेर्दै हिड्दै गर्थे । आकृति ओझेल परेपछि बल्ल आफ्ना कदम अगाडि बढाउँथे । यसरी नै उनीहरुको दिनचर्या बितिरहेका थिए । उनीहरु एक अर्कामा यत्ति नजिक भएका थिए कि शारीरिक सम्पर्क मात्र बाँकी थियो ।

एस.एम.एस. र च्याटिङ्गले मात्र चित्त बुझ्दैन्थ्यो र दैनिकै जसो चौराहामा भेट गर्थे ।

दशैं विदाका कारण क्याम्पस छुट्टी भयो । दुवैलाई नमजा लाग्दा लाग्दै पनि बाध्य भएर आ-आफ्ना घरतिर लागे । घरमा सविनले आफूले एउटा केटी मन पराएको कुरा आमासँग भन्यो । सीमाले पनि लजाउँदै लजाउँदै आमालाई एउटा केटा मन परेको कुरा खुलासा गरेकी थिई । दुवैको परिवार सकारात्मक रहेकोले एक आपसमा सन्देश आदान प्रदान गरेका थिए । घर परिवार भने केटा र केटीको पारिवारिक पृष्ठभूमि बुझ्न आफन्तलाई दूत बनाएर खटाएका थिए ।

यता दशैं-तिहारको छुट्टी सकेकोले दुवै हत्तारमा क्याम्पस आएका थिए । छुट्टी पछिको भेट झन आत्मिय भएको महशुस गरे दुवैले किन भने निकट भविष्यमै वैवाहिक बन्धनमा बाँधिने पक्का थियो । करिब एक महिना पछि सविनलाई घरबाट फोन आयो, ‘सीमासँग विवाह हुन नसक्ने, किनभने ऊ तेह्र दिने सन्तान भित्रकी भएकोले हाडनाता लाग्छ ।’ सविन छाङ्गाबाट खसे झै भयो । केही सोच्न, सम्झन सकेन । सीमाकी आमाले पनि फोन गरेर भनिन्, ‘झण्डै त बर्वाद भएको रहेछ । सविन त आफ्नै सन्तानको तिम्रो दाई पर्ने रहेछ । अन्जानमा भएको गल्ति त भगवानले पनि माफी दिन्छन् तर अब गल्ति गरेमा भगवानले समेत क्षमा नगर्ने चेतावनी दिइन ।’ सीमालाई आकाश खसेर थिचे जस्तो उकुसमुकुस भयो । यो कुरा एकले अर्कालाई शेयर गर्न सकेनन् । संयोग पनि कस्तो दुबैको घरबाट एकै दिन खबर आएको थियो । दुवै रातभरी सुत्न सकेनन् भने म्यासेज शेयर गर्न पनि सकेनन् । बिहान पाँच बजे दुवैले म्यासेज लेखे, ‘जिरो कि.मि. चौराहा’ अनि आफ्ना पाइला चाले तर त्यो सधैंको बाटो निकै लामो लाग्यो । दुवै चौराहा पुगे भाव विह्वल अवस्थामा । एक आपसमा अंगालो हाले निकै बेरसम्म रोए । कसैको बोली फुटेन । धेरै समय पश्चात् सविनले साहस बटुलेर मुख खोल्यो, ‘सँगै भएर बाँच्न समाजले दिएन । छुट्टिएर बाँच्नुको कुनै अर्थ छैन । म त मर्छु ।’ सीमाले पनि सहमति जनाई । संयोग दुवैले मेटासिट ल्याएर आएका रहेछन् । आफूले ल्याएको विष एकले अर्कालाई पिलाए । दुवैले विष पिएर अंगालो हाले । निकै बेर छट्पटिए तर पनि अंगालो छुटेन । जिरो कि.मि. चौराहामा दुवैले देह त्याग गरे । एउटा प्रेमको अन्त्य भयो ।

लघुकथा : ‘समीकोे रुख’ !

छविलाल खड्का
कोहलपुर