प्रदेश सांसद गौतमद्वारा पक्की पुलको शिलान्यास

बाँकेको जानकी गाउँपालिकाको वडा नं. १ को शिवपुरी र बढैया गाउँलाई जोड्ने दोन्द्रा नालामा पक्की पुल निर्माण कार्यको आइतबार शुभारम्भ भएको छ ।

प्रदेश सांसद बाबुराम गौतमले सो पुलको शिलान्यास गरेका छन ।

प्रदेश ५ सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको पुल निर्माण नहुँदा शिवपुरीका नागरिक वर्षायाममा नेपालगन्ज र जानकी गाउँपालिकाका अन्य गाउँमा आवतजावत गर्नका लागि ठूला नाला वारपार गर्न हम्मेहम्मे पर्ने गरेको थियो । यसबाट नागरिकलाई सहज हुने भएको छ ।

पुलको शिलान्यास गर्दै सांसद गौतमले प्रदेश सरकारले स्थानीय नागरिकको जुन स्थानमा समस्या हुन्छ सोही स्थानमा तत्काल समस्या समाधान गर्ने गरेको बताउँदै निर्माण कम्पनीले गुणस्तरसहित समयसिमा भित्रै कार्य सम्पन्न गर्न निर्देशन दिए ।

सांसद गौतमले स्थानीय तहको बजेटले गर्न नसकिने निर्माण, सडक, पुल, विद्यालय भवन र खानेपानी जस्ता अत्यावसकीय सेवा सदैव प्रदेश सरकार जनताको काम गर्न अग्रसर रहेको बताए ।

पुल निर्माणका लागि प्रदेश सरकारको आर्थिक सहयोग ४ करोड ४७ लाख २८ हजार ८३७ रुपैयाँमा निर्माण हुन लागेको पुल २०७८ असार मसान्त सम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने छ । बोलकबोलमा डाइनामिक, नारायणम र पी एस निर्माण कम्पनीले संयुक्त रुपमा पुल निर्माणको जिम्मेवारी पाएका छन् ।

शुभारम्भ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भुमिसरा धितालले जनताका लागि यो अति आवश्यक थियो यसले आवत जावतमा मात्रै हैन विकाससँग शिवपुरी वस्तीलाई जोड्ने काम गरेको बताइन । कार्यक्रममा नेकपाका अगुवा नेता तथा समाजसेवी इन्द्र थापाले पुलविना शिवपुरीवासीले भोग्दै आएका समस्या यो निर्माण पश्चात समाधान हुने बताए ।

कार्यक्रममा प्रदेश नं. ५ सरकारको सडक पूर्वाधार विकास कार्यलयको प्रमुख गोविन्द महतरा, नेकपा जानकी गाउँपालिका अध्यक्ष पदम धिताल, वड नं. १ का अध्यक्ष मोहमद रज्जा राई लगाएको उपस्थिती रहेको थियो ।