कथा : अनुत्तरित प्रश्न !

उनी मलाई म्यासेज पठाइरहन्छिन् । भरिन लागेको घाउमा मलम लागाउन हो वा त्यही घाउमा नुन छर्कन त्यो त थाहा भएन । मस्तिष्क भने उनले पठाएको म्यासेज हेर्दाहेर्दै प्रेम उदिन्नमा नै व्यस्त छ । नामबाट नै यो दिलभित्र पसेको करिव तीन वर्ष पुग्दै थियो । कक्षा ११ को प्रवेश परीक्षाको नतिजा प्रकाशन भएको थियो । सागर बि.सी. ५ नम्बरमा थियो । ६ नम्बरकी केटीको नाम थियो सबिता बुढा । बेलुका तिर कोठामा आए । पास भएको खुसी त थियो नै त्योभन्दा बढी मनमा खेलिरहेको नाम थियो, सबिता बूढा ।

को होलिन् सबिता बूढा ? कहाँ बस्छिन् उनी ? कुन ठाउँ हो उनको स्थायी बसोबास ? किन यतिका चासो बढिरहेको होला मनमा ? यस्तै यस्तै कुराहरु मनमा खेलिरहेका थिए । प्रश्नै प्रश्नहरुको सङ्गालोले भरिएको यो मन उत्तरको खोजिमा थियो । कलेज गएको एक महिना पुग्न लाग्दा नि चिनेको थिएन उनलाई । तर मनले भने एउटी केटी माथि सधैं आँखा लागाइरह्न्थ्यो । तर न त उनको नाम थाहा थियो न त बोलचाल नै भाको थियो । पातलो शरीर, सिल्की कपाल, ठुलो फ्रेम वाला चस्मा अनि स्कुलको ड्रेस लागाउँदा अति सुन्दर देखिने ती केटी नै मेरो रोजाइमा परेकी थिइन् । सोध्न मन थियो नाम र गाम पनि । तर कसलाई सोध्नु ? किन सोधिस भने कुनै उत्तर थिएन । साथीहरुसँग सोधिहाल्यौं भने पनि अनवशयक हल्ला मच्चायर बेइज्जत गर्लान् भन्ने । डरै डरले कसैसँग भनेको थिइन ।

शुक्रबारको दिन अन्तिम विषयमा गुड फ्राइडे मनाउने कार्यक्रम थियो । मैले पहिले नै चस्मावाली कै नाममा रचना गरेर राखेको त्यो मुक्तक कक्षाभित्र सुनाए । सबैले वहाँ ! वहाँ ! भन्दै ताली बजाउन थाले तर मन भने डराइरहेको थियो । म पनि कस्तो आफ्नो रचना वाचन गर्दा नि डराउने, झन खुलस्त वाचन गर्ने ठाउँमा बेकारमा डराईएछ छ्या ! मनले यस्तै भनिरहेको थियो । आइतबार स्कुलको चमेना गृहमा चिया पिउन मसँगै भुवन नि गएको थियो । भुवन मेरो मिल्ने साथी । मैले राम्रोसँग चिनेको अनुहार यति एउटा मात्रै थियो । केही कुरा हुन्थ्यो भने उसै सित हुन्थ्यो ।

हामी क्याम्पसको क्यान्टिनमा थियौं । चिया पिउन पिउन पुगेका थियौं त्यहाँ । टेबलको एक साइड हामी बसिरहेका थियौं, त्यहीँ नजिकै चस्मा वाली साथमा अर्की एकजना केटी आए । मनले राम्रो मानेकी अनी मेरै नजिक आउँदा कस्तो कस्तो भयो । हामी बसेको टेबलमै आएर बसे । मलाई लाज लागयो । लाजले उनलाई हेर्न सकेको थिएन । उनले सिधै ‘हेलो मुक्तकारज्यु ! मुक्तक त गजब रचिदो रहेछ नि ?’ भन्दै प्रश्न गरिन् । यो प्रश्नले शरीर कापिरहेको थियो । मानौं छ रेक्टरको भुकम्प आएको छ । अस्ति वाचन गरेको मुक्तक मेरै बारेमा हो भन्ने थाहा पाएर यस्तो भन्दै छिन जस्तो लाग्यो । हात खुट्टा पनि चिसा भए । ‘अ, अलि अलि रचिन्छ । कहिलेकाही शब्दहरु मनभित्र बहकिएपछि अनि लेख्ने कलम बगेपछि’ भनेर उत्तर दिएँ । ‘तपाईं साच्चिकै साहित्यकार हुने मान्छे हो । तपाइँले प्रवाह गर्ने हरेक वाणीहरुमा म साहित्य देख्छु सागरजी गो अहेड’ उनले भनिन् ।

म सहज हुदै थिएँ । मन हलुका भएको थियो । शंका, डर, चिसो शरीर हटेर सबै न्यानोपनको अभाष भैरहेको थियो । ‘यस्तो कुरा गर्ने मान्छेको नाम चाहीँ के नि ?’ मैले प्रश्न गरें । मलाई उनी पहिलेदेखि नै मन पथ्र्यो तर नाम नै थाहा थिएन । ‘सबिता बुढा टप टेन बिद्यार्थी हुँ’ उनले भनिन् । सबिता नाम सुन्नेबितिकै म खुसीले अनियंन्त्रित भएँ, किनभने मेरा प्रश्नहरूले उत्तर पाइसकेका थिए । जुन प्रश्नहरु नतिजा प्रकाशन भएदेखि मनभित्र गुम्सिरहेका थिए । यिनै यस्तै कुराहरू गर्दागर्दै एक पिरिएड गैसकेको थियो । ‘जाऊँ अब कक्षामा, भोलि कुरा गरौंला’ भन्दै कक्षाभित्र गयौं । अर्को शुक्रबार गुड फ्राइडेको दिन, उनले नि मुक्तक वाचन गरिन् । उनको मुक्तक त्यही चिया गफको प्रसङ्गमा रहेछ । ल गजब छ है भन्दै मैले लाइकको थम्ब ईशारा गरे । अनि उनी पनि मुस्कुराउँदै वाचन गर्न थालिन् ।

चिया गफबाट एक अर्कामा परिचित हामी धेरै नजिक भएका थियौ । दिनहुँ कुरा हुन थाले । नजिकिन थाल्यौं । मलाई त झन प्रेम मै परेको जस्तो महसुस भैरहेको थियो । कक्षाभित्र पढाइभन्दा उनले गर्ने हरेक क्रियाकलापमा बढी ध्यान जान्थ्यो । गृहकार्य गर्दा, नोटबुक पनि साटासाट गर्थ्यौं । म भने नोट्बुक बनाउने प्रति त्यति आस्था राख्थेन । उनी नै मेरा नोट्बुक तयार पार्थिन् । यस्तो सहयोगी भावना भएकी केटी पाउनु पनि सौभाग्य नै हो जस्तो लाग्थ्यो । फोन, फेसबुकमा दिनहुँ च्याट हुन थाले । अनि सबै कुराहरू सेयर हुन थाले । यती नजिक भएर कुरा हुँदा पनि मनमा भने एउटा भ्रम भने बाँकी नै थियो । उनी मलाई मन पराउँछिन् या पराउदिनन् ?

एकदिन आफैंले प्रस्ताव राख्ने सोच बनाए तर आँटै आएन । यदि राखिहाले पनि कतै अस्विकार गरिन् भने हाम्रो यो साथित्व अनि नजिकपन कतै गुम्ने त होइन भन्ने शंकालु तरंगहरुले मनलाई तरंगित बनाइरहेको थियो । त्यसैले केही भनिन, हाम्रो सम्बन्ध यस्तै नै कायम रह्यो करिब २ वर्षसम्म । हामी एक अर्कोमा एकदमै नजिक भयौ ताकी एक दिन बेखबर भयो भने नरमाइलो लागिहाल्ने । उनी बिना म बाँच्नै नसक्ने भैसकेको थिएँ । जतिखेर पनि जहाँ गए पनि उनीसँगैै भएजस्तो महशुस हुन्थ्यो । पढ्न भनेर बस्दा नि प्रत्येक अक्षरहरुमा उनकै नाम देख्थे । किताब भित्रका चित्रहरु सबै उनकै जस्ता लाग्थे । अनि लेख्न बस्दा प्रत्येक शब्दहरु उनकै नाम जस्तो लाग्थ्यो । यति माया गर्ने म उनको तस्बिर अनि नाम यो छातीमा सबैले देख्ने गरी टासेर हिडौं जस्तो पनि लाग्थ्यो । तर यी सबै काल्पनिक र बेकामका सोच मात्र थिए । अब त अति भो । कति भरमा नै पर्ने हो । अनि काल्पनिक जीवनमा डुबेर कति मन खेलाउनु । अब त प्रस्ताव राख्नै पर्छ भनेर मनभित्र उर्जा आइरहेको थियो ।

म पनि उस्तै हुँ । दुई वर्ष हुदा पनि प्रेम प्रस्ताव नराख्ने । तर यो पटक चाहीँ अवश्य राख्नैपर्छ भनेर फोनबाट नै उनलाई भन्दिए । ‘सबिता म साँच्चै नै तिमीलाई मन पराउँछु, कहिले देखि भनौ ?’ भन्दै के थिए, ‘सरि सागर म त तिमीलाई अहिले नै भन्न सक्दिन कुनै दिन यसको उत्तर भनौंला’ भन्दै फोन राखिन् । म भने त्यो प्रतिक्रियाको पर्खाइमा नै बसिरहे । तर दुई तीन महिना भैसक्यो अझैपनि निर्णय आएन । बिचमा फोन च्याट केही भएन । पहिलेको जस्तो कुरा गर्ने मन पनि गर्थिनन् । म पनि बेखबर भए, तर मनले भने उनलाई नै खोजिरह्न्थ्यो । विगत सम्झिदा मन भक्कानिएर आउथ्यो । दुई तीन वर्ष त्यसकै पछिपछि लागियो । बेकारमा यहि परिणाम देख्नको लागि भन्ने लाग्यो । मनभित्र ठूलो चोट लागिसकेको थियो । विगतका सबै कुरा भुल्नु वाहेक केही विकल्प रहेन । चोट लागेको घाउमा मलम गर्नेको खाँचो थियो ।

पुरानो कथा नसकिदै जीवनमा पाँच महिनापछि अर्को पात्रको प्रस्ताव आयो । स्वीकार गरें । खुबै मन पर्थिन् उनी पनि । एक दिन दुबैसँगै बसेर भविष्यका योजना बनाउँदै थियौ मोबाइलमा म्यासेजको घण्टी बज्यो । हेरिन्, जो भएपनि अहिले हेर्दिन बेलुका हेर्छु भन्दै मोबाइल पकेटमा राखें । हामी भने निरन्तर गफमा थियौं । साँझपख फेरि म्यासेज आयो । हेरे । नयाँ नम्बर रैछ । पढें । लेखिएको थियो ‘सरी सागर जवाफ दिन ढिला गरे । म सविता ! म पनि तिमीलाई मन पराउँछु आइ लभ टू यु सो मच । तिम्रो जवाफ लेखेर देऊ है’ यही लेखिएको थियो । अब म के गर्ने दोधारमा छु यतिखेर म के जवाफ दिऊँ सवितालाई ? के भन्ने ? अनि यता नयाँ पात्रलाई के भन्नु ? नाजवाफ छु म । जवाफ के दिऊँ ? जिम्मा तपाईं पाठक वर्गमा ।

 

कपिल कुमार बोगटी
ठाटिकाध २, दैलेख
हालः सुर्खेत क्याम्पस शिक्षा
स्नातक तह तेस्रो वर्ष