कोरोना कहर, शिक्षक र समाजिक मनोविज्ञान

सन २०२० को आगमन संगै चिनबाट शुरु भई विश्वलाई तहसनहस पारेको कोभिड-१९ ले विश्वलाई नै बन्दी बनाएको अवस्था छ । आज ८ महिना पछी समेत कुनै निश्चितता छैन । विश्वका सबैजसो देशले बन्दाबन्दीलाई नै कोरोनासँग लड्ने एकमात्र उपाए अपनाउदा अपनाउदै पनि आजका दिन सम्म २ करोड ६५ लाख ७ हजार २ जना संक्रमित र ९ लाख १९ हजार ७ सय १५ जनाको मृत्यु भएको छ । विश्वले भाइरस विरुद्धको खोपलाई आशाको किरणको रुपमा हेरिरहेका छन । विश्वका विकसित मुलुकका दर्जनौ कम्पनीहरुले खोप विकासमा काम गरिरहेका छन । विश्वमा नै सबैक्षेत्रलाई अकल्पनिय क्षती पुराएको कोरोना भाइरसले विश्वका धनि गरिव, शक्तिशाली कमजोर, विकासित अविकसित सबैदेशलाई प्रभाव पारेको छ । यसबाट शुरक्षित अवतरणको अझै कुनै सम्भावना क्षितिजमा देखिएको छैन ।

नेपालमा कोरोना र शिक्षा

नेपालमा कोरोना भाइरसको जोखिम देखिए पछि गत बर्ष चैत्र ११ देखी बन्दा बन्दी घोषणा भएदेखी अहिलेसम्म नेपालका शिक्षण संस्थाहरु औपचारिक रुपमा संचालन हुन सकेका छैनन् । सम्पुर्ण परिक्षाहरु स्थागित छन । विधार्थिहरु विधालय जान सकेका छैनन् । कोभिडका कारण अफ्ठेरोमा परेको शिक्षा क्षेत्र एक्लो भने होइन । बन्दा बन्दीको समयमा अतिआवश्यक सेवा बाहेकका सबै सरकारी कार्यालयहरु समेत बन्द प्राय रहन पुगे । सञ्चालनको अघिल्लो दिनमात्र स्थगित भएको एस.ई.ई का विद्यार्थीको विद्यालयले गरेको आन्तरिक मुल्याङकनको आधारमा नतिजा प्रकाशन परिक्षा बोर्डले गरेको छ । बैशाख जेष्ठमा सञ्चालन हुनु पर्ने कक्षा ११ र १२ का परिक्षाको कुनै निकास छैन । विश्वविद्यालय तहका परिक्षाहरु समेत स्थगित अवस्थामा छन । सरकारले विद्यालय तहको यो वर्षको शिक्षालाइ बैकल्पिक तवरबाटै पुरा गर्ने उद्धेश्यले हालै विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ जारि गरेर असोज १ देखि अनिवार्य कार्यान्वयन गर्न निर्देशन जारि गरेको छ । विगत आषाढ देखी सञ्चालनमा रहेका रेडियो, टेलिभिजन, अनलाइन तथा अन्य माध्यमबाट सञ्चालन भएका कक्षाहरुलाइ समेत मान्यता दिदै आगामी दिनमा कुनै पनि विद्यार्थी नछुट्ने गरि अनलाइन कक्षा, रेडियो, टेलिभिजन, टोल शिक्षा समेतको व्यवस्था निर्देशिकाले गरेको छ । पाठ्यक्रम बिकास केन्द्रले यो वर्षकोलागी पाठ्यबस्तुको संक्षेपिकरण गर्ने कार्य गरिरहेको छ । यसरी कोभिडको कारण थला परेको शिक्षालाइ शैक्षिक शत्र खेरजान नदिने गरि सरकार र सरोकार वालाहरु अगाडी बढेको अवस्था छ ।

शिक्षक प्रतिको सामाजिक मनोविज्ञान

अस्ती मात्र पोखराबाट एकजना भाइले मोबाइलमा फोन गरी भन्दै थीए, सरकारी शिक्षकलाई त आनन्द छ । महिना मर्यो तलब आइहाल्छ । त्यसै गरि बाटोमा हिड्दै गर्दा कार रोकेर एकजना मित्रले भन्दै थिए तपाइहरुलाइ त क्या मस्ती छ तलब आइहाल्छ विद्यालय जानुपरेन घर बसी बसी तलब आनन्द । चिया पसलमा जम्मा भएका धनाड्यहरु समेत मस्ती त सरकारी मास्टरलाई छ । काम नगरी बसी बसी तलब आउछ आनन्द । अहिले यत्रतत्र सर्वत्र यस प्रकारका अभिव्यक्तीले नेपाली शिक्षकहरु दोहोरो तनावमा परेको अवस्था छ । कोरोना भाइरसका कारण सबै क्षेत्र प्रभावित भएको समयमा शुरक्षाकर्मी र स्वास्थकर्मी बाहेक अन्यको काममा बाधा पुगेकै हो । आखीर शिक्षकको मात्र किन चोक चोकमा चर्चा भइरहेको छ ? नेपालमा तमाम यस्ता सरकारी अफीसहरु छन जहाँ कहिल्लै काम हुँदैन कर्मचारीले बसेरै तलब खाने गर्दछन तर कहिलै चर्चाको विषय बन्न सकेन । आज विश्व महामारीका कारण विधार्थीसंगको सामिप्यता टुट्दा आफै दु:खी भएका शिक्षकको मनोवल गिराउने गरि किन चर्चा भइरहेको छ ? चर्चा यसरी गरिदै छ कि शिक्षकले आफु घर बस्नलाइ नेपालमा कोरोना बोलाएर ल्याएको हो । नेपालमा शिक्षा र शिक्षकलाई हेर्ने दृष्टीकोण नै दोशी छ । नेपालका शिक्षाविद भनाउदाहरु कहिलै पनि शिक्षक प्रति सकारात्मक बन्न नसकेको प्रमाण यस कोरोना कहरमा समेत देखियो शिक्षकहरु निदाए, शिक्षकलाई बसेर तलब खान दिनु हुदैन जस्ता धारणा सहितका लेखहरु केही शिक्षा विदहरुले लेखे भने कहि कतै शिक्षकलाई बेतलबी विदा दिनु पर्ने जस्ता क्रन्तीकारी विचार सम्प्रेषण भए जसले समाजमा शिक्षकलाई बसेर तलब खाने व्यक्तिहरुका रुपमा चित्रण गर्नमा भुमिका खेल्यो । हो शिक्षकहरु नियमित विद्यालय जान नसकेको महिनौ भयो र तलब बुझेकै छन । तर यसो भन्दैमा शिक्षक निदाएरै बसेका छन त ? शिक्षकले केही पनि गरेनन् त ? शिक्षकहरु आफ्नो जिम्मेवारीबाट विमुख भएका हुन् ?

शिक्षकले के गरे

कोभिड-१९ को कहरका विच पनि शिक्षकहरु आफ्नो कार्यमा संयमतापुर्वक लागीरहेका छन । सायद शुरक्षा कर्मी र स्वास्थ कर्मी पछी यस अवधिमा सकृय रहेर काम गर्ने शिक्षक नै हुन । आखिर शिक्षक के गरिरहेका छन ।

– विद्यालयहरुका बार्षिक परिक्षाको नतीजा तयार गरि विभिन्न माध्यमबाट प्रकाशन ।

– एस.इ.इ. का विद्यार्थीको आन्तरिक मुल्याङकको आधारमा नतीजा तयारी ।

– सामाजिक दुरी कायम गरि शैक्षिक शत्र २०७७ को विद्यार्थी अभिलेखीकरण ।

– विद्यार्थीको घर घरमा लगेर नयाँ पाठ्यपुस्तक वितरण ।

– बन्दा बन्दीको समयमा पनि रेडीयो शिक्षा प्रसारण, टेलिभिजनबाट कक्षा प्रसारण, सम्भव भएका ठाउँहरुमा टोल शिक्षा सञ्चालन ।

– विभिन्न संस्थाहरुबाट प्रदान गरिने ICT तथा विषयगत तालिममा निरन्तर सहभागीता । शिक्षकका विभिन्न पेशागत संस्था तथा विषयगत संस्थाहरुले निरन्तर तालिम सञ्चालन गरिरहेका छन । यिनै तालिमका कारण पनि अव बैकल्पिक शिक्षा सञ्चालन सहज बन्ने अपेक्षा गर्न सकिन्छ । शिक्षक सुतेका छैनन् झन बढी व्यस्त समेत बनेका छन । प्राय सबै शिक्षकहरुले आफुलाई दक्ष बनाउन कुनैन कुनै तालिममा सहभागी गराएका छन । Micro Teaching Maraton 2020, ननिदाएका शिक्षकहरु र अन्य विषयगत समितीहरुले सञ्चालन गर्ने तालिम निरन्तर छन ।

– विद्यालयका बार्षिक तथा अन्य आवधिक योजना निर्माण ।

यसरी विद्यालय बन्द रहेता पनि शैक्षिक गतिविधी बन्द छैनन् । शिक्षकहरु विभिन्न माध्यमबाट आफुलाई सकृय बनाएका छन । समाजमा चर्चा भए जसरी बसी बसी सितैमा तलब खाएका छैनन् । शिक्षक मात्रै एउटा पेशा होला जो कोभिड पछीको आफ्नो कार्यको बारेमा चिन्तीत छन् । विद्यालय खुले पछीको पठन पाठनको बारेमा चिन्तीत रहेर नै अहिले विभिन्न माध्यम बाट तालीम लिइरहेका छन ।

शिक्षण पेशाको सम्बन्धमा समाजलाइ केही प्रश्नहरु

शिक्षक त्यसै कसैको माया दयामा बनेको होइन । एउटा शिक्षक बन्न कक्षा १० पास गरेपाछी ८ वर्षको आर्थीक लगानी तथा मानसिक मेहनत पछी विभिन्न प्रकारका परिक्षा उतिर्ण गरेर मात्र शिक्षक बन्ने व्यवस्था छ । कक्षा १० पछि व्यापारमा लागेर आनन्दले पैसा कमाएर घर गाडी चढ्ने मित्रहरुको प्रगतीमा कहिलै शिक्षकको गुनासो रहेन । आफुसंगैको साथीले विभिन्न व्यवसाय गरेर दिन दुइगुणा रात चौगुणा आर्थीक प्रगती गर्दा शिक्षकले महिना भरी बालबालीकाको शिक्षणगरी तीन तीन महिनामा पाउने तलवले साहु तीरेर पनि सन्तोष मान्ने पेशा हो शिक्षक । समाजमा गरेको योगदानकै तुलना गर्ने हो भने पनि विदेशी समान ल्याएर विक्रि गरी नाफा कमाउने व्यवसायी भन्दा सार्वजनिक विद्यालयमा शिक्षण गरेर आसल नागरिक उत्पादनमा योगदान गर्ने शिक्षकको कम हुँदैन ।

शिक्षकलाइ निदाए, बसी बसी तलब खाए भनेर आरोप लगाउने शिक्षाविद भनाउदाहरुलाई मेरो प्रश्न छ । यस कोभिड-१९ को महामारीमा शिक्षालाइ जिवन्त राख्न तपाइहरुको मुर्त योगदान के भयो ? कति जना शिक्षकलाई प्रविधि सम्बन्धि तालिम दिनुभयो ? कति दिन तपाइले योजना निर्माणमा विताउनु भयो ? केवल शिक्षकलाई गाली गर्ने र फोस्रा आदर्शका भाषण बाहेक केही देखीदैन तसर्थ शिक्षकलाई होच्याउने र मनोवल गीराउने गरि अभिव्यक्ती दिने अधिारकार छैन ।

शिक्षकलाई बेतलवी विदामा पठाउनेसम्मको समाधान सुझाउने शिक्षाका हाकीमहरुले के कती योगदान यस अवधिमा शिक्षालाई चलायमान गराउन गर्नुभयो एकपटक आत्म मुल्याङकन गर्ने की ? शिक्षकलाई बेतलवी विदा दिदै गर्दा तपाइहरुको भुमिका के हुने ? सोच्नुभएको छ ? सामान्य अवस्थामा नै पनि शिक्षा क्षेत्रलाई सवल बनाउन र गुणस्तर वृद्धि गर्नको लागी तपाइको भुमीकाको समेत मुल्याङन गर्ने बेला भएन र ? शिक्षा क्षेत्रको मैदानमा खट्ने सिपाही शिक्षकको मनोबल गीराउने कार्यले युद्ध जीतिदैन ।

देश विकासको सबैभन्दा महत्वपुर्ण क्षेत्र शिक्षा नेपाली राज्यको मात्र प्रथमिकतामा नपरेको होइन समाजको समेत सकारात्मक धारणा बन्न सकेको देखिदैन । पैसा नै सबै थोक हो भन्ने सामाजिक धारणाले गर्दा अन्य पेशामा हुने अवैध कमाइका कारण शिक्षण पेशालाई अवहेलना गरिन्छ । देशका कर्णधार उत्पादन गर्ने शिक्षक अझैपनी त्रैमासिक र चौमासिक तलब बुझेर घर व्यवहार चलाउन बाध्य छन । शिक्षकहरु यस कठिन अवस्थामा समेत आफ्नो पेशामा इमान्दारीताका साथ यथा सम्भव सकृय छन । शिक्षकलाई तलव दिने नदिने कुरा राज्यको नीती नियम अनुसार हुने हुँदा कृपया चोक चोकमा बसेस चर्चाको विषय बनाएर तपाइका बालबालिकाका गुरुहरुको मनोवल गराउने कार्यले कसैलाई फाइदा पुग्दैन । शिक्षक र शिक्षण पेशाको नाम लिदा नाक खुम्चाउने नेपाली समाजका ति पात्रहरु आज शिक्षण पेशापो मस्तीको पेशा भन्दा नकारात्मक रुपले नै सही पहिलो पटक शिक्षणलाई प्रशंसा गरेको सुनिन्छ । याद रहोस शिक्षकले व्यापार व्यावसाय गर्न नजानेर शिक्षक भएका होइनन् देशको जनशक्ति विकासमा योगदान गरिरहेका छन ।

नेकपाको उल्टो यात्रासंगै अस्थिरताको भुमरीमा देश

 

बाबुराम अधिकारी
प्रभात नमुना मा.वि. बैजनाथ ५ बाँके