स्वतन्त्र मिडियाको मृत्यु भएको भन्दै ‘समवेदना’ छापिएपछि…..

भारतीय मिडियाको भूमिकालाई लिएर प्रश्न उठिरहेका बेला स्वतन्त्र मिडियाको निधन भएको भन्दै समवेदना अर्थात् शोकसन्देश प्रकाशित भएको छ ।

भारतीय अंग्रेजी दैनिक द हिन्दुको आजको संस्करणमा भारतमा स्वतन्त्र मिडियाको अवसान भएको भन्दै शोक सन्देशको छापिएको हो । विगत केही वर्षयता भारतीय मिडियामाथि स्वतन्त्र पहिचान गुमाउँदै सत्तापक्षको पक्षपोषण गरेको आरोप लाग्दै आएको छ ।

आमनागरिकका मुद्दालाई भन्दा पनि कुनै निश्चित उद्देश्य र स्वार्थबाट प्रेरित भएर समाचारहरु संप्रेषण गरेको आरोप पनि स्वतन्त्र अलोचकहरुले लगाउने गरेका छन् । केहीले त अनौपचारिक संकटकाल समेत भन्ने गरेका छन् ।

विशेषगरी भारतीय टीभी च्यानलको भूमिकाप्रति प्रश्न उठ्ने गरेको छ । बलिउडका कलाकार सुशान्तसिंह राजपुतको ‘आत्महत्या’ प्रकरणपछि भारतीय टीभी च्यानलहरु थप आलोचित बनेका छन् ।

सुशान्तसिंह मृत्यु प्रकरणमा भारतका तीन प्रमुख जाँच एजेन्सीले अनुसन्धान गरिरहेको भए पनि केही सञ्‍चारमाध्यमले भने ‘मिडिया ट्रायल’ नै चलाइरहेका छन् ।

आज प्रकाशित विज्ञापनलाई हाल भारतीय मिडियामा देखिएको तिनै बेथिति र विसंगति विरुद्धको प्रहारका रुपमा हेरिएको छ ।

वर्गीकृत विज्ञापन अन्तर्गत छापिएको उक्त शोक सन्देशमा सांकेतिक रुपमा ‘स्वतन्त्रताकी छोरी एवं सत्यकी पत्नी मिडियाको निधन भएकोमा परिवार तथा मित्रको तर्फबाट समवेदना प्रकट’ गरिएको छ ।

उक्त विज्ञापन शिक्षा, अर्थतन्त्र, नीति र राजनीतिमा चासो राख्ने कार्तिक सहनीले छपाएकी हुन ।