आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडीहरु

सन् २००७ मा भएको पहिलो टी-२० विश्वकपछि घरेलु टी-२० फ्रेञ्चाइज लिग सुरु भयो । यस्ता लिगहरुमा सहभागी हुन विश्वका सर्वश्रेष्ठ खेलाडी समेत आउने गर्दछन् ।

जस्तै, सचिन तेन्दुल्कर, रिक्की पोन्टिङ, एडम गिलक्रिष्ट, सेन वार्न, ज्यक कालिस, मुथैया मुरलिधरन, कुमार संगाकारा, महेला जयवर्दने, सोएव अख्तर आदि जस्ता खेलाडीले समेत घरेलु टी-२० लिग खेलेका छन् ।

भारतमा सन् २००८ देखि सुरु भएको इन्डियन प्रिमियर लिग (आइपिएल) को १३औं संस्करणसम्म आइपुग्दा फ्रेञ्चाइज टोलीमा कति खेलाडीहरु परिवर्तन भएका छन् ।

क्रिकेटमा दुईवटा भाग रहेको हुन्छ । एक व्याटिङ हो भने अर्को बलिङ । एउटा व्याट्सम्यानले आफ्नो टोलीकालागि कसरी धेरैभन्दा धेरै रन बनाएर जित्नका लागि प्रयास गर्दछ भने बलरले कसरी विपक्षी टोलीलाई कम स्कोरमा समेट्दै जित दिलाउन सकिन्छ भनी प्रयास गरिरहेको हुन्छ ।

सन् २००८ यता अहिलेसम्म १२औं संस्करणको आइपिएल समाप्त भइसकेको छ । यहाँ आइपिएलमा सहभागी भएर सर्वाधिक विकेट लिने पाँच खेलाडीको बारेमा चर्चा गर्नेछौं ।

१) लासिथ मालिंगा

श्रीलंकन टोलीका अनुभवी बलर लासिथ मालिंगाको बलिङ प्रदर्शन आइपिएलमा पनि देख्न सकिन्छ । जसको कारण आइपिएल सिजनको सुरुदेखि अहिलेसम्म मुम्बइ इन्डियन्स टोलीको सदस्यको रुपमा रहिरहेका छन् ।

मलिंगाले आइपिएलमा १२औं सिजनसम्म मुम्बइमा रहेपनि पहिलो सिजन चोटका कारण खेल्न पाएनन् भने २०१६ र २०१८ मा उनले बलिङ मेन्टरको रुपमा टोलीमा रहेर काम गरेका छन् ।

यसबीचमा उनले १ सय २२ पारीमा १ सय ७० विकेट लिएका छन् । मालिंगाले शानदार प्रदर्शन २०११ मा गरेका थिए । जहाँ उनले एक सिजनमा १६ खेलबाट २८ विकेट लिएका थिए भने उनको इकोनोमी रेट ५.९५ रहेको थियो ।

आइपिएलमा मालिंगाको सर्वश्रेष्ठ बलिङमा १३ रन दिएर ५ विकेट हासिल गर्नु रहेको छ । सथै मालिंगा सबैभन्दा बढी डट बल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका छन् । उनले १ सय २२ खेलमा १ हजार एक सय ५५ डट बल गरेका छन् । यस्तै उनले आइपिएलमा ८ मेडन ओभरसमेत गरेका छन् ।

२) अमित मिश्रा

आइपिएलमा सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा अमित मिश्रा दोस्रो स्थानमा रहेका छन् । भारतीय क्रिकेट टोलीका पूर्व खेलाडी तथा लेग स्पिनर अमित मिश्राले १ सय ५७ विकेट लिएका छन् । दिल्ली क्यापिटल्सका ३७ वर्षीय मिश्राले २००८ यता आइपिएलमा खेल्दै आएका छन् । उनले १ सय ४७ खेलबाट १ सय ५७ विकेट लिएका हुन् ।

मिश्रले २०१३ मा भएको आइपिएलमा सर्वाधिक विकेट लिएका थिए । उनले १७ खेलबाट २१ विकेट लिएका थिए । यस्तै, मिश्राले २००८ मा डेकन चर्जर्स, २०११ म पञ्जाव र २०१३ मा पुने वारियर्स इन्डियाविरुद्ध गरी तीन पटक आइपिएलमा ह्याट्रिकसमेत गरेका छन् । आइपिएलमा मिश्राको सर्वश्रेष्ट प्रर्दशन १७ रन दिएर ५ विकेट लिनु रहेको छ ।

३) हरभजन सिंह

वर्तमान चेन्नइ सुपर किङ्सका खेलाडी तथा पूर्व मुम्बइ इन्डियन्सबाट लामो समय आइपिएल खेलेका हरभजन सिंह आइपिएलमा सबैभन्दा बढी विकेट लिने खेलाडीको तेस्रो स्थानमा रहेका छन् । हरभजन सिंहको कप्तानीमा २०११ मा मुम्बइले आइपिएल तथा च्याम्पियन लिग टी-२० को उपाधिसमेत जितेको थियो ।

हरभजनले १ सय ६० खेलबाट १ सय ५० विकेट लिँदै आफूलाई आइपिएलमा सबैभन्दा बढी विकेट लिने खेलाडीको तेस्रो स्थानमा उभ्याएका छन् । यो वर्ष भने उनी आइपिएल खेल्ने छैनन् ।

भारतका ४० वर्षीय अफ स्पिनर हरभजन आइपिएलमा सर्वाधिक डट बल गर्ने खेलाडीको शीर्ष स्थानमा रहेका छन् । उनले १ सय ६० खेलमा १ हजार २ सय ४९ डट बल गरेका छन् । आइपिएलमा हरभजनको उच्च प्रर्दशनमा १८ रन खर्चेर ५ विकेट लिनु रहेको छ ।

४) पियुष चावला

वर्तमान चेन्नइ सुपर किङ्सका खेलाडी तथा भारतीय क्रिकेट टोलीका खेलाडी पियुस चावला आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चौथो स्थानमा रहेका छन् । कोलकाता नाइट राइडर्सलाई दुई पटक जित दिलाउँन महत्वपूर्ण भूमिका निर्वाह गरेका चावलाले १ सय ५७ खेलबाट १ सय ५० विकेट लिएका छन् ।

१३औं संस्करणको आइपिएलमा चावला चैन्नइको लागि मुख्य स्पिनरको भूमिकामा रहनेछन् । टिममा आवद्ध भएका हरभजन सिंह तथा सुरेश रैना टोलीमा नहुँदा उनीमाथि जिम्मेवारी आएको हो । यस्तै चावलाले १ सय ५७ खेलमा एक हजार एक सय नौ डट बल गर्दै तालिकाको पाँचौं स्थानमा रहेका छन् । १७ रन खर्चेर ४ विकेट लिएका चावलाको सर्वश्रेष्ठ प्रर्दशन हो ।

५) ड्वेन ब्राबो

त्रिनिडाड तथा वेष्ट इन्डिजका अलराउण्डर ब्राबोले आइपिएलमा सबैभन्दा बढी विकेट लिने खेलाडीहरुमा आफूलाई उभ्याएका छन् । ब्राबोले सुरुवाती तीन वर्ष मुम्बइमा रहेर खेले भने अहिले चेन्नइमा रहेका छन् । उनले प्रत्येक सिजनमा रन बनाउनुका साथै बलिङद्वारा पनि टोलीलाई जित दिलाउँदै आएको छन् ।

२००८ मा आइपिएलमा डेव्यु गरेका ब्राबोले १ सय ३४ खेलबाट १ सय ४७ विकेट लिएका छन् । यस्तै, ब्राबोलै २०१३ मा सर्वाधिक ३२ तथा २०१५ मा २६ विकेट लिएका थिए । यस्तै, फिल्डरको रुपमा उनले ७४ क्याचसमेत गरेका छन् ।