कबिता : ‘थाङ्ने’ !

म थाङ्ने हुँ ।
हो, म थाङ्ने हुँ ।
चुपचाप ! चुपचाप !!
अह्राए लह्राएको काम गर्नु
मेरो कर्त्तव्य हो
किनकी म थाङ्ने हुँ ।

नव राम-लक्ष्मणले कोरेका
नयाँ लक्ष्मण रेखाभित्रै बस्नु
उनकै इशारामा चल्नु
अन्धभक्त सारथि बन्नु
मेरो दायित्व हो
किनकी म थाङ्ने हुँ ।

थाङ्नेका पनि इच्छा आकांक्षा हुन्छन् र ?
मैले त आफ्ना इच्छा आकांक्षा बन्धक राखेको थिएँ
मैले त आफ्ना अधिकार धरौटी राखेको थिएँ
मौलिक हकमा तालाबन्दी गरी
साँचो हजुरलाई बुझाएको थिएँ
अनि फेरि किन बर्बराउँछु म थाङ्ने ?
सीमा नाघेर उफ्रदै छु, म थाङ्ने !

चुपचाप चुपचाप बस्नु
भक्तिभावपूर्ण पूजाआजा गर्नु
अनन्त अनन्त स्तुतिगान गाउनु
मेरो कर्म हो
किनकी म थाङ्ने हुँ ।

मुखमा माड लाउन महिनाभरि कुर्नु
नयाँ वस्त्र फेर्न नयाँ चैत्र कुर्नु
मेरो नियति हो
किनकी म थाङ्ने हुँ ।

मैले बुझाएको बन्धकी कागजका शर्त
मैले धरेका धरौटीका पूर्वशर्त
मैले बुझाएको ताला-साँचो
मालिकका इच्छा अनुसार फेर्न
पर्रररर….. ताली पिटेर खारेज गर्दा नि
प्रतिवाद नगरी बस्नु
मेरो अनुशासन हो
किनकी म थाङ्ने हुँ ।

कर्मचारीतन्त्र नामक मेरो वंश परम्परा
संकटापन्न अवस्थामा छ
चौतर्फी प्रहार भैरहेछ
नामो निशान मेट्न
जन्मेदेखिको बल प्रयोग हुदैछ
र पनि
आफ्नो वंश परम्पराको रक्षार्थ
चुँइया पनि नबोल्नु
मेरो धर्म हो
किनकी म थाङ्ने हुँ ।


छबिलाल खड्का

कोहलपुर