पत्रकार बलराम बानियाँ मृत अवस्थामा भेटिए

कान्तिपुर दैनिकमा कार्यरत पत्रकार बलराम बानियाँको निधन भएको छ । सोमबार दिउँसोदेखि वेपत्ता भएका पत्रकार बानियाँको शव मकवानपुर सिस्नेरीस्थित माण्डो जलविद्युत परियोजना नजिक फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।

सोमबार दिउँसो एक बजेदेखि परिवार र कान्तिपुर दैनिकको सम्पर्कमा नरहेका पत्रकार बानियाँको शव अहिले हेटौंडा अस्पतालमा राखिएको छ । काठमाडौंको बल्खुमा मोबाइलको अन्तिम लोकेसन देखिएकाले सोधखोज गर्दा उनी घर जाने भन्दै पुल मुनि गएका थिए ।

जुत्ता हिलोमा अड्किएर खोलाको पानीमा लडेका उनको स्थानीयले उद्दारको प्रयास गरेका प्रहरीले जनाएको छ । पानीको अत्यधिक बहावले गर्दा उद्दार गर्न नसकिएको स्थानीयले बताएका छन् । त्यो समयमा उनको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

तनहुँ स्थायी घर भएका बानियाँ झण्डै दुई दशकदेखि कान्तिपुर दैनिकमा कार्यरत थिए । उनी केही समय नागरिक दैनिकमा पनि आवद्ध थिए । बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।