यसरी सिल गरियो नेपालगन्ज (तस्बिरमा हेर्नुहोस)

नोवेल कोरोना भाईरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि नेपालगन्ज सिल गरीएको छ । शनिबार राती १२ बजेदेखी मंगलबार राती १२ बजेसम्मकालागि नेपालगन्ज उपमहानगरपालिकाका चारै किल्ला सिल गरिएको हो ।

नेपाली सेनाको अगुवाईमा सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरी नगर क्षेत्र सिल गरीएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । बाँकेमा निषेधाज्ञा जारी गरीएपनि त्यसको पूर्ण रुपमा पालना नभएको देखिएपछि कोरोना संक्रमणको उच्च जोखिममा रहेको नेपालगन्ज क्षेत्रलाई सिल गरीएको प्रजिअ कुरुम्वाङले प्रष्ट पारेका छन ।

शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले श्राउन २४ गते राती १२ बजेदेखी श्रावण २७ गते राती १२ बजेसम्मकालागि नेपालगन्जका उपमहानगरका चारै किल्ला शिल गर्ने निर्णय गरेको थियो ।

नेपालगन्ज उपमहानगरको चार किल्ला सिल

यस अवधिमा नेपालगन्ज नगरभित्र स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, शवबहान र दमकल बाहेकका सम्पूर्ण सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाईएको छ । साथै हिडडुल तथा ब्यवसाय संचालनमा समेत पूर्णतया निषेध गरीएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

प्रशासन कार्यालयका अनुसार नेपालगन्जको सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखी गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाँउ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखी बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्रको क्षेत्र पूर्ण रुपमा सिल गरिएको हो । अहिले त्यस क्षेत्रमा ब्यापाक मात्रामा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरीएको छ ।