राती ९ बजेदेखि बिहान ५ बजेसम्म हिंडडुलमा रोक

गृह मन्त्रालयले भोलिदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । मन्त्रालयले कोरोना भाइरसको बढ्दो संक्रमणलाई नियन्त्रण गर्न भन्दै भोलिदेखि लागू हुने गरी यो निर्णय लागू गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले उपत्यकासहित २ सयभन्दा धेरै सक्रिय संक्रमित भएका जिल्लामा सरकारको निर्णय लागू हुने जानकारी दिएका छन् । अत्यावश्यक सेवामा भने यो निर्णय लागू नहुने उनले बताएका छन् ।

कोरोना संक्रमण बढेसँगै सरकारले भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली पनि लागू गरेको छ । त्यसैगरी, काठमाडौ बाहिरबाट भित्रीने सवारी साधनहरुलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्मका लागि काठमाडौ प्रवेशमा रोक लगाइएको छ ।