महानगरीय ट्राफिक कार्यालय सिल, एसएसपी सहित ३७५ ट्राफिक क्वारेन्टाइनमा

सधै सडकमा खटिने ३७५ ट्राफिक प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुईजनामा कोरोना संक्रमण पुष्टि भएसँगै एसएसपी भीमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

संक्रमितहरुलाई भने अस्पताल पठाइसकिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले भने, ‘मसमेत ३७५ जना ब्यारेक–ब्यारेकमै छौं । महाशाखा पूर्ण सिल छ ।’

कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई आउ–जाउ गर्न बन्द गरिएको उनले बनाए । आफूले पनि अरुसँग भेटघाट बन्द गरेको एसएसपी ढकालले बताए ।

क्वारेन्टाइनमै बसेपनि ट्राफिक व्यवस्थापनमा भने कुनै कमी नभएको उनले बताए । महाशाखाको मातहतमा १५ सय ४५ जना कार्यरत छन् । ३७५ जना क्वारेन्टाइनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको उनले बताए ।