सिमा नाका बन्द हुँदा समेत रोकिएन तस्करी

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को सन्त्रासका कारण विगत ४ महिनादेखी नेपाल भारत सिमा नाका बन्द छन । दुबै देशले अनिश्चित समयकालागि आ-आफ्ना सिमा नाका शिल गरेका छन । यद्यपी संक्रमणको यस अवधिमा समेत सिमानाकाबाट हुने अबैध तस्करी भने रोकीएको छैन ।

पश्चिम नेपालकै सबैभन्दा ठुलो भन्सार नाका जमुनाह पूर्ण रुपमा बन्द भएपनि अन्य नाकाबाट दिनहुँ अबैध रुपमा सामान भित्रने क्रम जारी छ । बाँके प्रहरीले हरेक दिन अबैध रुपमा ल्याउदै गरेका सामान बरामद गर्नुले पनि यो पुष्टि गरेको छ ।

सिमा नाकाबाट अबैध लागुपदार्थका अलावा, कपडा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य सामग्रीहरुको अबैध तस्करी हुँदै आएको बाँके प्रहरीको तथ्याङ्कले देखाउँछ । शनिबार मात्र बाँके प्रहरीले अबैध रुपमा भित्रदैं गरेको ५०० पिस कुर्ता, १०० पिस टिसर्ट र २०० पिस सुरुवाल अबैध नियन्त्रणमा लिएको जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर १५ जमुनाबाट अवैध रुपमा ल्याउदै गरेको कपडा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।

त्यसैगरी शनिबार नै ३६ सिसी कोरेक्स सहित ३ जनालाई सिमानाकाबाट पक्राउ गरीएको खड्काले जानकारी दिए । खड्काका अनुसार डुडुवा गाँउपालिका ५ चौधरीपुरुवाबाट अबैध लागुऔषध सहित सोही ठाँउका अर्जुन चौहान, कल्लु चौहान र भारतको बहराईच बर्गदाहका अजय बर्मालाई नियनत्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरीएको छ ।