बागलुङ र पर्वत जोड्ने विश्वकै लामो झोलुङ्गे पुल

बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्मित विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला गरिएको छ । कोरोना संक्रमणको त्रासका कारण चैत्र ११ गते देखि भएको लकडाउन भएपनि लकडाउनकै बीचमा झोलुङ्गे पुलको निर्माण कार्य बैशाखमा सम्पन्न भएको थियो ।

कोरोना जोखिमलाई ध्यानमा राखेर पुल सर्वसाधारणका लागि खुला गरिएको थिएन । निर्माण सम्पन्न भएको चार महिनासम्म पनि पुल सञ्चालनमा नल्याएको गुनासो हुन थालेपछि शुक्रबारदेखि पुल सञ्चालनमा ल्याइएको हो । खुल्ला गरिएको पहिलो दिनमै झोलुंगे पुल अवलोकन गर्न आउनेको भीड लाग्यो ।

दिनभर सयौँको संख्यामा सर्वसाधारणहरु पुुलमा आवतजावत गर्ने, फोटो खिच्ने गर्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै केही स्थानीयले चिन्ता व्यक्त गरे । कुनै सुरक्षा सचेतता नअपनाई पुल सञ्चालनमा ल्याउँदा कोरोना संक्रमणको जोखिम बढेकाले तत्काल स्वास्थ्य सुरक्षा सचेतता र समन्वय आवश्यक रहेको सामाजिक अगुवा खिमानन्द कँडेलले बताए ।

बागलुङ नगरपालिकाका वरिष्ठ योजना अधिकृत तथा सूचना अधिकारी युक्तप्रसाद नागरिकको चाहना र दबाब बढी भएकाले पुल तत्काल सञ्चालनमा ल्याइएको बताए । ‘हामी सुरक्षा पोस्ट व्यवस्थापन गरेर मात्रै चलाउनु पर्छ भन्नेमा थियौँ यसका लागि केही समय लाग्थ्यो’ उनले भने‘ नागरिकको चाहनाले खोलियो तर पहिलो दिनमै अत्यधिक भीड बढ्यो ।’ व्यवस्थापन गर्नु पर्ने र थप सतर्कता अपनाउनु पर्ने देखिएको उनले बताए ।

पुल सञ्चालनमा आएपछि बागलुङ र पर्वत हुँदै म्याग्दी, मुस्ताङ जाने पर्यटकलाई समेत पुलले आकर्षित गर्नेछ । यो पुल विश्वकै लामो भएको बागलुङ नगरपालिकाले दाबी गरेको छ । यस पुलको लम्बाई ५७६ मिटर छ ।

नगरपालिकाले यसको विश्व रेकर्ड कायम गर्नका लागि समेत सम्बन्धित निकायमार्फत पहल थालेको छ । सुरुमा एशियाकै लामो रहेको भने पनि सस्पेन्सन बृज डिभिजन कार्यालयको रेकर्डमा खुल्ला प्रकृतिको झोलुङ्गे पुल विश्वभर हालसम्म ४९८ मिटर भन्दा बढीको नभएको इञ्जिनियर हुमाकान्त मिश्रले जानकारी दिए ।

२०७६ फागुनमै सक्ने भनिएको पुल दुई वटा राजमार्ग माथिबाट लठ्ठा तान्दा समय लागेको थियो । निर्माण कम्पनीले पर्वत र बागलुङतर्फका दुवै राजमार्गमा रोकावट नहुने गरी चिनियाँ प्रविधिको औजारले लठ्ठा तानेको थियो ।

२०७५ चैतदेखि शुरु भएको पुल निर्माण कार्य २०७७ साल असार मसान्तमा सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि तीन महिना अगावै पुल निर्माण सम्पन्न भएको थियो । पहिलो पटक निर्माण थालिएको लामो पुल निर्माणमा ठूलो चूनौती भए पनि सबैको सहकार्यमा निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

पुलको एक साथ ८५ मेट्रिक टन क्षमता रहेको छ । ६१२ जनासम्म यसले थेग्न सक्ने बतायएको छ । पुल निर्माण पछि एक घण्टा बढी पैदल यात्राबाट मात्रै पुग्न सकिने पाङमा १० मिनेटमै पुग्न सकिने भएको छ । वि.स. २०५९ सालदेखि पुल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको भए पनि लठ्ठा तान्न नसक्ने भन्दै काम शुरु हुन सकेको थिएन ।

बराष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलको विशेष पहलमा रु. ४० लाखमा लठ्ठा तान्ने औजार चीनबाट खरिद गर्न अर्थमन्त्रालयले स्वीकृति दिएपछि पुल निर्माण थालिएको थियो । अत्याधुनिक उपकरणबाट पुलका लठ्ठा तानेको नेपालमा पहिलो पटक हो ।

सस्पेन्सन वृज डिभिजन कार्यालयले ४ सय मिटर भन्दा लामो पुल निर्माण गर्दा अबदेखि यही औजारको सहायता लिनेछ । अहिलेसम्म नेपालमा ७ हजार ५ सयभन्दा बढी झोलुङ्गे पुल छन् । शुरुमा रु. १२ करोड २२ लाख लागत अनुमान गरिए पनि लठ्ठा र लठ्ठा तान्ने मेसिन मन्त्रालयले उपलब्ध गराउने भएपछि रु. ६ करोड ९१ लाखमा सम्झौता भएको थियो । अन्नपूर्णपोष्टबाट