आत्महत्या…… (कबिता)

घरको सिलिङ्गमा तुर्लुङ्ग झुन्डिएको त्यो
निर्जिव बस्तु,
अनि त्यही निर्जिव बस्तुलाई एकटकले हेरिरहेका
जिवित बुबा-आमा ।
हेर ! कसरी हेर्दैछन्, आँखाभरि आँसु अनि
मनभिर अनेकौं प्रश्न सहितको पीडा लिएर,
कराइरहेछन् !
बौलाइरहेछन् !
जिवनसङ्ग हार खाएर हो या,
प्रेमिकाले धोका दिएर रोजेको त्यो डोरीमा झुन्डिएको,
हेर ऊ त्यो माथि छोराको लाससँगै,
बुबाले देखेका सपनाहरू झुन्डिरहेछन्,
आमाले दिएका मायाहरु झुन्डिरहेछन्,
साथीभाइ अनि आफन्तको यादहरु झुन्डिरहेछन् ।

दिदीबहिनीको तिहार,
आमाको माया अनि
बुबाका सपनाहरू जीवनभरका लागि रित्याएर
हेर त, एक्लो छोरो
ऊमाथि सिलिङ्गमा सपनाहरुको पासो लगाई
तुर्लुङ्ग झुन्डिरहेछ ।
आमा छोरो-छोरो भनी चिच्याई रहेछिन्
तर उनको छोरो,
कसैलाई नसोचेर त्यो सिलिङ्गमा तुर्लुङ्ग भै झुन्डिरहेछ
बुबा बार-बार घच्घच्याइरहेछन्, उठाइरहेछन्
तर
ऊ आफु आफ्नो एकल निणर्यको जितको पिङ्गमा
नबोली, नहासी हुई-हुई मच्चिरहेछ ।
हेर त ऊ त्यो माथि सिलिङ्गमा तुर्लुङ्ग झुन्डिरहेछ ।

बुबाका सपनाहरू,
आमाको मायाहरु र
दिदिबहिनीको आशा भरोसालाई,
केहि झै नमानि भुँइमा लत्याएर
आफु त्यो माथि सिलिङ्गमा झुन्डिरहेछ।
किन ? किन ?
आखिर किन ?
बुबाआमा एउटै प्रश्न गरिरहेछन्
त्यो मृत छोराको जिउमा लुटपुटिरहेछन् ।
न बुबाले बोलाएको सुन्दछ,
न त रुदा रुदै ढलेकी आमाको आँशु पुछ्दछ ।
न अब छोरो ल्याउन सक्दछन,
न त किनको जवाफ पाउन नैं सक्दछन् ।
किनकी !
हेर न,
उ त्यो सिलिङ्गमा
त्यो छोरो तुर्लुङ्ग झुन्डिरहेछ ।

 

सुजाता नेपाल
बारबर्दिया ६, बाँके