भारतलाई काउन्टर जवाफ, ‘त्यो भूमि हाम्रो हो’

जिल्ला प्रशासन कार्यालय, दार्चुलाले भारतको धार्चुला जिल्ला मजिस्ट्रिटलाई जवाफ पठाएको छ । लिम्पियाधुरा नेपालकै भूभाग भएकाले त्यसक्षेत्रमा नेपालीको आवतजावत स्वाभाविक रहेको व्यवहोरा सहितको पत्र मंगलबार पठाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शरदकुमार पोखरेलले जानकारी दिए । पत्रमा सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले हस्ताक्षर गरेका छन् ।

दुई हप्ता पहिले धार्चुलाका उप-जिल्लाधिकारी अनिलकुमार शुक्लाले कालापानी, गुन्जी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीको प्रवेश रोक्न आग्रह गरेर दार्चुलाका प्रजिअलाई पत्र लेखेका थिए ।

पत्रमा भनिएको छ, ‘सन् १८१६ को सुगौली सन्धिको धारा ५, त्यससँग सम्बन्धित नक्सा र ऐतिहासिक प्रमाण अनुसार महाकाली ९काली० नदी पुर्वका लिम्पियाधुरा कुती, कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्र नेपालकै भूभाग रहेको र सो भूभागमा नेपालीको आवतजावत स्वाभाविक रहेको र नेपालीको आवागमनमा कहिँ कतैबाट बाधा अड्चन हुनुहुँदैन भन्ने नेपालको धारणा रहेको जानकारी गराउँदछु ।’

भारतले १९६२ पछिदेखि नै कालापानी, लिपुलेक, लिम्पियाधुरा अतिक्रमण गर्दै आएको छ । नेपालले उक्त भूमि समेटेर नयाँ प्रशासनिक नक्सा सार्वजनिक गर्दै निशान छाप परिवर्तनका लागि संविधान संशोधन गरेपछि नेपाल र भारतबीच सीमा विवाद चर्किएको छ । नेपालले वार्ताका लागि पटकपटक पत्र लेख्दासमेत भारतले भने जवाफ दिन चाहेको छैन । भारतले सीमा विवाद जस्तो संवेदनशील विषयलाई कोरोना संकटपछि छलफल गर्ने भनेर टार्दै आएको छ ।