चार्ली च्याप्लिन र आइन्स्टाइनबीचको त्यो भेट

सन् १९३१ मा अमेरिकाको लस एन्जल्समा वैज्ञानिक अल्बर्ट आइन्स्टाइन र अभिनेता/निर्देशक चार्ली च्याप्लिन ।

अल्बर्ट आइन्स्टाइन र चार्ली च्याप्लिनले सँगै खिचाएको एउटा तस्वीर सामाजिक सञ्जालमा वेलावेला छाउँछ । हालै २१ जुलाई (६ साउन) मा नोबेल पुरस्कार कमिटीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा उक्त तस्वीर पोस्ट गरेको छ ।

भौतिक शास्त्रमा सन् १९२१ मा नोबेल पुरस्कार पाएका महान् वैज्ञानिक आइन्स्टाइनले विख्यात अभिनेता च्याप्लिनसँग भेट गरेको सन्दर्भ जोड्दै नोबेल पुरस्कार कमिटीले तस्वीर शेयर गरेको हो ।

जिनियस आइन्स्टाइनको बारेमा के बताइन्छ भने, उनलाई भेट गर्न मन लागेका हलिउडका एक मात्र कलाकार चार्ली च्याप्लिन थिए । उनको त्यो उत्कट चाहना अन्तत: पूरा भयो ।

सन् १९३१ मा अमेरिकाको लस एन्जल्समा फिल्म ‘सिटी लाइट्स’ को प्रिमियर शो कार्यक्रममा दुवैबीच पहिलो पटक भेट भएको थियो । उक्त फिल्म च्याप्लिनले नै निर्माण, निर्देशनसँगै अभिनय पनि गरेका थिए । भेटमा उनीहरुबीच खास कुराकानी भएको थियो ।

आइन्स्टाइनले च्याप्लिनको कलाकारिताको तारिफ गरेपछि च्याप्लिनले पनि रमाइलो पारामा झनै प्रशंसा गरेका थिए ।

कुराकानीका क्रममा आइन्स्टाइनले च्याप्लिनलाई भने, ‘म तपाईंको कलाको प्रशंसा किन गर्छु भने, यसमा सार्वभौमिकता छ । तपाईं (फिल्ममा) एक शब्द पनि बोल्नु हुन्न, तैपनि संसारले तपाईंलाई बुझ्छ ।’

च्याप्लिनका अधिकांश फिल्महरुमा संवाद छैन । कथाको भावलाई संगीतका धुनले खुलाइएको हुन्छ ।

आइन्स्टाइनबाट तारिफका शब्द सुनेपछि च्याप्लिनले पनि भने, ‘तपाईंले भनेको ठीक हो, तर तपाईंको महानता त योभन्दा पनि धेरै छ । तपाईंले बोलेको एक शब्द पनि शायदै कसैले बुझ्न सक्लान्, र पनि पूरै विश्व तपाईंको प्रशंसा गर्छ ।’

यो तस्वीर त्यही वेलाको हो । एजेन्सीबाट