वैदेशिक रोजगारीका १२ वर्ष : ८ हजार १२९ ले गुमाए ज्यान

वैदेशिक रोजगारीमा गएका कामदारका शव दैनिक ३ वटासम्म आउने गरेको सरकारी तथ्याङ्कमा उल्लेख छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत विदेशमा मृत्यु भएका कामदारको तथ्याङ्क वैदेशिक रोजगार बोर्डको सचिवालय राख्दै आएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको संख्या वार्षिक रूपमा बढ्दो छ । विदेश जानेको संख्या बढेसँगै विदेशमा मृत्यु हुने कामदारको संख्या पनि बढिरहेको बोर्डको तथ्याङ्कमा ।

आर्थिक वर्ष २०६५/०६६ देखि २०७६/०७७ सम्ममा ४२ देश वैदेशिक रोजगारीमा गएका ८ हजार १ सय २९ जनाले ज्यान गुमाएको बोर्डको तथ्याङ्कमा छ । १२ वर्षयता वैदेशिक रोजगारीका क्रममा अनुपातमा वार्षिक ८ सय जनाले विदेशमा ज्यान गु्माएर शव नेपाल आउने गरेको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।

बोर्डका अनुसार आर्थिक वर्ष २०६५/०६६ मा ७७ जना, आव २०६६/०६७ मा ४ सय १९ जना, आव २०६७/०६८ मा ५ सय जना ६५, आव २०६८/०६९ मा ६ सया ४६ जना र आव २०६९/०७० मा ७ सय २३ जनाले वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणबाट ज्यान गुमाएका छन् ।

त्यसैगरी आव २०७०/०७१ मा ८ सय ७६ जना, आव २०७१/०७२ मा १ हजार ७ जना, आव २०७२/०७३ मा ८ सय १३ जना, आव २०७३/०७४ मा ७ सय ५५ जना, आव २०७४/०७५ मा ८ सय २२ जना, २०७५/०७६ मा ७ सय ५३ जना र २०७६/०७७ मा ५ सय ५६ जनाले वैदेशिक रोजगारीमा ज्यान गुमाएको बोर्डको तथ्याङ्कमा छ ।

खाडीका देश र मलेसिया रोजगारीमा धेरैको मृत्यु 

रोजगारीका लागि मलेसिया, साउदी, कतार र कुवेत गएका धेरै कामदारको मृत्यु हुने गरेको बोर्डको तथ्याङ्कमा छ । वैदेशिक रोजगारीका लागि कोरिया गएका धेरै कामदारले आत्महत्या गर्ने गरेको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीको पछिल्लो आँकडा समग्रमा अध्ययन गर्दा मलेसिया र खाडी मुलुकहरूले ८६.४२ प्रतिशत हिस्सा ओगटेका देखिन्छ । नेपाली कामदारका मुख्य गन्तव्यका रूपमा मलेसिया, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । यिनै देशमा रोजगारीका लागि गएका धेरै नेपालीले ज्यान गुमाउने गरेको बोर्डको तथ्याङ्कमा छ ।

पछिल्लो समय सरकारले द्वन्द्वग्रस्त मुलुक लिबिया, आफगानिस्तान र इराकमा सुरक्षाको कारण देखाउँदै रोजगारीमा जान प्रतिबन्ध लगाएको छ । यी देश रोजगारीका लागि पुगेका केही कामदारले आतङ्ककारी हमलामा समेत ज्यान गुमाउने गरेका छन् । युरोपका देश र अन्य देशमा गएका कमको मृत्यु भइरहेको बोर्डको तथ्याङ्कमा छ ।

वैदेशिक रोजगारीमा खाडीका देश र मलेसिया गएका धेरै कामदारको मृत्यु भइरहेको वैदेशिक रोजगार बोर्ड सचिवालयका सूचना अधिकारी दीनबन्धु सुवेदीले बताएका छन् । युरोपका देश र विकसित देशमा गएका भन्दा खाडी देश र मलेसिया रोजगारीमा गएका धेरै कामदारको मृत्यु भएको उनको भनाइ छ । शिलापत्रबाट