एनटिभी कोहलपुर प्रादेशिक च्यानलमा रुपान्तरण

नेपाल टेलिभिजनको कोहलपुर प्रसारण केन्द्रलाई प्रादेशिक च्यानलका रुपमा रुपान्तरण गरीएको छ । नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोकाले साउन १ गतेदेखी नेपाल टेलिभिजनको कोहलपुर प्रसारण केन्द्रलाई प्रादेशिक च्यानलका रुपमा रुपान्तरण गरीएको बताएका हुन ।

बुधबार कोहलपुर प्रसारण केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महाप्रबन्धक रोकाले नेपाल टेलिभिजन व्यवस्थापनले एनटिभि कोहलपुर च्यानललाई पुर्ण क्षमतामा सन्चालन गर्ने तयारी अनुरुप काम थालेको बताए ।

उनले भने ‘यस क्षेत्रको ठुलो सम्भावना बोकेको यस प्रसारण केन्द्रलाई सार्वजनिक सन्चार माध्यमका रुपमा लैजाने तयारी भईरहेको छ ।’ भू- उपग्रहको माध्यमबाट प्रसारित एनटिभी कोहलपुरको पहुँच देशभित्र मात्र नभैइ बिश्वका १४६ वटा मुलुकमा समेत विस्तार भएको बताउँदै रोकाले बिश्वब्यापी महामारीको रूपमा रहेको (कोभिड-१९) को असर नेपाल टेलिभिजनमा पनि परेको र यसको सामना गर्दै नेपाल टेलिभिजनका सबै च्यानलहरुको प्रशारणलाई गुणस्तरीय बनाउन संस्थागत सुशासन कायम राख्नको लागि आन्तरिक नियन्त्रण कार्यविधि जारी गरि कार्यान्वयनमा ल्याइने बताए ।

नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रका प्रमुख निराजन खनालले साउन १ गते बिहीबारबाट कोहलपुरबाट समेत समाचार प्रसारण सुरु गर्ने तयारी गरीएको बताए । साउन १ गतेदेखि नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रबाट दिउँसो ३ र ५ तथा साँझ ७ बजे गरि दिनमा ३ पटक समाचार बुलेटिन सुरु गरिने केन्द्र प्रमुख खनालले बताएका हुन् ।

यसैगरि यहाँका विभिन्न भाषाभाषिका कार्यक्रमदेखि स्वास्थ, शिक्षा, कृषि, उद्दम, बाल कार्यक्रम र मनोरन्जनात्मक कार्यक्रमहरु क्रमश सुरु गरिने प्रमुख खनालले उल्लेख गरे । नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रबाट उत्पादित सबै समाचार तथा सुचनामुलक कार्यक्रमहरु डिजिटल प्लेटर्फमबाट हेर्न सकिने बताउँदै खनालले एनटिभी कोहलपुरले ३ वटै प्रदेशका गतिविधिलाई उच्च प्राथमिकता दिदै मौलिक हकका रुपमा रहेको सूचनाको हकलाई स्थापित गर्न प्रदेशमा ठूलो भुमिका खेल्ने जिकिर समेत गरे ।