राप्ती नदीमा बाढीको कृतिम घटना अभ्यास (तस्बिरसहित)

बाँके खण्ड अन्तरगतको राप्ती नदीमा शुक्रवार बाढी बिपद कृतिम अभ्यास गरीएको छ । जिल्ला बिपद व्यवस्थापन समितिको आयोजनामा बाँके खण्ड भएर बग्ने राप्ती नदीमा उक्त अभ्यास गरिएको हो ।

अभ्यासका क्रममा नदीमा कृतिम शव बनाई फालिएको थियो । सुरक्षा फौजको गोताखोर टोलीले डुङ्गा मार्फत उक्त शवलाई झण्डै आधा घण्टासम्मको खोजी पछि बाहिर निकालेका थिए ।

शव वा घाइतेहरुलाई नदीबाट उद्दार गरि बाहिर निकालीसकेपछी के कसरी व्यवस्थापन गरिन्छ भनेर देखाइएको थियो । गोताखोरको टोलीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरु सम्मिलित थिए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले यदी कुनै दुर्घटना भईहाल्यो भने सुरक्षा फौजको टोलीले सजिलै उद्दार गर्न सक्ने बताए । विपद कुनै पनि समयमा आउन सक्ने भएकाले सुरक्षाकर्मी तथा उद्धारमा संलग्न सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न पूर्व अभ्यास गरार्ईएको कुरुम्बाङले बताए ।

बाढीको कृतिम घटना अभ्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, ४ नम्बर बाहिनी अड्डाका प्रमुख जर्नेल सुरेश कुमार बानिया, भैरव प्रसाद गणका प्रमुख कर्नेल नकुल थापा, सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपक भण्डारी, राष्ट्रिय अनुसन्धानका निर्देशक कमल भट्टराई, नेपाल रेडक्रस सोसाइटीका सभापति गोवर्द्दन सिंह सम्झना, जनप्रतिनिधि लगायतको उपस्थिति थियो ।