म्याच फिक्सिङको आरोप लागेका नेपाली फुटबलरले पाए सफाई

म्याच फिक्सिङको अभियोगमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा सहित सबै खेलाडीले अन्तिम सफाइ पाएका छन् ।

सर्वोच्च अदालतले मंगलबार विशेष अदालतकै फैसला सदर गर्दै तत्कालिन फुटबल टोलीका सबै खेलाडीलाई सफाइ दिएको हो ।

नेपाली फुटबल इतिहासमै पहिलो पटक म्याच फिक्सिङ गरेको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका एक फिजियोथेरापिस्ट, एक प्रशिक्षक तथा पूर्व खेलाडी र ४ खेलाडीले सर्वोच्चबाट सफाइ पाएका हुन । न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई सफाइ दिएको हो ।

२ वर्षअघि विशेष अदातलबाट सफाई पाएका थापासहित ५ जनाको मुद्दा सरकारी वकिलले सर्वोच्चमा लगेका थिए ।

राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाविरुद्ध म्याच फिक्सिङको आरोप लागेको थियो ।

नेपालले २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर जानीजानी हारेको भेटिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुले प्रहरीसामू फिक्सिङ स्वीकार गरे पनि अदालतमा इन्कारी बयान दिएका थिए । उनीहरुले खेल मिलेमतो गर्दा प्रति खेल ५ हजार डलरदेखि लिने गरको प्रहरीको दावी थियो ।

सर्वोच्चबाट सफाई पाएपछि सागर थापाले सत्यको जीत भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । उनले अदालतबाट न्याए पाएको भन्दै अब मिहिनेतको मूल्यांकन सरकार वा एन्फा कसले गर्ने भनेर प्रश्न गरेका छन् ।