शनिबार बिहानै थपिए ३२ जना संक्रमित, नेपालभर ५४८ संक्रमित

शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।

योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तु नगरपालिकाका ७ जना पुरुष र एक महिला छन् ।

त्यस्तै, सर्लाहीका गोडैता र कविलासी नगरपालिकाका १३ जनामा संक्रमण पुष्टि भएको छ । बाराको करैयामाई नगरपालिकाका एक महिलामा पनि पुष्टि भएको छ । त्यस्तै काठमाडौंका ३५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा गैडहवा र रोहिणी गाउँपालिकाका आठ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी, भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरापालिकाका एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।