प्रेस संगठन बाँकेकोे ‘भर्चुअल मिट दि प्रेस’

प्रेस संगठन बाँकेले हरेक दिन ‘भर्चुअल मिट दि प्रेस’ को आयोजना गर्ने भएको छ । कोरोना प्रभावका कारण लागु गरिएको लकडाउनमा जिल्लाभरी भईरहेका गतिविधिका बारेमा बाँकेका संचारकर्मीहरुलाई जानकार बनाउने उद्धेश्यले भर्चुअल प्रेस मिट कार्यक्रम सुरु गरिएको प्रेस संगठन बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालले जानकारी दिए । लकडाउनका कारण समाचार संकलनकालागि बाहिर जाने अवस्था नरहेकाले मोबाईल जुम एप्स मार्फत भर्चुअल कुराकानी गर्ने ब्यवस्था मिलाईएको धितालले बताए ।

‘भर्चुअल मिट दि प्रेस’ को पहिलो दिन बाँकेमा रहेका क्वारेन्टाइन र आइसोलेशनमा देखिएका समस्या समाधान गर्दै लैजान तर्फ सरोकारावाल निकायले प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा सहभागी जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले यस्तो बताएका हुन ।

भर्चुअल मिट द् प्रेस कार्यक्रममा सहभागी पत्रकारहरुसँग बोल्दै उपाध्याय र शाहले आइसोलेशन र क्वारेन्टाइनमा कुनै समस्या भए सुधार गरिने स्पष्ट पारेका छन् । उनले जिल्लामा कोरोना बिरुद्ध काममा कुनै प्रकारका समस्या मिलेर समाधान गर्ने समेत बताएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले कोरोना नियन्त्रणका विषयमा सूचना सम्प्रेशनलाई सहजतापूर्वक लैजाने बताउँदै कोरोना नियन्त्रणका लागि जिल्लामा सजग र सचेत भएर लागिरहेको बताए । शाहले जिल्लाको आइसोलेशनमा रहेका संक्रमितको स्वास्थ्यको अवस्था सामान्य रहेको बताएका छन् ।

पत्रकारहरुले सरोकारावाला निकायलाई बाँकेमा जोखिम बढ्दै गएकाले पूर्वतयारी प्रभावकारीरुपमा गर्नका लागि अनुरोध गरेका छन् ।