कथा : ‘छोरो फर्कियो’ !

‘ए दिपुकी आमा ! एता आइज न एउटा सल्लाह गरुम् ।’

‘कस्तो सल्लाह ?’

‘हेर बिउ छर्ने बेला भयो । माटो बनाएकै छैन । खै अब त बुढो भइएछ सम्झिँदा पनि पहिले नै हात खुट्टा फत्रक्क गलेर आउँछ कसो पो गरुम् सल्लाह दे न ।’

‘खै म के भनुम् र ? भाको एउटा छोरो पनि कमाउँछु भनेर गुको बिदेशाँ छ । अब अरूलाई नै अँध्या कमाउ भनेर दिनुपर्ला नाईँ ।’

‘गाउँमा को छ र कमाउने भन्न ? सबैको उही हालत छैन र ? तन्नेरीहरु सबै बिदेश अनि गाउँ रुङ्ने त उही बुडाखाडा त हुन् नि ।’

‘अब सकिएन भने बाँझै छाड्नुपर्ला नि । बिहान बेलुका एसो हातमुख जोर्नलाई छोराले अलेली पठाउँदैछ क्या रे ।’

‘खै नसके पछि अब त्यसै त होला नि ? तर फेरि दिपुकी आमा कता-कता हल्ला पो सुनिंदैछ जग्गा बाँझो राख्नेलाई त सर्खारले कार्वाही पो गर्छु भन्या छ अरेन्त ?’

‘गर्छ कार्वाही ? त्यस्का बाजे आओस् न कार्वाही गर्न । खनजोत् गरेर ठिक्क पार्दियोस् त लू अनि छर्न र गोडमेल गर्न हाम्ले पनि जानेकै छुम् क्यारे ।’

‘नाप्यो गर्दिन्छ खन्जोत् त । कतिको गर्देर सक्छ र ? सबैको हालत उस्तै त छ ।’

‘अनि के त ? बिहे गरेपछि सन्तान नजन्मियोस् बाँझै बसुम् भनेर कसैले चाहन्छ र ? अब भाग्यमा त्यस्तै लेख्या छ भने के गरुन् त विचरा । कि त हुने उपायहरु उसैले गर्दिनु पर्यो क्यारे !’

‘लौ होस् त होस् अब छाडिदिउंँ खेती लाउन अब जग्गा बाँझै रहोस् । पछि छोरा फर्किए पछि जे गर्छ गरोस् उसैको सम्पत्ति हो क्यारे ।’

 

५ बर्ष पछि……….

 

‘ए दिपु यता आइज त आमालाई पनि बोला ।’

‘किन बुवा ?’

‘अब कोरोनाले गर्दा बिदेशमा बस्न डरमर्दो भैगो । तँ फर्केर आइहालिस् एक किसिमले राम्रै भयो । अब आफ्नै खेतबारीमा कमाई गरेर गुजारा चलाउनु पर्छ भनेर सल्लाह गर्नलाई नि । हैन त दिपुकी आमा ?’

‘हो नी ! आफ्नो जग्गा बाँझो राखेर किनेका सामल खाँदा-खाँदा वाक्कै भइसक्यो । गाँसै पिच्छे पानीले निल्नुपर्छ । हेर त ! आमा-बाबु दुब्लाएर के गति भएको छ । झन् बैनीलाई पनि बिहे गरेर पठाएपछि त के हाल भयो भयो नि बाबु ।’

‘मेरो सोच पनि त्यही हो बुवा । गर्दा हुनेरै’छ भनेर बिदेशले धेरै कुरा सिकायो मलाई ।’

‘लौ तैंले बिदेशाँ सिक्या कुरा हामीलाई पनि सिकाउलास् त !’

‘गर्नलाई हाम्रा पाखुरा दर्हा छन् गरौंला । हामीले उब्जाएको अन्नपातले हामी मात्र होइनौ देश पनि आत्मनिर्भर हुन्छ । तर केही कुरामा देशले प्राथमिकता दिएर कार्यक्रम ल्याएन भने फेरि पनि पहिलेको अवस्था दोहोरीन सक्छ ।’

‘कस्तो अवस्था बाबु ?’

‘सिँचाई ब्यवस्था नहुँदा कहिले बिउ राख्न नपाउने कहिले राखेको बिउ डढेर रोप्न नपाउने कहिले रोपो डढेर सुप्लो नलाग्ने । त्यति मात्रै हो र ? कहिले समयमा बिउ र मल समेत नपाउने पनि हुन्छ । अनि उब्जा बाली नभएर ब्याँकको ऋण समेत तिर्न नसके पछि त्यै जग्गा पनि हाल्दिन्छ लिलाममा । पहिले पनि त्यस्तै भएर बिदेश गएपछि अलेली जोगाऊँदै बल्ल-बल्ल यो जग्गा निखनेको होइन त ।’

‘हो त्यो त सास्ती भोग्नसम्म भोगिएको छ नै ।’

‘त्यसैले सर्खारले पनि कार्यक्रम बनाएर यी समस्या नआउने अवस्थाको सुनिश्चितता गर्नैपर्छ । साथै बिदेशको जस्तो बाली बीमा, पशु बीमा र कर्जाको समेत बीमा गरिदिएर उत्पादित बस्तुको उचित मूल्य र बजारको ब्यवस्था गरिदिनै पर्छ । त्यति गर्नसक्यो भने देश विकासको लागि कुनै बिदेशी सरकारको अगाडि निरीह भएर सहयोग गुहार्नु पनि पर्दैन । आफ्नै देशको उर्वरा माटो र पौरखी हातहरुले बनाउन सक्तछन् सुन्दर नेपाल र नयाँ नेपाल ।’

बाबु-आमा दुवैको मुखबाट एकैचोटी गौरव पूर्ण वाक्य निक्लियो,

‘लौ बिदेश बसेर त हाम्रो छोरा धेरै जान्ने भएर आएछ ।’

 

प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर